समाचार अर्थ

कोरोनाको वहानामा अनियमितता : लाईफब्याई सावुनको मुल्य ४ हजार

कोरोनाको वहानामा अनियमितता : लाईफब्याई सावुनको मुल्य ४ हजार

कोरोना रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहले चरम आर्थिक अनियमितता गरेका घट्ना सार्वजनिक भईरहेका वेला सप्तरीको वोदेवरसाईन नगरपालिकामा पनि यस्तै एउटा घट्ना सार्वजनिक भएको छ ।

नगरपालिकाले सर्वसाधारणका लागि वितरण गर्न र सार्वजनिक स्थानमा हात धुने ब्यवस्थाका लागि खरिद गरेको लाईफ ब्याई सावुनमा समेत चरम अनियमितता गरेको डकुमेण्ट सार्वजनिक भएको छ । नगरपालिकाले प्रमाणित गरेर दिएको डकुमेण्ट अनुसार लाईफब्याई सावुन प्रतिगोटा ३ हजार ८ सय ३१ रुपैयाँ ४२ पैसामा खरिद गरिएको छ ।

नगरपालिका कार्यालयले ०७६ चैत २२ गते जम्मा ९५ वटा सावुन ३ लाख ६३ हजार ९ सय ८५ रुपैयाँ लागतमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा उल्लेख छ ।
 
नगरपालिकाद्वारा सार्वजनिक ०७७ वैसाख ७ गतेसम्मको विवरण अनुसार कोरोना नियन्त्रणका लागि कुल २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च गरिएको छ ।

स्थानीयवासीले भने संक्रमणका कारण नागरिक उकुसमुकुस भएको मौका पारेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा व्रम्हलुट गरेको आरोप लगाईरहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले भने सावुन खरिदमा अनियमितता नभएको दावी गर्दै प्रिन्ट मिस्टेक भएर त्यस्तो देखिएको वताए । ‘टाईप गर्नेले त्यसरी गरेछ, प्रमाणित गर्नेले पनि नहेरी गर्दा यस्तो समस्या आयो’–उनले भने । टाईप गर्दा ९५ कार्टुन लेख्नु पर्नेमा ९५ वटा भएको उनको भनाई छ ।

यसअघि कोरोना रोकथाम र नियन्त्रणको नाममा सिराहाको औराही गाउँपालिकाले करिब २३ लाख रुपैयाँ बैठक भत्तामै खर्च गरेको विवरण सार्वजनिक भएको थियो । 

संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको काममा स्थानीय तहलाई जिम्मेवार र सक्रिय बनाएको छ । यस अभियानमा धेरैजसो स्थानीय तहले प्रभावकारी काम गरेको संघीय मन्त्रालयको बुझाई छ तर केही स्थानीय तहमा भने कोरना रोकथाम र नियन्त्रणको नाममा ठूलो अनियमितता तथा भ्रष्ट्राचार भएको मन्त्रालयका उच्च कर्मचारीहरु नै बताउछन् ।

बोदेवरसाईन नगरपालिका कार्यालयले प्रमाणित गरेको खर्च विवरण