समाचार

कोरोना संक्रमणबाट वडा सदस्यसहित दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट वडा सदस्यसहित दुई जनाको मृत्यु

चितवनको खैरहनी नगरपालिकामा कोरोना संक्रमणबाट वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । 


खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४१ वर्षिय बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए ।

क्यान्सर रोगबाट पीडित रहेका पाण्डेलाई दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । गत चैतमा क्यान्सरको अप्रेसन गरेपछि तेस्रो पटक किमो चढाइएको थियो । स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यसअघि चितवनकै भरतपुर महानगरपालिका–२० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ का ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आईसीयूमा उपचार भईरहेका वेला शनिवार विहान उनको मृत्यु भएको हो । 

ADVERTISEMENT