अन्तरवार्ता भिडियो कभर स्टोरी

‘होक्से’ले सिकाएको पाठ

‘होक्से’ले सिकाएको पाठ

एउटा समय काभ्रेको होक्से किड्नी बेच्ने गाउँले बद्नाम थियो । घर कहाँ ? होक्से भन्ने वित्तिक्कै त्यहाँका स्थानीयको शिर निहुरिन्थ्यो । होक्सेबासीले धेरै समय अपमान व्यहोरे । एकाध व्यक्तिले गरेको गल्तीको पीडा सम्पूर्ण गाउँले भोग्न बाध्य भए । भर्भराउँदो उमेरका तीन युवाले भारतको मद्रास पुगेर किड्नी बेचेर आएपछि एउटाले जग्गा जोड्यो । अर्कोले घरायसी सामान किन्यो । तेस्रोले खाजापानीमा सम्पूर्ण कमाई रित्यायोे । अझ उनीहरुले एउटा किड्नीको भरमा पनि आफूहरु ‘स्वस्थ’ रहेको प्रमाणित गर्न कठिन काम गरेर देखाउन थाले । उनीहरुको दैनिकीले यहाँ रहेका गाउँलेहरुको मनोविज्ञानमा नकारात्मक असर पर्‍यो । 

स्थानीय निकायको निर्वाचनपछि होक्से गाउँको पीडामा मल्हम लगाउने जिम्मेवारी यतिबेला पाँचखाल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ढकालको काँधमा छ । लक्की सेभेन अंकसंग उनको अनौठो संयोग जोडिएको छ । उनी ७ नम्बर वडाध्यक्ष, त्यो पनि ७ भोटले जितेका । स्थानीय भएका नाताले अढाई दशकअघिको त्यो विकराल परिस्थिति उनलाई पनि निको लाग्दैन । मान्छे आफ्नै शरीर कसरी बेच्न सक्छ ? यो प्रश्नले स्वयं उनी द्रविभूत हुन्थे । ‘जोरपिपल, डाँडाखर्क, ज्याम्दीमा २०५० सालदेखि ७० सालसम्म यस्ता घटना भए ।

">

दलित, जनजाति र पिछडिएका वर्गमा यो प्रकोप देखिन्छ । ३५ जना जतिले किडनी बेचेका छन् । अशिक्षा, गरिबी नै यसको जड हो भन्ने मेरो निष्कर्ष छ । त्यसमाथि आफ्नो गाउँ ठाउँमा काम गर्न अप्ठ्यारो मान्ने तर अलग भूगोलमा जस्तो पनि काम गर्ने प्रवृत्तिले यो ठाउँका मानिस श्रमका लागि भारत जान्थे । त्यहींको सरसंगतबाट यस्ता अपराध भएका हुन् । यहीँबाट सिर्जित समस्या होइन यो ।’

पुष्कर तात्कालिन गाउँ विकास समितिमा पनि सदस्य भएर काम गरेका जनप्रतिनिधि हुन् । त्यसैले उनलाई समस्या र समाधानको जरोकिलो थाहा छ । अब यो समस्या इतिहासमा सीमित हुने विश्वास उनीभित्र छ । ढकाल भन्छन– ‘यो समस्या निदानका लागि त्यो बेलादेखि नै थुप्रै प्रयास भए । जनप्रतिनिधि, सीडिओ, प्रहरी प्रमुख, शिक्षक र किडनी विक्री गर्ने सदस्यबीच थुप्रै अन्तरक्रिया भए । यही कारण २, ३ जनाको ज्यान गयो । गिरोहका सदस्य पक्राउ परे । त्यसपछि भने विक्रीको पारो घट्यो ।’

पाँचखाल नगरपालिका भएपछि त्यहाँका जनप्रतिनिधिहरुको ‘अर्जुनदृष्टि’ यो समस्यामा पर्यो । भोको पेटले भजन गाउन सकिदैन । अर्ती, बुद्धिले निदान हुँदैन भन्ने बुझेका उनीहरुले मृगौला विक्री गरेका सदस्यलाई माहुरीको घार दिए । स्वरोजगार बनाउन सीप बाँडे । बालबालिकामार्फत अभिभावक समक्ष पुर्याइएको सन्देश प्रभावकारी हुन्छ भन्ने ठानेर टोलमा बालबालिका सञ्जाल बनाए । यी सबै तीर ठीक ठाउँमा लाग्दै गयो ।

">

मिडिया र सामाजिक सञ्जालले चेतना अभिवृद्धिमा ठूलो भूमिका निर्वाह गरे । अन्ततः  बद्नाम एउटा गाउँ सुनाममा परिणत भयो । अझै पनि बद्नामका केही बाछिटा बाँकी छन् । तिनको निराकरणका लागि जनप्रतिनिधि दिनरात लागेका छन् । 

देशैभरि अव्यवस्थित बसोबासको चपेटाले घरगाउँको मुहार बिग्रँदो छ । चारबाली लाग्ने पाँचखाल उपत्यका यसखाले संक्रमणमा परेको छ । अझ ०७२ सालको भूइँचालोपछि थातथलो छोडेकाहरु सुरक्षाको कारण देखाएर फर्कन थालेका छन् । 

बाली लाग्ने खेतमा धमाधम गगनचुम्बी घर उम्रिन थालेका छन् । ‘एकातिर खेतीपाती जुवाजस्तै बन्ने अर्कातिर पारिवारिक अंशको व्यावहारिक पक्षले गर्दा यो समस्या जन्मिएको हो । नगरपालिकाले भूनीति बनाउन जति ढिला गर्यो, त्यति समस्या बढ्दै जान्छ । सबैको एकमत हुन नसक्दा दूरगामी प्रभाव पार्ने कतिपय काम गर्न सकिएको छैन् ।’ वडाध्यक्ष ढकालको भनाइ छ । 

">

किड्नी होक्से