विचार

कालापानीले उद्धार हुने मिति कुरी बस्यौ, तर हाम्रा नेताले झनझन बेवास्ता गर्दै गए..

कालापानीले उद्धार हुने मिति कुरी बस्यौ, तर हाम्रा नेताले झनझन बेवास्ता गर्दै गए..

बिजयराज गिरिः कालापानी, लिपुलेख, लिम्पियाधुरा लगायत नेपालका थुप्रै भूमिहरु अहिले पनि भारतको कब्जामा छन् । नेपाली जनता ति भूमिहरु एकदिन मुक्ति पाउने आसमा छन । तर, हाम्रा नेताहरुको लाचारीपनले गर्दा हाम्रा गुमेका भूमिहरु भारतको कब्जामै कायमै छन् । नेपालमा परिवर्तनको नाममा थुप्रै आन्दोलन भए । फलस्वरूप धेरैले सब थोक गुमाए र थोरैले सब थोक पाए । जसले सब थोक पाए तिनिहरुनै अहिलेका बाइसे–चौबिसे राजाहरु जस्तै भए । जसले सब थोक गुमाए तिनिहरु अहिले बिगतका आन्दोलन हरुलाई सम्झिदै विरत्तिएर अहिलेका बाइसे–चौबिसे राजा हरुलाई सराप्दै बसिरहेका छन् ।  

नेपालको दार्चुला र भारतको धार्चुलामा अवस्थित कालापानी लिपुलेख र लिम्पियाधुरा निकै नै महत्वपूर्ण क्षेत्रहरू हुन् । जसलाई भारतले कुनै पनि हालतमा छोड्न मानिरहेको छैन । त्यो क्षेत्रमा नेपाल र भारतको भौगोलिक अबस्था उस्तैउस्तै भए पनि तर भारतले भने आफ्नो तिरको भू–भागमा चिल्ला–चिल्ला सडक बनाएर जनतालाई सहज हुने हरेक किसिमका विकासका पूर्वाधार निर्माण गरिसकेको छ । जनतालाई असुरक्षित महसुस नहोस् भनेर प्रशस्त मात्रामा सैनिकहरु नि तैनाथ गरिरहेको छ । तर हाम्रो नेपाल तिर भने नत विकासका कुनै गतिला पूर्वाधार नै बनेका छन् नत सडक नै बनेका छन् नत जनतालाई सुरक्षित महसुस हुने गरी आर्मी क्याम्प नै । छन् त केबल गोरेटो बाटा, अग्ला–अग्ला पहाड र हरियाली जङ्गल । हुनत भारत विश्वका शक्तिसाली मुलुकहरूमध्यको एक हो । उसँग थुप्रै साधन–स्रोत छन् ।

आर्थिक हिसाबले पनि ऊ हामी भन्दा निकै अगाडि छ । हामी उसको बराबर प्रतिस्पर्धा गर्न नसकौला । तर, हाम्रो देश भित्रका बाटो, खानेपानी, अस्पताल, विद्यालय आदि बनाउन त हामी पनि सक्षम छौं नि । मात्र हामीमा इच्छाशक्तिको कमि भइरहेको छ । भारतले आफ्नो देशको नयाँ नक्सा सार्वर्बजनिक गर्दा नेपालका थुप्रै भूमिहरु समेतेर सार्वजनिक गर्‍यो । त्योबेला नेपाली माहोल तात्न पनि निकै तात्यो, जनतालाई पनि अब त केही होला जस्तो भयो । प्रधानमन्त्रीदेखि नेपालका अन्य थुप्रै मन्त्री तथा नेताहरुले बाध्य भयर भारतको त्यो कदमको विरुद्धमा बोले । र, पहिला हामीले नेपालको मिचिएको कुनै भूमि नक्सामा समेटेको छैन भन्ने भारत केही दिन पछि गल्ती भएको छ भने सच्याउँछु भन्न सम्म पुग्यो । तर, बिडम्बना त्यो बेलासम्म नेपालको माहोल पूर्ण रुपमा सेलाइसकेको थियो ।

हुन त मिचिएको भूमी समेटेर नक्सा प्रकाशित गर्न पनि हम्मेहम्मे परेको हाम्रो सरकारबाट मिचिएको भूमी फिर्ता ल्याउँछ भन्ने के आश गर्नु? केही महिनापछि हाम्रो सरकारले पनि नक्सा त प्रकाशित गर्‍यो । तर, त्यो केबल पर्खालमा सजाउनलाई मात्र भयो । यो सबै भएर पनि त्यो मुद्दा जस्ताको त्यस्तै छ । र, भारत आफूले जितेको महसुस गर्दैछ । भूमि आफ्नै हुन्छ बोली पनि आफ्नै हुन्छ तर यातना र ज्याजति भने भारतिय सैनिकको सहनुपर्छ । कस्तो बिडम्बना सरकार? बोर्डर नजिक कस्तो हेपाई र चेपाई हुन्छ भन्ने कुरा त त्यहाँ आसपास बस्ने मानिसलाई मात्र थाहा छ ।                                    

यदि देशको भूमिको माया छ भने सिमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुनुपर्छ । हाम्रा देशमा थुप्रै यस्ता सीमाहरु पनि छन् जहाँ महिनौसम्म हाम्रा सुरक्षाकर्मी दाजुभाइको उपस्थिति नै रहँदैन । र, त्यहाँ सजिलै भारतले सीमा मिचिदिन्छ । हाम्रो देशको कर्मचारीतन्त्र पनि त्यति गतिलो देखिँदैन । किन भने नेपालमा थुप्रै यस्ता कर्मचारी छन् जसले पार्टीको आडमा बीस–तीस हजारको लागि देशलाई घाटा हुने काम गरिदिछन् । 

मैले सबै कर्मचारीलाई पक्कै भनेको होइन । कोही–कोही कर्मचारी त यस्ता देशभक्त छन् कि जसले गर्दा मुलुकमा अझै आशा जाग्ने थुप्रै ठाँउ छन् । उनीहरुले देशप्रति कहिलै गद्दार गर्नुभएन । सानो देश भएर हेपिन्छ भन्ने हाम्रो मानसिकतालाई उत्तर कोरियादेखि अरु विश्वका थुप्रै मुलुकहरुले गतिलो उदाहरण दिइरहेका छन् । देश सानो भएर हेपिने रहेनछ । देश हेपिने त अशिक्षित नेता, लाचारिपन, गैरजिम्मेवार कर्मचारी र भद्रगोल देशको सिस्टमले रहेछ । हामी सबैको जय होस्! लेखक गिरी हाल रोजगारीको शिलशिलामा यूएई (दुबई) मा छन् । 

कालापानी बिजयराज गिरि