समाचार राजनीति

गोयलसँगको भेटपछि प्रधानमन्त्री ओलीद्वारा लिम्पीयाधुरा स्वाहा !

गोयलसँगको भेटपछि प्रधानमन्त्री ओलीद्वारा लिम्पीयाधुरा स्वाहा !

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भोली पल्टै केहि समय अघि सार्वजनिक गरिएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले नै वेपत्ता पारेको भन्दै आलोचना सुरु भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा पुरानो नक्सा राखिएपछि सामाजिक संजालमा प्रश्न उठाईएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ? भन्दै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ । तर, प्रधानमन्त्री ओलीले नै संसदबाट पारित भएको नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् ।

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेट हुनु, कालापानीको नक्सासहितको पाठ्यपुस्तक बिद्यार्थीहरुलाई वितरण गर्न रोक लगाईनु र आज मात्रै प्रधानमन्त्री स्वयमले पुरानो नक्सा प्रयोग गर्नुलाई संयोग मात्रै मान्न नहुने अधिकांशको वुझाई छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई त्रुटि मान्न नसकिने बताएका छन् ।