समाचार

भारतद्वारा निर्मित क्याम्पसको उद्घाटन

भारतद्वारा निर्मित क्याम्पसको उद्घाटन

काठमाडौं – भारत सरकारले निर्माण गरेको गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निर्मित चन्द्रकोट क्याम्पस भवनको आज उद्घाटन गरिएको छ ।

चार करोड भन्दा बढी लागतमा निर्मित सो क्याम्पसमा तीनतल्ले नयाँ संरचना रहेको छ । त्यसमा १२ वटा कक्षाकोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन समारोहमा नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माको उपस्थिति थियो । सो समारोहमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी लगायतको पनि उपस्थिति थियो ।

निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौं आदि शहरहरुमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले स्नातकतह मा मानविकी, व्यवस्थापनतथा सामाजिक विज्ञान विषयको अध्यापन भइरहेको छ । क्याम्पसमा ९० प्रतिशतभन्दा बढी छात्राहरु अध्ययनरत छन् ।