समाचार

देशका ३९६ पालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माण सुरु

देशका ३९६ पालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माण सुरु

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने बताएका छन् ।

भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्न सोमबार चितवन पुगेका ढकालले यस्तो वताएका हुन् ।

सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३ सय ९६ स्थानीय तहमा १५ शय्यासम्मका अस्पताल र सातै प्रदेशमा ५०/५० शैय्याको सरूवा रोग अस्पताल शिलान्यास गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शय्याको अस्पताल बनाउन लागेको हो ।

पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री विष्णु पौडेलले बताए । यस्तै, सात वटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, वाग्मती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।