समाचार स्वास्थ्य

नेपालमा पहिलो पटक कोरोना संक्रमणवाट चिकित्सकको मृत्यु

नेपालमा पहिलो पटक कोरोना संक्रमणवाट चिकित्सकको मृत्यु

कोरोना संक्रमणका कारण विहिवार एक चिकित्कसको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घट्ना हो ।

बाँकेको खजुरा गाउँपालिका–३ का  ५९ वर्षीय पुरुष चिकित्सकको भेरी अस्पतालमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल, सुर्खेतका चिकित्सक समेत रहेका उनलाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । असोज १ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई प्लाज्माका साथै रेमडिसिभिर चलाइएको थियो ।

योसँगै विगत २४ घण्टामा कोरोना संक्रमणबाट ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको छ ।

रुपन्देहीका ३, काठमाडौं, सुनसरी र बाँकेका २÷२, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, मोरङ र सुर्खेतका एक÷एक जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका रुपन्देहीको कोटहीमाई–८ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार दिउँसो फिभर क्लिनिकमा ल्याइएको थियो ।

रुपन्देहीको बुटवल उपमहानरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी उनी ज्वरो, श्वासप्रश्वासमा समस्या दिएर १२ गते अस्पताल भर्ना भएका थिए ।

रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका १ का ६५ वर्षीय पुरुषको बिहीबार युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया भएर सोमबार अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो ।

काठमाडौंको लाजिम्पाटका ७८ वर्षीय पुरुषको नर्भिक अस्पतालमा बिहीबार निधन भएको छ । उच्च रक्तचाप र टाउकोको समस्याबाट ग्रसित उनलाई कोरोना संक्रमण भएको ११ असोजमा पुष्टि भएको थियो भने निमोनिया भएर १२ गते अस्पताल भर्ना भएका थिए ।

काठमाडौंको लगनका ६८ वर्षीय पुरुषको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । कलेजोको समस्याले ३ असोजमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ४ गते पुष्टि भएको थियो ।

सुनसरीको इटहरी नगरपालिका ६ का ५६ वर्षीय पुरुषको बुधबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएका उनी विराट मेडिकल कलेजबाट रिफर भएर धरान पुगेका थिए ।

कोशी अस्पतालमा मृत्यु भएका मोरङ कारागारमा रहेका सुनसरीकै २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि बुधबार अस्पताल पु¥याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय पुरुषको बिहीबार नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको छ । १० गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि १२ गते अस्पताल भर्ना भएका थिए ।

यसैगरी, भक्तपुरको थिमीका ६८ वर्षीय पुरुष, ललितपुर महानगरपालिका–२०का ४८ वर्षीय पुरुष, धनुषको जनकपुर उपमहानगरपालिका २ का ६ वर्षीय बालक, रौतहटको ईशनाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुष, मोरङ्गको उर्लाबारी नगरपालिका २ की ८४ वर्षीया महिला, सुर्खेतको भेरिगंगा नगरपालिका ५ काी ७५ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

ADVERTISEMENT