अन्तरवार्ता भिडियो राजनीति

सभामुखको निर्विरोध चयन सार्वभौम संसदमाथि नै प्रश्न (भिडियोसहित)

सभामुखको निर्विरोध चयन सार्वभौम संसदमाथि नै प्रश्न (भिडियोसहित)

‘भ्रष्टाचार भनेको व्यक्तिको आचरणबाट आरम्भ हुन्छ । भ्रष्टाचार नियन्त्रणका लागि जिल्लादेखि केन्द्रसम्म थुप्रै सरकारी निकाय क्रियाशील छन् । यद्यपि भ्रष्टाचारको सञ्जाल यसरी बढेको छ कि गरिबी निवारणको नाराले गरिब नै सखाप हुने अवस्था आएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायको प्रमुख नै त्यसैमा लिप्त भएपछि कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ?’ पुराना राजनीतिज्ञ अखिलेश्वरप्रसाद सिंहको प्रश्न छ ।


वर्तमान राजनीतिज्ञहरुले ‘समाजवाद’लाई टाउकोमा लगाउने टोपीजस्तो बनाएका छन् । पूँजीवादका यन्त्र बोकेर समाजवादी नारा लगाउनु यो द्वैध चरित्रको पराकाष्ठा हो । पहेँलो जति सुन हुन्छ भन्ने उनीहरुमा भ्रम छ । कम्युनिष्टभित्र पनि विभिन्न दर्शनबाट आएकाहरुको जमघट भएकाले नेताहरुमै विचारको अन्र्तद्वन्द्व छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको फोवियाबाट मुक्त हुन नसकेकाहरुकै कारण समस्या विकासका बाधक बनेका छन् । 

एमसीसी विरुद्ध सतहमा आएका बहसप्रति सिंहको आफ्नै दृष्टिकोण छ । उनी भन्छन– ‘ऋण किमार्थ स्वीकार्नु हुँदैन । ऋणले हामीलाई श्रीलंका बनाउँछ । तर विकासका लागि आएको अनुदान घातक हुँदैन । अमेरिकी दूताबासले एमसीसी विकासप्रतिको साझेदारी हो भनिसकेपछि अरु तर्क, वितर्क, कुतर्क गर्नु उचित होइन । यदि एमसीसी अस्वीकार गर्ने हो भने भोलि हामीले जति नै विद्युत उत्पादन गरे पनि बाहिर निर्यात गर्न सक्दैनौं । नत्र भने बीरआई र एमसीसीका विषयमा जनमत संग्रह गरेर कुन उचित, कुन अनुचित छिनोफानो गरौं ।’ 

पञ्चायत कालमा अञ्चलाधीशको भूमिका निर्वाह गरिसकेका सिंह नेताहरुमा शासन अनुकूल चरित्रमा सुधार नआएको मूल्यांकन गर्छन् । यस्तो पारदर्शी युगमा पनि नेताहरुमा त्यो आचरण नदेखिनु आश्चर्य नै हो । पञ्चायतमा भ्रष्टाचार भएपनि यस्तो खुलेआम अवस्था नरहेको उनको बुझाइ छ– ‘एउटा व्यवसायीका हितमा राज्यले निर्णय गर्ने यस्तो बेथितिले शासन व्यवस्थाकै बदनाम गर्छ ।

सरकारका फ्रन्टे डेस्क, जहाँ पैसा विना कारोवार नै हुँदैन । मालपोत जानुस् , धनी गरिब दुवै पीडित हुन्छन् । आर्थिक उत्पादनका बाटा शून्य बन्दै गएका छन् । जब पूँजी बजार निर्भर हुन्छ तर उद्योगधन्दा फस्टाउँदैनन भने मुलुकको आर्थिक अवस्था जर्जर हुने नै भयो । हामी रेमिट्यान्स भित्रिएकोमा गौरव गरिरहेका छौं तर रोगबाट ग्रसित जनशक्ति फर्किएर आउँदा देशले थेग्नुपर्ने धक्काका विषयमा हामीले विचार पुर्याउन सकेका छैनौं । पवित्र काम भन्दैमा मानिसले खाली पेटले भजन त गाउन सक्दैन नि ।’

सभामुखमा अग्नि सापकोटाको निर्विरोध चयन राजनीतिज्ञ सिंहलाई कति पनि चित्त बुझेको छैन । विधिको शासन पक्षमा यतिका बहस भइरहँदा न्यायालयमा मुद्दा विचाराधीन रहेको व्यक्तिलाई निर्विरोध सभामुख बनाउनु अनुचित हो । ‘यस्तो भएपछि सार्वभौम सम्पन्न संसदको अस्तित्व कसरी रहन सक्छ ? विभिन्न दलबाट आएका सांसदको भूमिका नै प्रश्न चिन्ह उठ्ने काम भयो ।’ उनी भन्छन् ।