समाचार

खोटाङको बराहापोखरीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङको बराहापोखरीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङको बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी जाँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दधुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् ।

उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए ।