खेल

विश्वकप जिताएका वाटमोर सिंगापुर क्रिकेट टिमको नयाँ प्रशिक्षक

विश्वकप जिताएका वाटमोर सिंगापुर क्रिकेट टिमको नयाँ प्रशिक्षक

काठमाडौंः अनुभवी क्रिकेट प्रशिक्षक डेभ वाटमोर सिंगापुर टीमको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । सिंगापुर क्रिकेट एसोसिएसनले वाटमोरलाई यही फेब्रुअरी अन्तिमबाट थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटका लागि प्रशिक्षक नियुक्त गरेको हो ।

वाटमोरले यसअघि नेपाल आएर पनि प्रशिक्षण दिइसकेका छन् । सन् २०१७ मा नेपालले घरेलु मैदानमा केन्यासँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नुअघि वाटमोर नेपाल आएका थिए । ब्याट एण्ड बल फाउण्डेसनको निमन्त्रणामा नेपाल आएका उनले एक साता नेपाली खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

सन् १९९६ मा उनकै प्रशिक्षणमा श्रीलंकाले एकदिवसीय विश्वकप जितेको थियो । यस्तै नेपालको फिटनेस ट्रेनर रहिसकेका राजेश चौहान सिगापुर टिमको स्ट्रेन्थ एण्ड कन्डिसन कोचका रुपमा काम गरिरहेका छन् ।

सिंगापुरले फास्ट बलर अमजाद महबुबको कप्तानीमा इस्टर्न रिजनका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

डेभ वाटमोर सिंगापुर क्रिकेट टिम