समाचार

भारतीय सिमाः सर्वसाधारणलाई वन्द, चोर तस्करलाई खुला

भारतीय सिमाः सर्वसाधारणलाई वन्द, चोर तस्करलाई खुला

कोरोना महामारीका बेला ११ चैत ०७६ देखि नेपाल–भारत सीमा क्षेत्र दुवैतर्फ सिल भयो । अझैसम्म सिल छ । तर, बोर्डर सिल भए पनि अवैध ओसारपसार र चोरीतस्करी पूर्ण नियन्त्रण हुन सकेको छैन । बरु कतै प्रहरीसँग तस्करका झडप भए भने कतै प्रहरीले आफूहरूको रोजगार खोसेको भन्दै सीमा क्षेत्रमा ओसारपसार गर्नेहरूले रुवावासी गरे । प्रशासनले भारत गएर किनमेल गर्नेलाई क्वारेन्टाइनमा राख्ने उर्दी ग¥यो । तैपनि, खुला सिमानाले गर्दा अवैध ओसारपसार भइरह्यो । अर्कोतिर राति चोरीतस्करी गर्नेले लाइन चलाएर धन्दा चलाइरहे । झापा, मोरङ र सुनसरीको सीमा क्षेत्रका बासिन्दा रातभरि तस्करीकै कारण राम्रोसँग निदाउन पाएनन् ।

हुन त आजकल सीमा क्षेत्रको अवस्था पहिलेजस्तो छैन । प्रहरीले कडाइ गर्न थालेपछि अवैध ओसार पसारमा धेरै सुधार भएको छ । प्रहरीहरू कारबाहीमा पर्न थालेपछि मोलमोलाई मार्फत नाकाका थाना चौकीमा दरबन्दी लिएर आउने चलन पनि हटेको छ । पहुँचका आधारमा खुल्लमखुला तस्करीका लाइन कम चल्ने गरेका छन् ।अवैध ओसारपसारमा संलग्नलाई सामानसँगै पक्राउ गरेर भन्सार बुझाउन थालेपछि धेरैले अपराध कार्य छाडेर अन्य पेशा गर्न थालेका छन् । विराटनगर जोगबनी नाकामा मात्र दुई सय जना बढीले अवैध ओसारपसार छाडेर आफ्नो क्षमता र रुचिअनुसारको पेशा गर्न थालेका छन् । कोही सिटी रिक्सा र टेम्पो कुदाउँछन् भने कोही बन्द व्यापारमा लागेका छन् । पहिले दैनिक विराटनगर–जोगबनी नाकामा मात्र दैनिक एक हजार बढीले अवैध ओसारपसार गर्थे ।

तर, अझै पनि नियमनकारी निकाय र सत्ताको पहुँचमा रहेका व्यक्तिले नै संरक्षण दिँदा सीमा क्षेत्रमा हुने तस्करीलाई पेशा हो भन्दै अधिकार ठान्नेहरूको जमात छँदै छ । तस्करीलाई पेशा ठान्नेहरूमा ठूला तस्कर, अगुवा, राजनीतिक कार्यकर्ता मात्र नभएर भरियाको रूपमा प्रयोग हुने गरिब पुरुष, बालबालिका र अपांगतासमेत हुनेगरेका छन् । यसैले यहाँ बुझ्नुपर्ने के हो भने ओसारपसारका मालवस्तु र भरियालाई पक्राउ गरेर मात्र सीमा क्षेत्रमा हुने तस्करी पूर्ण नियन्त्रण हुन सक्दैन । यसका लागि विशेष जागरण अभियानको खाँचो छ । त्यसका लागि पहिलो प्रहरी, त्यसपछि जनप्रतिनिधि, दलका नेता र अगुवा सबै लोभमुक्त हुन आवश्यक छ ।

सजिलै आम्दानी हुने भएकाले सीमा क्षेत्रमा मानिसले अवैध ओसार पसारलाई अपराध हैन रोजगारीको पेशा ठान्ने गरेका छन् ।

अवैध ओसारपसार गर्नेहरूका पनि विभिन्न तह छन् । एकथरी दैनिक गुजाराका लागि अर्काको सामान साइकलमा राखेर वा आफूले बोकेर ओसारपसार गर्छन् । अर्कोथरी साना व्यापारीसँग सम्पर्क राखेर भारतीय बजारबाट विभिन्न उपभोग्य सामग्री किनी भन्सार कटाउँछन् र नेपाली बजारमा बेचेर गुजारा चलाउँछन् । केहीचाहिँ भारतीय बजारमा व्यापारीले किनेका सामग्री भन्सार छलेर नेपाल ल्याइदिने (क्यारिङ गर्ने) ठेक्का लिन्छन् । यसमा उनीहरू निश्चित रकम लिने गर्छन् । अर्काथरीचाहिँ ठूला व्यापारीसँग साँठगाँठ गर्छन् र मालवाहक सावारी ट्रक, ट्र्याक्टरमा भन्सार कर्मचारी र प्रहरी प्रशासनसँग लाइन मिलाएर बाहिरबाट खुला तस्करी गर्छन् ।

झापा, मोरङ र सुनसरीको सीमा क्षेत्रमा महिला–पुरुष मात्र नभई बालबालिकासमेत तस्करीमा प्रयोग गरिन्छन् । बालबालिकालाई कानुन नलाग्ने भएकाले भरिया बनाएर प्रयोग गरिन्छन्, कमजोर आर्थिक अवस्थाले गर्दा  बालबालिकासमेत ओसार पसारमा संलग्न भई पढाइ बीचैमा छाड्ने गरेका छन् ।

तस्करीकै कारण धेरैले ज्यान  गुमाइसकेका छन् । धेरै जना जेलमा सजायँ पनि भोग्दै छन ।

वर्षौदेखी अवैध सामान ओसारपासरमा संलग्न रहँदै आए पनि भरियाको जीवनस्तर जस्ताको तस्तै छ । यसैले तस्करी पेशा हैन अपराध हो भन्ने राष्ट्रिय अभियान चलाउन ढिलो भइसकेको छ ।

अटेर गर्नेहरूलाई रंगेहात समातेर वस्तुसहित भन्सारमा दाखिला गराउन आवश्यक छ । सीमाना नजिक र दशगजा क्षेत्रमा खोलिएका गोदाम, काँटा, व्यापारिक पसल हटाउन सहयोग गर्नु पनि अत्यावश्यक छ ।

अर्कोतिर सीमा क्षेत्रका सुरक्षा युनिटले अवैध ओसार पसारमा संलग्न सबै तहका व्यक्ति र समूहको प्रोफाइल सार्वजनिक गर्न आवश्यक छ । ताकि अपराध पृष्ठभूमि भएका र अवैध कमाइ गर्नेहरूलाई नागरिकले जान्न चिन्न पाउने थिए ।

पेशा त्यो हो जुन कानुनको परिधिभित्र रहेर वैधानिक तरिकाले गरिन्छ । तर, अवैध ओसारपसार भन्सार छली हो । जुन कानुनअनुसार जघन्य अपराध हो ।
यो सामग्री जन आस्थावाट साभार गरिएको हो।