समाचार राजनीति

नेकपाको झगडामा झण्डै पिसिए देउवा

नेकपाको झगडामा झण्डै पिसिए देउवा

तीन कल फोनको करामत थियो, कांग्रेस सभापति शेरबहादुर देउवा दिउँसै बालुवाटार छिर्नु ।

नेताहरुले सभापति शेरबहादुर देउवालाई पटक–पटक भन्दै आएका थिए, ‘संकट पर्दा उनले कहिले प्रधानन्यायाधीश त कहिले अख्तियार प्रमुखलाई रातारात बोलाएर मिडियाबाजी गराउँछन् । कहिले राष्ट्रपति प्रयोग गर्छन् । अब पनि आफ्नो झगडामा हामीलाई मुछ्ने दाउ हुनसक्छ त्यसैले प्रधानमन्त्रीले बोलाए भन्दैमा भेट्न नजानुस् । पार्टीले उनलाई सहयोग गर्ने भनेको छैन, बरु पाँच वर्षसम्म सरकारमा नजाने निर्णय छ ।’ यही कारण शनिबार प्रधानमन्त्री आफैँले फोन गरेर बोलाउँदा देउवाले ‘हैन, म आउँदिन’ त भन्नुभयो । तर, ‘आउनु न आउनु, अलिक जरुरी पर्यो’ भन्दै तीनचोटि कर गरेपछि आफू गएको देउवाले केही कांग्रेस नेतालाई बुढानीलकण्ठमै बोलाएर सुनाउनुभएको छ ।

देउवाको ब्रिफिङअनुसार, प्रधानमन्त्री ओलीले संसदीय दल विभाजन गर्ने प्रयासमा असफल भएको निश्कर्ष निकालिसक्नुभएको छ । उहाँको भनाई छ, ‘वामदेवले साथ दिए बहुमत पुग्छ । उनले साथ नदिए छोड्नुपर्ने हुनसक्छ । तपाईंहरुले साथ दिनुभयो भने मैले के गर्नुपर्छ, त्यसनिम्ति तयार छु ।’ देउवा पार्टीमा सल्लाह नगरी केही भन्न सक्दिन भन्दै तीन घण्टाको छलफल सकेर निस्कनु भयो ।

तर, बाहिर आएजस्तो मन्त्रालयको संख्यासम्म भागबण्डा लागेको कुराले उहाँ आफ्ना सहकर्मीबीच अस्वीकार गर्नुभएको छ । ‘साथ, सहयोग दिनुपर्यो भन्छन् । तर कसरी साथ दिने ? देउवाले सुनाउनुभयो । तर, त्यो भेटको मक्सद आफूलाई फकाउनुभन्दा बढी माधव–प्रचण्डहरुलाई तर्साउनु थियो भनेर देउवाले पनि बुझ्नुभएको रहेछ । भन्नुभयो, ‘नियत अर्कै हो ।’

दुई तिहाई नजिक बहुमत भएको प्रधानमन्त्री पार्टीको झगडा मिलाउन प्रमुख प्रतिपक्षीको भर पर्नुपर्ने र मन्त्रालय संख्यासमेत यकिन गरेर बालुवाटारबाट प्रचार गराइनुपर्ने ! यस्तो स्थितिमा त बालुवाटारको सचिवालयले ‘हामीसँगै बहुमत भएको हुँदा प्रतिपक्षीसँग सहकार्य गर्ने कुरा हुँदैन’ भनेर विज्ञप्ति पो निकाल्नुपर्थ्यो। 

यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।