समाचार विचार

लोभानी, पापानीका कारण प्रचण्ड राजनीति बिसर्जनको विन्दुमा

संकेत कोइराला

लोभानी, पापानीका कारण प्रचण्ड राजनीति बिसर्जनको विन्दुमा

स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए । स्वागतका लागि मानिसको लाइन लागेको थियो । विदेशीले हात फैलाउँदै भने– ‘हेल्लो ।’ स्वामीको उत्तर थियो– ‘नमस्ते ।’ स्वामीलाई अंग्रेजी भाषा कठिनाई भएको सम्झिएर एक शिष्यले हिन्दी भाषामा जिज्ञाशा राखे– ‘आप कैसे है ?’ स्वामीले मुस्कुराउँदै जवाफ दिए–‘आईएम फाईन, थ्यांक यू ।’ स्वामीको जवाफ दिने शैलीबाट चकित शिष्य सोध्छन– ‘अंग्रेजीमा सोध्दा हिन्दी, हिन्दीमा जिज्ञाशा राख्दा अंग्रेजीमा जवाफ दिनुभयो । यसको रहस्य के हो गुरुदेव ?’ शिष्यलाई शान्त पार्दै जवाफ दिए– ‘जब तिमीले आफ्नी आमाको सम्मान गर्यौ, मैले पनि मेरी आमाको सम्मान गर्नु आफ्नो कर्तव्य सम्झिएँ । जब तिमीले मेरी आमाको सम्मान गर्यौ, मैले पनि तिम्री आमाको सम्मान गरेको हुँ । यसमा अन्यथा लिनुपर्ने कारण नै छैन ।’

स्कूले ठिटोदेखि विश्वविद्यालय पढेको कुनै नेपाली नागरिकको बायोडाटा हेर्ने हो भने नेपाली भाषापछि लेख्ने, पढ्ने, बुझ्ने भाषाको महलमा हिन्दी उल्लेख भएको हुन्छ । भगवानलाई खुशी पार्ने श्लोक, शंख, घण्ट, तस्वीर उतैबाट आयातित हुने सबैले बुझेको सत्य हो । हरेक नेपालीले रामायणको अरुण गोविल, दीपिकालाई राम र सीताको स्वरुपमा पूजा गर्छन । नेपालीले लगाउने सजिलो भित्री बस्त्र गञ्जी, कट्टु जुनसुकै मुलुक पुगे पनि भारतमा बनेको बाहेक अरु उत्पादनमा कसैको विश्वास नै छैन । झुम शरावीको रमाइलोमा होस् या टेन्सनको पारो घटाउन हिन्दी गीत गजलको थेरापी नै अन्तिम उपचार हुने गर्छ । घरमा कोही बिरामी भए भने औषधोपचार र केबुलको किस्तावन्दीमध्ये केबुलको पैसा पहिलो प्राथमिकतामा पर्छ । हिन्दी सिरियलका कलाकारलाई १३ दिने परिवार र रगतको साइनोलाई मिथकको पात्र बनाउने पुस्ता समाजमा अझ सशक्त हुँदै छ । हिन्दी च्यानल हेर्ने पारिवारिक सन्तुलन मिलाउन नसक्दा एउटै घरमा ४/५ वटा टेलिभिजन सेट खरिद गर्ने परिवारको संख्या हजारौं पुग्न सक्छ । सामाजिक सञ्जालको भोक मेटाउन घरलौरी आधा दर्जन राउटर चौबिस घण्टा चालू छन् । युट्युबको खेतीपाती हिन्दी उत्पादनमै गएर ठोक्किन्छ । केबुल व्यवसायीले हिन्दी टेलिभिजन च्यानलको प्रशारण शुल्क वर्षदिन अघि नै अग्रिम भुक्तान गर्छन् तर नेपाली टीभी च्यानल उल्टो अदालतको तारिख धाएजस्तै धाइरहेका हुन्छन् । टोलमा खाली सिसी, पुराना कागज बटुल्नेदेखि साइकलमा तरकारी बोकेर हिँड्ने सामान्य व्यापारीसंग ब्रोकन हिन्दीमा कुरा मिसाउनु आम गृहिणी र बच्चाको सोखजस्तै बनेको छ । जसले पाइला पाइलामा भारतको विरोध गर्छ, जाने हुन्छ– त्यसको हातमुख जोर्ने प्रबन्ध उतैबाट भएको छ ।

वास्तवमा भारत देश नभएर भारतीय सभ्यता र संस्कृतिको नाम हो । भारतसंग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासंगको आग्रहपूर्ण मिसावट हुँदै होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई घृणा गरेर जो बाइडेनसंगको समीकरण सतप्रतिशत अप्राकृत हुन्छ । मोदीे र एउटा नेपालीको जीब्रोले खोज्ने मिठास एउटै हो । पुज्ने भगवान एकै हुन् । देख्ने सपना उस्तै हो । बा–आमाप्रतिको भक्तिभावदेखि पितृकर्मका बाटाहरू समान हुन् । धाम एउटै हो, कामको तौरतरिका उही हो । मानिसको जीवनमा तीन महत्वपूर्ण निर्णायक घडी हुन्छ– जन्म, विवाह र मृत्यु । यसको व्याकरण एउटै हो । यी सत्य जान्दाजान्दै पनि आग्रहको पहाड ठड्याएर कुन स्वाभिमानको धरहरा बनाउँदैछौं ? भारतले आलु ल्याउन प्रतिबन्ध लगाउँदा एक धार्नी आलुको बजार मूल्य अहिले ३ सय पुगेको छ । भारत नेपालका लागि अन्न र बायुनली हो । जब नेपालको बजेटको हाराहारीमा रहेको बजेट घाटा घटेर बराबरको मात्रामा आउँछ, त्यसपछि त अंकले फत्ये गर्ने हो । उत्तेजनाको राष्ट्रियताले नेपालमा धेरै पुस्ता घरको न घाटको भएका छन् । भाषण, कविता, कल्पना एउटा चीज हो तर यथार्थको बाटो चुनौतीपूर्ण हुन्छ । मन एकैछिनमा अमेरिका पुग्छ । तर अमेरिका जान प्रक्रिया छ । त्यो प्रक्रिया बुझेकाले गाली किमार्थ गर्दैन ।

उनीहरूका लागि प्रचण्ड उक्लिसकेपछिको सिंढी हो भने केपी नयाँ डिलर हो । केपीलाई माओवादीका तोरीलाउरेलाई घाँस छरेर एमालेलाई साइजमा ल्याउनु छ । एमालेको तुजुक निकालेर प्रचण्डलाई निचोर्नु पनि छ ।

फलाम बाहिरी दबाब र प्रभावमा सकिने होइन । उसको अन्त्य ऊभित्रकै खियामा निर्भर रहन्छ । जब घरभित्रको समस्या मिलाउन छिमेकी गुहार्छौं भने राष्ट्रिय स्वाभिमानको मृत्यु त्यहाँबाट शुरु हुन्छ । गणतन्त्र यताको डेढ दशक प्रचण्डराजमा बित्यो । कपाल लर्काए पनि समाचार, फर्काए पनि समाचार, बोले पनि समाचार, नबोले पनि समाचार, उठे पनि समाचार, बसे पनि समाचार । सम्भवतः यस्तो यात्रा संसारका थोरै राजनीतिज्ञको ललाटमा लेखिन्छ । अब त्यो युग समाप्तिको चरणमा प्रवेश गरेको छ । जुन राजनीतिक दल विचारभन्दा व्यापारमा अग्रसर हुन्छ भने प्राप्त परिणाम यस्तै नमिठो हुन्छ । शिक्षा, स्वास्थ्य, जग्गा कारोवार, वैदेशिक रोजगारी, वित्तीय संस्था, हाइड्रोपावरजस्ता उद्योगमा कम्युनिष्ट नेता–कार्यकर्ताको लगानी बढ्दो छ । राजधानीमा दाँती मिलेका घर बनाउने र सन्तानलाई विदेशमा आरामको जिन्दगी बिताउने चाँजो मिलाउन नेताहरूको कसरत जारी छ । एउटा कसैको नकच्चरो गुलाम भएपछि त्यसको त्यो योग्यताले दुवै हातमा मात्र होइन, मुखमा पनि लड्डु प्राप्तिको योग लेखिन्छ । थाहा छैन, कुन भवितव्यले यो अपराधको निक्र्योल गर्ने हो । लोभानी, पापानीका कारण प्रचण्ड राजनीति बिसर्जनको विन्दुमा छन् । उनका सहयात्री निष्ठाको नभई फाइदाको राजनीतिमा हुर्किएका प्राणी हुन् । उनीहरूका लागि प्रचण्ड उक्लिसकेपछिको सिंढी हो भने केपी नयाँ डिलर हो । केपीलाई माओवादीका तोरीलाउरेलाई घाँस छरेर एमालेलाई साइजमा ल्याउनु छ । एमालेको तुजुक निकालेर प्रचण्डलाई निचोर्नु पनि छ ।

माओवादी युद्धलाई माओवादी नेताहरू नै जीवनको नराम्रो सपनाका रुपमा भुल्न चाहन्छन् । केपी ओलीलाई त नेपालको राजनीतिक इतिहासले एउटा सन्काहा, छुद्र र प्रतिशोधी राजनीतिज्ञका रुपमा मूल्यांकन गर्नेछ । यिनको यो छूद्रपनभित्र कुटिल खेल छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकादेखि संवैधानिक निकायसम्म बाघचाल त्यसै चलिरहेका छैनन् । सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्र र गुप्तचर विभाग त्यसै प्रधानमन्त्री कार्यालयमा गाभिएको छैन । प्रचण्ड, शेरबहादुर, झलनाथहरू त्यसै म्याउम्याउ गरिरहेका छैनन् । ७२ करोडको सर्पलाई अख्तियारले एउटा बिन बजाइदियो भने तिनको के हालत हुन्छ ? ४ हजार लडाकूलाई ३३ हजार पारेर अरबौंको हिसावकिताव बालुवाको पानी बनाउने प्रचण्डप्रवृत्तिलाई ओलीले राम्रै पढेका छन् । पैसाले पुरेर उनीहरूको चरित्र धुलिसात पार्ने गिरिजाप्रसादको डक्ट्रिन बुझेका केपी यस्तै दफामा खेलेर आफ्ना प्रतिशोधी सिध्याउने रणनीतिमा छन् । ओलीले चाहेका दिन बालुवाटारको जग्गा प्रकरणले नेपालको राजनीति दाउमा लाग्न सक्छ । विजय गच्छदारजस्ता खेलाडी थाल खाऊँ कि भात खाऊँको अवस्थामा पुगेका छन् । देशको प्राणमा कुठाराघात भए होस् तर उनी छानीछानी पूर्व, वर्तमान र भविष्यका शत्रु सिध्याउने ध्याउन्नमा छन् । उनले दैनिक १८ घण्टा काम गर्छु भनेर दिएको अभिव्यक्तिभित्र यही गूढ लुकेको छ । भ्रष्टाचार र कोरोना उस्तै हो । यो लागेपछि कसैले काँध थाप्ला भन्नु पर्दैन । दाउपेच मिलाउन जान्नेलाई यो रोगले कहिल्यै छुँदै छुँदैन ।

मानिसको जीवनमा सबैभन्दा ठूलो अँधेरी रात भनेको अज्ञानता हो । मानस, बुद्धि, चिन्ता र अहंकारको सन्तुलन मिलाउन नसक्दा मानिस असफल हुने हो । मोदीको छायाँ देख्न नचाहने पनि उनको हरेक पाइलाका सिआईडी बन्ने गरेका छन् । भारतीय नेतालाई गाली गर्नु नै राष्ट्रप्रेमी नेपाली नागरिक हुनुको कसी अन्तिम सत्य होइन भने हरेक नेताको पहिलो शर्त आफ्नो माटोप्रतिको स्नेह हो । चारपटक प्रधानमन्त्री भएका शेरबहादुर देउपाको काम त परै जाओस् , शुद्ध थर देउवा भनेर थाहा पाउन जनताले दशकौं कुर्न पर्यो । जापानी कहावत छ– ‘सात पटक खस र आठ पटक उठ ।’ हामी दिनप्रतिदिन यस्तो बैंकको खोजीमा हिँडेको ग्राहक भएका छौं, जहाँ आँसु धरौटी राखेर दुई थोपा खुशी ऋण लिन पाइयोस् । यो संसारमा आजसम्म यस्तो प्लम्बर जन्मिएको छैन, जसले आँखाको डिलबाट झरेको आँसु फेरि आँखामै सार्न सकेको होस् । कसैलाई गाली गर्नुअघि ९३ रुपैयाँको सामान किनेर सात रुपैयाँको माल बेच्ने आफ्नो औकात हेर्न जरुरी छ । माटो खोस्रेर अन्न रोप्न नदिई खाडीको बाटो रोज्ने पुस्ता नेपालमा जन्माएको कसले ? विकासका नाममा दशकौं सडक खाल्डो पारेर धुलो, धुवाँमार्फत दीर्घरोग उपहार बाँड्ने दाता को हो ? आफ्नै दाजुभाइसँग दर्ता, चलानी, राजश्व असुल्दासमेत घुस नखाई मसी नचोब्ने कर्मचारीबाट भारतले कति प्रतिशत लिन्छ ? मासुभातमा अनुदान दिएर एउटा स्वस्थ जनशक्ति तयार गर्नु सट्टा ओखती बाँड्न आतुर हुने नीति निर्माता नेपाली हुन् कि भारतीय ? आमाको गर्भमै सीप बोकेर आएका विश्वकर्मा सन्तानहरूलाई शोषणको नाम दिएर शहरमा लगी भरिया बनाएको कुन राजनीतिक दर्शनले हो ? शायद ती कर्मवीरलाई सन्काएर पथभ्रष्ट नगरिदिएको भए आज शहरमा न श्रेष्ठ टेलरिङ जन्मन्थ्यो, न क्षेत्री बाहुनका छोरीबुहारी बुटिक मालिक भएर देखा पर्थे । रोटीभन्दा भोक जेठो भयो भने बासी रोटी पनि साजी हुन्छ । नेपालीको चरित्र त्यो एम्बुलेन्स जस्तो भएको छ, जो दुखीआत्मा लिएर साइरन बजाउँदै सडकमा भड्किरहन्छ । मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन् तर कमल दलदल हिलोकै बीचमा फुल्छ, सफा माटो चाहियो भन्दैन । पिपलले कहिल्यै रूखो चट्टान भनेर गुनासो गर्दैन । त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआँट्नेहरूले मात्र बहाना देखाउने हुन् । अरुको अग्लाईको हिसाब गर्दागर्दै आपूm होचिएको पत्तै नपाउने अवस्था आइसक्यो । मोदीले उत्पादन गरेर पठाएको कोदोको रक्सी धोकेर मोदीलाई गाली गर्दा उनकै आयु थपिने हो ।

मार्टिन लुथर किंग भन्छन– ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरूको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जे सुकै गर तिमी अघि बढ्नुपर्छ ।’
यो सामग्री जन आस्थावाट साभार गरिएको हो ।