समाचार विदेश

उत्तरी सिरियामा रुसी हवाई हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

उत्तरी सिरियामा रुसी हवाई हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । 

इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो ।

यो आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विराम खतरामा परेको जनाईएको छ। सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरेका छन् ।

ब्रिटेनस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेको संख्या ७८ सम्म पुगेको अनुमान छ । संगठनका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ ।

संगठनका अनुसार गत मार्च महिनामा युद्धविराम भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो ।

हिंसाका कारण त्यहाँबाट १० लाख मानिस बिस्थापित भएका छन् । युद्धविराम भएपछि भने मानिसहरु पलायन हुने क्रम रोकिएको थियो ।

सिरियामा नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । सिरियाको सरकार विरोधी र जेहादिहरुको कब्जामा रहेको इदलिब अन्तिम प्रान्त हो । राष्ट्रपति बसर अल असादको समर्थन गर्ने सुरक्षा बलले देशका अन्य क्षेत्रबाट विद्रोहीहरुलाई हटाइसकेका छन् ।

एजेन्सी