समाचार विचार

बिकास बाबु अर्थात केपी ओली

पुरुषोत्तम पौडेल

बिकास बाबु अर्थात केपी ओली

नेपालको राजनीति बडो विकासमैत्री छ । जति नेतृत्वमा आउँछन्,सबै विकासका वाहक नै आउँछन् । पञ्चायतीकालमा पञ्चहरू आए । देशमा विकासको मूल फुटाए । ०४७ सालमा प्रजातन्त्र आयो । ०४८ मा कांग्रेसहरूले चुनाव जिते । देशभरि विकासको हलो जोतेर देखाए । निजीकरणले चमत्कार हुने हौवा पिटाएर चालु अर्बौंका कलकारखाना हजम बनाए । अहिले गणतन्त्र छ । कम्युनिष्ट पार्टीको एकमना सरकार  छ । विकास बाबुको जगजगी चलेको छ । चमत्कारी विकास बाबुको नामै काफी छ । उनको विकासबाहेक अर्को कुनै काम छैन । विकास बाबुका सबै काम विकास लक्षित मात्र छन् । देशभरि असाधारण विकास भइरहेको छ ।

विकास बाबु बडो लोकतान्त्रिक पनि हुनुहुन्छ । पार्टीमा लोकतन्त्रीकरणको नारा लगाएर आउनुभएको हो । उहाँको लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता छ । विकास बाबु लोकतन्त्रलाई विकासको आधार मान्नुहुन्छ । उहाँको लोकतन्त्र अलि विशेष खालको हुन्छ । उहाँको लोकतन्त्रमा अधिकारजति आफूलाई, कर्तव्यजति अरूलाई हुन्छ । विकास बाबुको समझमा विकास अधिकारले होइन,कर्तव्य पालनाले मात्र हुन्छ । त्यसैले विकास बाबुलाई प्रश्न र गुनासो पटक्कै मन पर्दैन । आलोचना त सुन्नै चाहनुहुन्न । उहाँलाई हस्, हुन्छ,हजुर,हो अनि कर्तव्यपालन मात्र मन पर्छ ।

विकासबाबुलाई नौलो–नौलो विकास मन पर्छ । चलनचल्तीका विकासमा समय खेर फाल्न रुचि हुँदैन । नेपालमा पानीजहाज ल्याउने प्रण छ उहाँको । पानीजहाज कार्यालय उद्घाटन भइसकेको छ । टिकट काउन्टर खोलिएको छ । राप्ती नदीमा जहाज बनाइएको छ । दैलेखमा ग्यास उत्पादन गर्न निरीक्षण भयो । विराटनगरमा पाइपलाइन उद्घाटन गरिएको छ । खर्चिलो भए पनि हावाबाट बिजुली निकाल्ने पंखा घुमाइयो । फलाम खानी र तामा खानी,युरेनियम खानी र अभ्रख खानी खोजिँदै छ । अरू पनि कति–कति ।

राजधानीमा एकै दिन रिबन काटेर पाँचवटा बिजुली बसको उद्घाटन भयो । प्रधानमन्त्री क्वाटरको शिलान्यास भयो । अत्याधुनिक संसद् भवनको शिलान्यास गरिएको छ । नयाँ राष्ट्रपति क्वार्टरको शिलान्यास भयो । मुख्यमन्त्रीहरूका लागि भव्य कोलोनी शिलान्यास गरिएको छ । रानीपोखरी र धरहराजस्ता विकास अरू पनि कति–कति । यति धेरै विकास गरिएको छ । उल्लुहरू देख्दै देख्दैनन् । विकास भएन भन्छन् । तिनीहरूलाई रतन्धो भएको छ । नानाथरी बर्बराइरहन्छन् । कोही बात छैन ।

विकासबाबु अनुकूलतामा सहमति रुचाउनुहुन्छ । असहमति,प्रश्न र विरोधमा रुचि हुन्न । अझ विकास बाबुलाई अनुकूलतै अनुकूलता मन पर्छ । प्रतिकूलता र असहमतसँग अभ्यस्त हुनुहुन्न । आफूअनुकूल नभए कसैलाई पनि छाड्नुहुन्न । विकास बाबुलाई मन्त्री तामाङको टङस्लिप पचेन । लालबाबुजीको न्यायिक स्वभाव पनि रुचेन । मातृका यादवको हकी चालले त उखरमौलो बनायो । कमरेड गोकर्ण विष्टका लोकप्रिय कार्यक्रम मन नपरेकै हुन् । कहीँ न कहीँ यिनीहरू असहमत थिए । यसैले हठात् सरकारबाट हटाइए । यिनीहरूले विकास बाबुको विकासको मूलमन्त्र बुझ्नै सकेनन् ।

मानिसहरू यति समूहको डाह गर्छन् । यति समूहले कम विकास गरेको छ ! देशभरि पर्यटनका गाडी गुडाउँछ । मेची–काली प्लेन उडाउँछ । विकास बाबुको पुरानो सम्पर्कको कम्पनी हो यति । अझ विकास बाबुका सहयोगीहरूको फुर्सदको धाम पनि हो । आफ्ना अनुचरलाई मौका मौकामा आराम दिने विश्रामस्थल हो । विकास बाबुको विकास कल्पनाको विशेष महल हो । यति समूहले अनेक कम्पनीको विकास गरेको छ । हरेक कम्पनीमा विकास बाबुका हितैषीहरू छन् । त्यसैले त नेपाल ट्रष्टमा उनका प्रतिनिधि छन् । नेवानिमा सञ्चालक छन् । यो सबै देश विकासका लागि चलाइएको ठोस कदम हो ।

जोसुकैले जेसुकै गरून् ,विकास बाबुको शरणमा परून् । विकास बाबुकहाँ शरणमा पर्नेको मरण हुँदैन । जतिसुकै गल्ती गरे पनि ठागेले छुँदैन । सतअसत् जस्तो कर्म गर्नुस्, विकास बाबुको पाउ पर्नुस् । सात खत माफ हुन्छ । ७० करोडको वाहियात कुरा । ओम्नीसँग मिलेमतोको बेकार चर्चा । कोरोनाको रोकथाममा लापरबाहीको बेतुके आरोप । प्रिय पात्रहरूका आर्थिक अपचलनका कुरा । फगत विकास बाबुलाई बदनाम गर्ने षड्यन्त्र हुन् । उनका अनुकूल हितैषीहरूलाई डाम्ने चाल हुन् । यी सब मिथ्या आरोप हुन् । विकास बाबुलाई किञ्चित सैह्य हुँदैन । जसले जेसुकै भनोस् कुनै फरक पर्दैन । उनीहरू विकास बाबुको अनुकूल जो छन् ।

विकास बाबु संविधान कानुनमा पनि खप्पिस छन् । विकास बाबु कानुनलाई आफूअनुकूल बनाउन सक्छन् । गुठी विधेयक आयो । गुठियारको अचाक्ली विरोधपछि फिर्ता गरियो । अख्तियारसम्बन्धी विधेयक आयो । त्यो पनि कता बिलायो । मिडिया विधेयकले होहल्ला गरायो । राष्ट्रिय बहस चलायो । शिक्षा विधेयक कता अलपत्र प¥यो । अरू पनि के के हो के के । दल विभाजनसम्बन्धी अध्यादेश त्यस्तै भयो । यो सब विकास सहन नसक्ने देशद्रोहीको कचिंगल मात्र हो । विदेशीको इशारामा रचिएको षड्यन्त्र हो । विकास बाबुलाई अप्ठ्यारोमा पार्ने नौटंकी हो ।

विकास बाबु भ्रष्टाचार गर्नुहुन्न । भ्रष्टाचार गर्न पनि दिनुहुन्न । अनि भ्रष्टाचार गरेको त झन सहनै सक्नुहुन्न । भ्रष्टाचारीलाई उहाँ हेर्न पनि चाहनुहुन्न । भ्रष्टाचारका सम्बन्धमा शून्य सहनशीलता विकास बाबुको घोषित नीति हो । शुरुमै भ्रष्टाचारी दिगम्बर झाको नियुक्ति झुक्किएर भएको हो । विवादास्पद विष्णु ढकालको नियुक्ति उसै हुन पुग्यो । व्यापक दबाबपछि फिर्ता गरिहालियो । बिचौलिया सुशील भट्टको लगानी बोर्डमा नियुक्ति भयो । गणतन्त्रका युवराजहरूलाई पटक–पटक मन्त्री,सल्लाहकार, राजदूत र सदस्य सचिव बनाउने बाध्यता विकास बाबुलाई छ । कमरेड लोकदर्शन रेग्मीसमेत राजदूत बनाइए । यी त विकास बाबुको अनुकूलताभित्रका बाध्यता मात्र हुन् ।

विकास बाबु विद्वानहरूमा विद्वान हो । मानार्थ विद्यावारिधिप्राप्त । औषधि विज्ञानको पनि विज्ञानी । जीवशास्त्रका ज्ञाता । समाजशास्त्रका अध्येता । कोरोना भाइरस ठीक पार्ने गज्जबको मन्त्र ‘बेसार पानी खाऊ, हाच्छिऊँ गरेर कोरोना भगाऊ ।’ हिमालमा ठोक्किएको चिसो हावापानी खाने–कोरोना भगाउने । त्यति मात्र होइन,कोरोना भगाउनकै लागि विकास बाबुले ल्याएको नयाँ तरकिव हो दल विभाजनसम्बन्धी नयाँ अध्यादेश । सपा फुटाउने योजना । कति सजिलो उपाय थियो । विकास बाबुमा यस्ता अपूर्व खालका कला छन् । के गर्नु आफ्नैमा समस्या छ । मन्त्र पढ्यो कि हाँस्न थाल्ने । विरोध ओकल्न थाल्ने । विकास बाबुलाई उसै रिस उठेको छ र ?

विकासबाबु संगीतप्रेमी पनि उस्तै । कला र संगीतको पारखी । थरीथरीका बाजागाजा सजाउन सोखिन । संस्कृतिप्रेमी पनि । भीमसेन थापापछि शक्तिशाली जनताको छोरा । भीमसेन थापाले धरहरा बनाए । विकास बाबुले ‘मेरो धरहरा आफैँ बनाउँछु’ भन्दै नारा लेखेर गन्जी बाँडे । काठमाडौंमा भूकम्पले ढालेको धरहरा उठ्दै छ । दमकमा त्योभन्दा ठूलो बुद्धको मूर्ति उठ्दै छ । भ्यू टावर, सपिङ कम्प्लेक्सजस्ता चमत्कारी विकास र अरू रमाइला पार्क त कति कति । नामै विकास बाबु जो छ ।

देशमा अलेली विकास भएको छ र त विकास बाबुको संसारभरि नाम चलिरहेको छ । आज विश्वमा विकास बाबु एक नम्बर नेता हुन् । डोनाल्ड ट्रम्प कहिल्यै जेल बसेका छैनन् । उनी बाई मिस्टेक हिरो हुन् । पुटिन पनि घरानियाँ नेता हुन् । सी जिनपिङ त केवल बाबुको लिगेसीबाट आएका हुन् । उनलाई चिनियाँ कम्युनिष्ट पार्टीले माथि उठाएको मात्र हो । विकास बाबु शुद्ध जनताबाट आएका हुन् । अथक संघर्ष र जेलनेलबाट आएका हुन् । संसारमा विकास बाबुको जोडी छैन । तब न विकास बाबु ।

विकास बाबुको अनुकूलता र सहमतिको पनि गज्जब तालमेल छ । वाइडबडीले खुब हल्ला गर्यो । छानबिनको कुरा उठ्यो । विकास बाबुले छानबिन प्रक्रियालाई नै छानबिन गरिदिनुभयो । ओम्नीमा थोरै कमजोरी भएकै हो । अनुकूलताको कमजोरी भएकाले सामसुम पारियो । औषधि खरिदमा अरूकै कारणले त्रुटि भएको सेनाले स्वीकार गर्यो । प्रयोजनविहीन सामान आएछ पनि । अनुकूलताको कमजोरी भएकाले केही बिगारेन । दलबदल अध्यादेश आएपछि तहल्का मच्चियो । गणतन्त्रका युवराजले खुव चर्चा पाए । तीन जना मन्त्री नियुक्त भए । तिनै मन्त्री विकास बाबुका खास हुन् । यसले धेरैलाई थला पा¥यो । कसैले बोल्ने आँट गरेन । अन्ततः विकास बाबुलाई बिचल्लीमा पार्न खोज्ने सबै बिचल्लीमा परे । टाइँटाइँ फिस्स भयो ।

त्यसो त विकास बाबुले सबैलाई मिलाएर लैजान खोजेका हुन् । प्रचण्ड कणलाई कार्यकारी अध्यक्षको ट्याग भिराएकै हुन् । झलनाथ कण र माधव कणलाई चाकाचुली खेलाएकै हो । माधव कणलाई तेस्रो अध्यक्ष बनाउने प्रयास गरेकै हो । बूढाले आफैँ नाइँ भनेर फुत्काए । वामदेव कणलाई उपाध्यक्ष बनाएकै हुन् । मौका–मौकामा कणको पूरा सहयोग लिएकै छन् । स्थायी कमिटीको खड्गो पनि टारेकै हुन् । पार्टीले सिफारिस गरेको ९ महिनापछि कष्टसाथ राष्ट्रिय सभामा लगेकै छन् । मन्त्री त अब अदालत आइलागेपछि के गरून् बिचरा ! फेरि पनि सबैका प्रिय पात्रलाई अर्थमन्त्री बनाएकै छन् । कति गर्नु गरिसाध्य भए पो ! कि युवराजले जस्तो सेवा गर्नु पर्यो । सेवा गर,मेवा खाऊ–विकास बाबुको मूल मन्त्र हो ।

(व्यंग्य लेख २ कात्तिक २०७७ – पूर्व खेलकुद मन्त्री तथा नेकपा नेता पुरुषोत्तम पौडेल, बारा)
– यो सामग्री जन आस्थावाट साभार गरिएको हो।