समाचार राजनीति

नुवाकोटका स्थानीय जनप्रतिनिधिहरु भारत भ्रमणमा

नुवाकोटका स्थानीय जनप्रतिनिधिहरु भारत भ्रमणमा

नुवाकोटका २१ जना स्थानीय जनप्रतिनिधि भारत भ्रमणमा गएका छन् । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा सघाइरहेको भारतले निर्वाचित प्रतिनिधिहरुका लागि भूकम्प पुर्निर्माणमा सामाजिक र प्राविधिक परामर्शदाताको भूमिका निर्वाह गरिरहेको युनोप्स, नेपाल मार्फत माघ २७ देखि फागुन २ गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको हो । भ्रमणमा दुई नगरपालिकाका मेयर, उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक प्रतिनिधि सहभागी  छन् । 

यसक्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानमा रहेका प्राविधिक पुनर्निर्माणका विविध पक्षको  अवलोकन गर्नेछन् । साथै दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्योर नामक संस्थाको भ्रमण गर्ने कार्यक्रम छ । भारतीय दूतावासकाअनुसार उनीहरुले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज पुगेर भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनेछन् ।  

नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन युनोप्सले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।
विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्ने विश्वास भारत सरकारले लिएको छ । 

भारत नुवाकोट