समाचार

चिनियाँ हस्तक्षेप वढ्यो भन्दै ‘रअ’ प्रमुख सैन्य विमानमा आए नेपाल

चिनियाँ हस्तक्षेप वढ्यो भन्दै ‘रअ’ प्रमुख सैन्य विमानमा आए नेपाल


दुई सातापछि हुने भारतीय सेनाध्यक्षको नेपाल भ्रमणअघि बुधबार अपरान्ह एक्कासी काठमाडौं उत्रेका भारतको अन्तर्राष्ट्रिय जासुस संस्था ‘र’ का प्रमुख सामन्त गोयलको झण्डै २० घण्टाको काठमाडौं बसाईलाई अर्थपूर्ण ठानिएको छ । नेपालको गुप्तचर सँस्था राअविजस्तै “र” सीधै प्रधानमन्त्रीमातहतको सँवेदनशील निकाय हो । सिक्किमलाई भारतमा गाभ्न र बाङ्ग्लादेशलाई पाकिस्तानबाट टुक्र्याउनमा यसको बिशेष भूमिका थियो । कोरोना संक्रमण र बन्दाबन्दीपछि स्थगित भारतसँगको हवाई सम्पर्क कायमै रहेको बखत गोयलले सेनाको विशेष विमान प्रयोग गरेर काठमाडौं आउनुलाई सबै पक्षले आ-आफ्नै ढंगले विश्लेषण गरेका छन् ।

दुई देशबीच सीमा विवाद कायमै रहेको बखत उनले गरेको भ्रमणबारे औपचारिक रूपमा केही बताइएको छैन । तर,गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसङ्ग हिजो राती भेटेको पुष्टि भैसकेको छ ।

‘र’ का प्रमुखको भेटघाटपछि दुई देशबीच औपचारिक वार्ताको लागि सम्भवतःपरराष्ट्रमन्त्री वा गृहमन्त्रीको भारत भ्रमण हुनसक्ने सम्भावनातर्फ पनि औंल्याइएको छ । यस हिसाबले हेर्दा दुई देशबीचको सम्बन्ध सुधार्ने र वार्ताको वातावरण बनाउनेतर्फ नै उनको भ्रमण केन्द्रित भएको अनुमान गरिएको छ । अन्तिममा उताका विदेशमन्त्रीको भ्रमण गराउनसमेत अहिले गोयल भ्रमणमा आएको हुनसक्छ ।
हाम्रा प्रधानमन्त्रीको स्वभाव नै हो सम्बन्धलाई अनौपचारिक रूपमा अघि बढाउने,यसो गर्दा आधिकारिक बिज्ञप्ती जारी गर्न परेन,प्रचण्डले के हो भनेर जिज्ञासा राख्दा मैले बोलाएको हैन,कसरी आए कुन्नि भनेर टार्न पनि पाइयो ।

मन्त्रिमण्डलको पछिल्लो पुनर्गठन पश्चात् रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयमले लिनुभएकोले रक्षामन्त्रीको भारत भ्रमणको सम्भावना देखिँदैन । यदि रक्षाको मामलालाई लिएर गोयलको भ्रमण भएको भए बरु उतैका रक्षामन्त्री नेपाल आउनुपर्ने हुन्थ्यो । त्यसैले नेपालको तर्फबाट भारतमा हुनसक्ने भ्रमण परराष्ट्र वा गृहमन्त्रीबाहेक अहिलेको अवस्थामा अरुको हुनै नसक्ने परराष्ट्रविद्हरू बताउँछन् ।

यतिखेर गृहसचिवस्तरको बैठकमार्फत् सीमासम्बन्धी समस्या समाधानको कुरो अघि बढाउने भन्ने विषय ‘वर्किङ लेभल’ को भएकोले त्यसको पनि सम्भावना देखिँदैन । यस्तो बैठक कुनै सम्झौता वा समझदारी गर्ने अवस्थामा मात्र हुने गरेको छ । अहिले त्यस्तो सम्भावना पनि देखिँदैन । नेपालमा सीमा विवादको विषयले चर्को रूप लिएको र भारतको बुझाईमा काठमाडौंमा चीनको प्रभाव ह्वात्तै बढेकोले सामन्तको भ्रमण नेपाल र भारतबीच वार्ताको वातावरण बनाउनमै केन्द्रित हुने निश्कर्षमा सबैजसो एकमत देखिन्छन् ।

भारतको छिमेकी राष्ट्रहरूसँग सुमधुर सम्बन्ध छैन । पाकिस्तानसँग सँधै तिक्ततापूर्ण रहिआएको छ भने पछिल्लो अवस्था झन् बिग्रँदो दिशामा अघि बढेको छ । चीनसँग पनि सीमामा भएका सैन्य भिडन्तले सम्बन्धमा उतारचढावपूर्ण अवस्था आएको देखाउँछ । तुलनात्मक रूपमा राम्रो रहेको भनिएको नेपालसँगको सम्बन्धसमेत पछिल्लो एक वर्षदेखि हल न चलको अवस्थामा पुगेपछि भारतले यतैको सल्लाहमा सम्बन्ध सुधारकै लागि ‘र’ प्रमुखलाई एक्कासी काठमाडौं पठाएको अनुमान लगाइएको छ ।

विगतलाई हेर्दा नेपाल र भारतबीचको मित्रतापूर्ण सम्बन्धमा जस्तोसुकै उतारचढाव आउँदा पनि जासुसी संस्थाको प्रमुखले वायुसेनाको विमान प्रयोग गरी नेपाल भ्रमण गरेको सम्भवतः यो नै पहिलो घटना हो । ‘र’ का प्रमुखहरूले यसअघि गरेका अधिकांश भ्रमण गोप्य हुन्थे । तर,अहिलेको झैँ विशेष अर्थ राख्ने गरी कहिल्यै भ्रमण नभएको पूर्व सुरक्षाविद्हरू बताउँछन् । हुन तः भारतीय जासुस संस्थासँग आफ्नै विमानहरू पनि छन् । तर,आवश्यकताअनुसार ‘र’ का अधिकारीहरूले सेनाको विमान र हेलिकप्टर प्रयोग गर्नुलाई भारतमा अचम्म मानिँदैन ।

एक अर्को उच्च स्रोतका अनुसार गोयलले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कुरा हो तर नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई भने यसवारे जानकारी दिइएको छैन ।

प्रधानमन्त्रीसँग भेट नगरी अन्य नेताहरूलाई भेट्दा अर्कै रूपमा ब्याख्या हुनेतर्फ पनि भारतीय पक्ष सचेत रहेको बताइन्छ । त्यसैले प्रधानमन्त्रीसँगको भेटलाई उनीहरूले विशेष महत्व दिएका हुन् । सरकार प्रमुखसङ्ग सीधै भेटेपछि तल्तिर चियाइरहनै परेन ! रक्षा मन्त्रालय प्रधानमन्त्रीसङ्गै रहनु,”र” प्रमुख ओर्लिएकै दिन सुरक्षा परिषदको बैठक राखिनु,भारतीय स्थल सेनापति आउने तयारी चल्नु,कालापानीको नक्सासहितको पाठ्यपुस्तक बिध्यार्थीहरुलाई बाँड्न रोकिनु,अर्थ अनेक छन् ।

भ्रमणको उद्देश्य सीमासम्बन्धी विवाद हो भने उनले हाम्रा प्रधान सेनापतिलाई समेत भेट्नुपर्ने हुन्छ । सेनामा सीमासम्बन्धी नयाँ निर्देशनालयको गठन क्याबिनेटले दुई महिनाअघि नै गरिसकेको छ । अबदेखि सीमासम्बन्धी विवाद उत्पन्न भएमा उक्त निर्देशनालयले छुट्टै ढंगले अध्ययन र अनुसन्धान गर्नेछ भने कालान्तरमा सोही निर्देशनालयले नै सीमा सुरक्षासँग सम्बन्धित सबै अभिलेखलाई अपडेट गर्ने गरी कार्य अघि बढाइएको बताइन्छ ।
–  यो सामाग्री जनआस्था बाट साभार गरिएको हो।