समाचार

कोरोनाका कारण नेकपाका नेता एवं संविधान सभा सदस्यको मृत्यु

कोरोनाका कारण नेकपाका नेता एवं संविधान सभा सदस्यको मृत्यु

नेकपाका नेता एवम् संविधान सभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उनको मंगलवार सवा १ वजे मृत्यु भएको हो । आईसियुमा राखेर उपचार गराईरहेका वेला उनको मृत्यु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक डम्वर गुप्ताले जानकारी दिए।

सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी ६२ वर्षिय चौधरीलाई कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

करिव १०/१२ दिनदेखि ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरी गत कार्तिक १ गते स्वास्थ्य चेकजाँचका लागि विराटनगर गएका थिए । कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरी ८ घण्टासम्म अक्सिजन दिएर राखिएको थियो । समस्या थप वढ्दै गएपछि कार्तिक २ गते राती करिव ९ वजे धरान रेफर गरिएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोहि दिन राती करिव १२ वजे उनको स्वाव परिक्षणका लागि लिएको र विहान ५ वजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । सोहि दिनदेखि धरानमै उपचारत चौधरीको मृत्युको सुचना आएको गुप्ताले वताए । उनी डाईविटिजका दिर्घरोगी समेत रहेको जनाईएको छ ।

०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फवाट उनी सप्तरी निर्वाचन क्षेत्र नं. १ वाट सभाषदमा निर्वाचित भएका थिए । 


यसअघि सोमवार मात्रै राजविराज नगरपालिका १० का ६७ वर्षिय कोरोना संक्रमित पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको थियो ।

योसहित कोरोनाका कारण मर्नेको संख्या जिल्लामा ४ महिलासहित २६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।