कला साहित्य

यसकारण लेख्दैछु, तिमीलाई यो प्रेमपत्र

यसकारण लेख्दैछु, तिमीलाई यो प्रेमपत्र

नारायण पौडेल

यो पत्र लेख्दै गर्दा रोला बार्थलाई सम्झिरहेको छु । उनी भन्छन्ः लेखन सकिएपछि पाठकको जन्म हुन्छ, पाठकको जन्मसँगै लेखकको मृत्यु हुन्छ । यो पत्र तिम्रो हात पर्दा रोला बार्थ रोइलो गर्न सक्नेछन् । तिम्रो उपस्थितिमा बार्थले मेरो मृत्यु देखाइहाले पनि म जोन डोनसँग सहयोगको याचना गर्ने छु । मृत्यु भइसकेको फिनिक्स चरीलाई ब्युँताएर गज्जबको समायोजन गराउने क्षमता उनीसँग छ । उनकै सहयोगमा फिनिक्स चरी झैं हामी दुईको समायोजन गराउने छु ।

बार्थ पुनः दरार बनेर आउन सक्नेछन् र भन्नेछन् ‘ जे लेखिएको छ त्यो केबल लेखन कलामा नै सीमित हुनुपर्दछ । लेख बाहिरका सन्र्दभसँग यसको कुनै सम्बन्ध छैन ।’ मलाई निरुत्तर पार्ने उनको योजनालाई प्रतिकार गर्न फ्रायड र फुकोको जत्था मसँग तम्तयार भएर बसिसकेको हुनेछ । फ्रायडले मेरो अभिव्यक्तिलाई दमित चाहानाको प्रस्फुटन मान्नेछन् । फुको नचाँहदा नचाँहदै पनि लेखकको बिचार लेखनमा देखिने बताउनेछन् । तिम्रो सामिप्य प्रतिको मेरो ब्यग्रतालाई बैधानिकता प्रदान गर्नेछन् ।  
 
‘नाममा के छ ?’ सेक्स्पियरले सताब्दीँऔँैं अघि गरेको प्रश्नले मलाई चिमोटी रहन्छ । किताब भनेर हातमा लियो, तिम्रो तस्बिर देख्दछु । पत्रिका, समाचार होसकी विचार जहाँपनि तिम्रो उपस्थिति, के सेक्सपियरको कहावतसँग ठ्याक्कै मेल खादैन र ? ससुर अघि शब्दलाई नामकरण गर्ने साधनको रुपमा लिइन्थ्यो । उनिपछि शब्दसगैं अर्थलाई स्थान दिइएछ । यदि मलाई अनुमति हँुदो हो त भन्दो हुँ शब्द सांसारिक सारथि हुन् , मनलाई अभिव्यक्त गर्ने माध्यम हुन् । 

दुई मन र मानिस बिचका समायोजक हुन् । भरोसा  छ शब्दहरु दाहिने हुनेछन् र हाम्रो भलो गर्नेछन् । डेरिडासँग मलाई डर लाग्छ, कारण उनि शब्दमा सत्यता होइन भ्रम जेलिएको देख्दछन् । एक कदम रोकिएर उनि निरीहता प्रर्दशन गर्दै भन्दछन्– जे भनिए पनि सत्यको सम्भाबना शब्दबाट मात्र सम्भब छ । मेरो यो सत्यसंगी खोज्ने  प्रयास डेरिडाका डेडा आँखाबाट पार पाउन् र भ्रममा परिणत नहुन्, प्रभुसँग मेरो प्रार्थना छ । बरु प्रभुको मृत्युको घोषणा फिर्ता लिन निच्स्सेलाई  निसन्देह अपिल गर्ने छुृ । 

कहिले काहीं सिद्वान्त मेरै लागि लेखिएका हुन् झैं लाग्छ । रेने डिकाटिजले ‘कोगिटो इर्गो सम अर्थात म सोच्दछु त्यसैले म छु ’ भन्दछन् । सोच्नु भनेको मानसिक चाल हो । मलाई शंका लाग्दछ, म छु वा छैन । म तिमीबारे मात्र सोच्दछु । मेरो मुटुवरीपरि कर्फ्यु लगाउने मेरो प्रयासलाई अबज्ञा गर्दै तिमीले परेड खेलेको पत्तै पाएनछु । म तिम्रो परेडमा इमानुयल कान्टले भने झैं  ‘सबलाइम’ पाउँदछु, र त निषेधित क्षेत्रभित्रको तिम्रो अर्कमण्यतालाई आत्मसाथ गर्दछु । आफ्नो यात्रालाई उद्देश्यविहिन उद्देश्य अर्थात ‘पर्पोसिपनेस विदआउट पर्पोस’ भएको मान्दछु । यद्यपी म कठ्याग्रिंन्छु जब लन्जाइनस ‘फल्ससवलाइम’को वकालत गर्दछन् । अँह मेरो महानन्द झूठानन्द हुन सक्दैन ।  
 
होरेसका कुराले हरेस नखान प्रेरित गर्दछ । तिमी आफैंमा ‘डेकोरम’को नमुना बनेकी छौ, सबै कुरामा संगति र सामञ्जस्यता । सिड्नीले कविता वा कलाको वकालत गर्दाको शैली मैले सापट लिएको होइन । तिमी प्लेटोको दार्शनिक संसारजस्तै (आइडल वल्र्ड) स्वंयसिद्व छौ । म अरिष्टोटलले परिभाषित गरेको कलाकार होइन जसले प्रकृतिलाई पूर्णता दिनसकोेस । म त आफैंमा अपूर्ण छु र तिम्रो साथमा पूर्ण हुन खोज्दैछु ।

अरिष्टोटल दुखान्त अर्थात ट्राजेडीलाई बास्तबिक कला मान्दछन् । हाम्रो सम्बन्धको दुखान्त भएमा एरिस्टोटलबादीहरु रमाउनेछन् । एरिस्टोटलले सिमान्तकृत बनाएको सुखान्तलाई हामीले हरहालतमा साथ दिनुछ । र, पुष्टि गर्नुछः सीमान्तकृत सुखान्तको स्वाद । स्टेफन ग्रीनब्लाटले भित्राएको ‘न्यूहिस्टोरिसिजम’को मर्मपनि त्यही नै हो जस्तो लाग्दछ । उता लेभि–स्ट्रसको संरचनावादका लागि विविध संस्कृति र मिथ को आन्तरिक संरचना एउटै हुन्छ, केबल पात्र र परिवेश फरक हुन्छन् । मेरा शब्द अनेक हुन सक्छन् तर सार एउटै हो–प्रेम । त्यस्तो प्रेम जुन सिड्नीले कहेझैं कविताको फूल जस्तै सदैव फुलीरहनेछ ।  
 
मेरो यो प्रस्तावलाई ‘न्यू क्रिटिसिजम’को आँखाले नहेरी देऊ, निरश हुनेछ । यसलाई शब्दखेल भन्दा बाहिरै राखिदिनु । नारीवादका तीखा तीरले मेरो हृदयलाई तारो नबनाऊ । उत्तरआधुनिकवादको कडीमा मलाई नतौलिनु । म बिछोड र वितृष्णालाई स्विकार्न सक्ने छैन । बरु म संरचनावाद र विनिर्माणवादमा मिसिन चाहन्छु, संरचनावादले हाम्रो मिलन गराउने छ साथै विनिर्माणवादले हामीलाई समान अस्तित्व दिलाउने छ ।   
 
जोन लक इन्द्रियहरुलाई ज्ञानको स्रोत मान्दछन् । तर ज्ञानग्रहण प्रक्रियामा एउटामात्र इन्द्रियले गडबडी गरेमा पुरा ज्ञानलाई धुमिलाउन सक्छ । मेरा इन्द्रियहरुको संयुक्त निष्कर्षमा तिम्रो छबि अब्बल छ, विश्वस्त छु कुनैपनि  इन्द्रियले मलाई धोका दिएका छैनन् । वर्डस्वर्थ कल्पनामा रमाऊछन्, इन्द्रेणीले उनको मुटुलाई ढक्क फुलाउँदछ । म तिमीमा इन्द्रेणीको आभास पाउँदछु ।  
 
तिमी इन्द्रेणीजस्ती सबभन्दा सुन्दर सृष्टिजस्ती देखिरहँदा म भने आफूलाई टी एस एलीएटले ब्याख्या गरेकोे ह्यामलेट जस्तो पाउँछु । तिमीलाई थाहै छ सेक्सपियरको महान कृति ह्याम्लेटको मुख्य पात्रको कन्तबिजोग । एलिएट ह्याम्लेटमा ‘अब्जेक्टिभ कोरिलेटिभ’ अर्थात वस्तुगत संगतीको अभाव देख्दछन् । एलिएटका लागि ह्यामलेटको कमजोरी भनेको उसको योजना र कार्यान्वयनमा देखिने पृथकता हो ।

आफ्नै देवरसँग पोइल जाने आमालाई ह्याम्लेट घृणा गर्छ तर व्यक्त गर्न सक्दैन । उता बाबुको हत्याको बदला हत्यारा काकाको हत्या गरेर लिने उसको भित्री ताकेता रहन्छ । तर कैयौं अवसरहरुलाई सारहीन बनाउदछ । ऊ जे सोच्दछ त्यो गर्न सक्दैन तरपनि सोच्न छाड्दैन । यता म तिम्रो प्रेम–संसारको कल्पनामा रमाइरहें । मनमनै तिमीसँग कति दुखसुख साटीरहें । तथापी भेटमा औेपचारिक हाइहेलो भन्दा बढी गर्ने साहस जुटाउन सकिनँ । म जे छु त्यो देखिन सकेको छैन जसरी ह्यामलेट देखिएको थिएन । आज भने आँट गरेको छु । ह्याम्लेटजस्तो योजना अन्तिममा टुक्राउने नियती यो आँटले ब्योहोर्न नपरोस् ।  
 
टामस कारलाईलको मौनता नै सृजना र शक्तिको स्रोत हो भन्ने मन्त्रलाई शिरोपर गरी बसीरहें । तर माक्र्सले मलाई घच्घचाउन छाडेनन् । ‘प्राप्तिका लागि बोल, बोलाईमा बल हुन्छ, जे छ त्यही बोल’ भनिरहे । माक्र्स भोकाका अन्नदाता , प्रेमभोकको निराकरण उनैबाट सम्भब छ भन्ने ठानेर यो पत्र लेख्दै छु । 

उत्तरआधुनिककालमा पनि प्रत्यक्ष संवादलाई पन्छाउँदैे पत्र मार्फत प्रस्ताव राख्दा म खिल्लीको पात्र बन्न सक्छु । भाइबर, म्यासेन्जर, फोन, मोबाइल जे डायल गरेको भएपनि हुन्थ्यो वा भेटेरै भनेको भए पनि हुन्थ्यो । डेरिडाका कैयौँ कुरा हाम्रा लागि अनुकुल नहोलान् । तर, उनको यो कुरा चाहीँ गज्जब लाग्छ– बोलाइ बहुअर्थी हुनसक्छ, लेखनमा त्यसको डर हुदैन । मेरा शब्दहरु दुबिधाग्रस्त नहुन, र अन्यथा नबनुन् ।

म प्रेममा पबित्रता पाउँदछु तर दुबिधाग्रस्त प्रेमनाटकलाई दुर गर्न चाहन्छु । त्यसैले यो पत्र लेखेको हुँ । सम्बोधनमा कुनै शब्द परेका छैनन् ।  ससुर तर्क गर्दछन् खाली ठाऊँमा अर्थ लुकेको हुन्छ । हेगेल विपरितहरुको सम्झौंतामा जोड दिन्छन् । सम्झौंता पछि शब्दको समागमन हुन नै  छ । अस्तु ! 
                    

#प्रेमपत्र