समाचार अपराध सुरक्षा

वलात्कार विरुद्ध आक्रमक वन्दै सरकार, मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद

वलात्कार विरुद्ध आक्रमक वन्दै सरकार, मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद

सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउन अध्यादेश ल्याउने भएको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकबाट पारित उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बलात्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए । ओलीकै तदारुक्तामा यो अध्यादेश आउन लागेको एक मन्त्रीले बताए ।

कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्मा पेस गरेको थियो । राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने पनि ती मन्त्रीले जानकारी दिए । 

अध्यादेशले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो पनि खोलेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने छ।

यसैगरी, १० वर्ष मुनि र ७० वर्षमाथिका व्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने व्यवस्थालाई यथावत नै राखिएको छ । यसअघि कसुरदार ज्येष्ठ नागरिक भएमा कैद मिनाहा गर्ने कानुनी व्यवस्थामा परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने व्यवस्था राखिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले बताइन् ।

यसअघि ‘महिला तथा बालिका’ माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ‘व्यक्ति’ भन्ने शब्द राखिएको छ । पुरुषमाथि पनि बलात्कार हुने भएकोले ‘व्यक्ति’ भन्ने शब्द राखिएको उनले बताइन् । एक साताअघि मात्रै इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटे बजारमा झापाको दुधे घर भएका २८ वर्षिय एक युवकले पाँच वर्षीय बालकलाई बलात्कार गरेका थिए ।

अध्यादेशमा यसअघि १४ देखि १६ वर्षसम्मको बालिका बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैदको व्यवस्था रहकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ वर्ष कैद गर्ने व्यवस्था छ । १६ देखि १६ वर्षको व्यक्तिलाई बलात्कार गरेमा १० देखि १२ वर्ष कैदको व्यवस्था परिवर्तन गरेर १० देखि १४ वर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ ।

१८ वर्षभन्दा माथिकालाई बलात्कार गरेमा ७ देखि १० वर्ष कैदको व्यवस्था परिवर्तन गरेर अध्यादेशमा १० देखि १२ वर्ष कैद गर्ने व्यवस्था राखिएको छ ।