विचार

नेता यता, भविष्य उता

नेता यता, भविष्य उता

‘भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर    झैं  गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासंगै उनी पनि सुत्न गइन । निद्रा कसरी लाग्थ्यो र ! दुवैका आँखा अघिल्तिर आकास घुमिरह्यो । आमाले बच्चाको आँखामा पुलुक्क हेरिन । बच्चाको अनुहारमा भोकको ज्वारभाटा दन्किरहेको देखिन्थ्यो ।

‘आमा, निद्रा आएन एउटा कथा सुनाउनुस न ।’ हाँसिरहेको चन्द्रमा हेरेर टोल्हाउँदै बच्चाले अनुरोध गर्‍यो ।

आमाले सोधिन– ‘चन्द्रमाको कथा सुन्छौ ?’ ‘उहूँ’

राजारानीको नि ‘उहूँ’

सुन्दर परीहरुको कथा सुन्छौ त ? सुन्दिन ।

त्यसो भए जादू बत्तीको कथा सुनाउँ ।

नाइँ आमा नाइँ कृपा गरेर बरु मलाई रोटीको कथा सुनाउनुस् न ।

छोराको आर्तनाद सुनेर विक्षिप्तजस्तै भएकी आमा उसलाई अँगालोमा बेरेर भक्कानिदै रुन थालिन । 

आफैंले जन्माएका सन्तान काखी च्यापेर बाउ, आमा त्रिशुली नदीमा किन हेलिन्छन ? भाडाका मान्छे लगाएर छोरीले जन्म दिने आमाको हत्या किन गराउँछे ? एक करोडको इन्सुरेन्स गराएपछि लोग्नेले जंगलमा लगेर स्वास्नी किन मार्छ ? घुस खाएकाहरु दिनैपिच्छे समातिएको छरपस्ट हुँदा पनि घुस खानेहरु किन बढ्दैछन ? आफूले घरमा पालेको कुकुर २४ घण्टा एक्लै छोडेमा जेल जानुपर्ने अमेरिकी कानुन बुझेको नेपाली यहाँ आएर बृद्ध बाउआमालाई बृद्धाश्रम छोडेर कसरी आदर्श जीवन बाँच्छ ?

यी संगीन घट्ना नेपाली समाजमा अनौपचारिक प्रश्न बनेका छन् । राजनीतिक कोर्सले यस्ता विषयवस्तु चिन्दैन । बौद्धिक वर्गलाई दलाली गरेर फुर्सद छैन । डाक्टर, न्यायाधीश, सीडीओ, फौजी समेत नेताका दूत भएर सेवामा हाजिर छन् । मन्त्रालयका सचिव अहिलेको कर्तव्यभन्दा पाँच वर्षपछि आफ्नै भविष्य बनाउन नेताको नशाभित्र रगत भएर बग्न शुरु गर्छन् । जब देशको कानुुन पल्टाउँदा अक्षर नभएर व्यक्तिको चित्र उपस्थित हुन्छ भने त्यो देशको भाग्यरेखा निश्चिन्त भएर भन्दा हुन्छ– पशुपतिनाथले पनि कोर्न सक्दैनन् ।  

गाई जुनसुकै रंगको किन नहोस, दूध त सेतै हुन्छ  । पेट सारंगी भएकाहरुका लागि एकमुठ्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो । न्याय राज्यको प्राणवायु हो । शासन प्रणाली मुटु, फोक्सो र किड्नी जस्तै हो । जसले हस्तक्षेप स्वीकार्दैन । उसले नेता चिन्दैन । बस, आफू चल्नका लागि स्वस्थ वातावरण चाहन्छ । पाँच सेकेण्ड फोक्सो, मुटु र मृगौलाले राजीनामा दिए भने के माक्र्स, लेनिन, माओ र समाजवादले त्यो काम गर्न सक्छ ? यही हो सत्यको जमिन ।

विशुद्ध सरकार चलाउनु भनेको पनि मुटु, फोक्सो र किडनीको संरक्षण गर्नुजस्तै हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरुलाई के थाहा ? सत्य मान्छेपिच्छे फरक हुँदैन । ती पटमूर्खहरु त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् । 

मेचीबाट छुटेको रात्रीबस सूर्योदय नहुँदै पश्चिम महाकाली टेक्ने भूगोल भएको देशका नेताहरु हातमा सीप नभएको सूचिकारले जथाभावी कपडा काटेजस्तो देश कित्ताकाट गरेपछि चौबाटोमा अल्मलिएको पथिक जस्तै बनेका छन् । विश्व नै सानो गाउँमा अनुवाद हुँदै गएको सत्यबाट विमुख यिनीहरु विश्वास एकातिर, कर्म अर्कातिर गर्न उत्प्रेरित छन् । आफ्नो अंश यता र वंश विदेशी भूमिमा रोपेका उनीहरुको दैनिकी नर्सरी पढ्ने नाति पनातिले पनि कुरीकुरी गर्ने खालको छ । घरको पारिवारिक सन्तुलन मिलाउन नसकेका यिनीहरु घरकै चुलो चौकोबाट बहिष्कृत भए भन्ने समाचार आएमा आश्चर्य नमाने हुन्छ । 

देश निर्माणका प्रमुख कालिगढ केपी ओलीका भाषण न निल्न सकिन्छ, न ओकल्न । औंसीको रातमा पूर्णिमाको गीत गाउनु उनको विशेषता हो । घाँटीमाथि मात्र चल्ने नेताको परिचय बनाएका यिनको अन्तिम गन्तव्य भनेको जीवनको उत्तराद्र्धमा आफ्नो नामको ट्रष्ट बनाएर एकाध दर्जन कार्यकर्ताको ‘बाउ’ बन्नु मात्र हो । अहंकार र प्रतिशोधीलाई त्यही आफूभित्रको अवगुणले सिध्याउँछ, कोही शत्रु लाग्नै पर्दैन । 

कांग्रेसजनहरु आफ्नै दलभित्र नागरिकताविहीन भएका छन् । पार्टी सभापति म्यानेजर नभएर खञ्जाची भएको पीडा उनीहरुले खेप्नु खेपेका छन् । केही बोले पखेटा काटिने भयले कार्यकर्ता तैं चुप मै चुपको अवस्थामा छन् । शेरबहादर देउवा नेता कम कमिसन एजेन्ट बढी हुन् । पैसा विना पार्टीको रथ २४ घण्टा पनि टिक्दैन भन्ने उनलाई घाँटीघाँटीसम्म थाहा छ । 

पुष्पकमल दाहाल त्यस्ता खेलाडी हुन, जसले चित र पोट दुवैतिर आफूलाई  स्थापित गराएका छन् । अंक गणितमा हारेपनि उनले अरु त के गिरिजाप्रसाद कोइरालाजस्ता चतुर खेलाडीको हातमा रहेको एक्का र बास्सालाई कैंटे दाउ हानेर गुलामले लडाएका छन् । युद्धकालमा भारतको पाहुना भएर नेपालमा खेल्ने, अहिले यहाँको सत्तामा टेकेर भारतसंग पौंठजोरीको अभिनय भ्रम छर्ने यसखाले चटकी थोरै राजनीतिक पात्रमा पाइन्छ । प्रचण्डसंगको संगतपछि एमाले र कांग्रेसको  राजनीतिक सिद्धान्त हिमालमा हराएको यत्ति मानवजस्तै भएको छ । निष्ठाविनाको राजनीतिका कारण क्रान्तिपछि प्राप्त भनिएका उपलब्धी छालाको थैलोभित्र हालिएका गंगाजल जस्तो भएका छन् । न खान सकिन्छ, न फाल्न नै । 

राजनीतिबाट खस्नेहरुका लागि गुरुत्वाकर्षण जिम्मेवार हुँदैन । यस स्थितिमा कुनै पनि प्रजातान्त्रिक भनिने नेताहरुका लागि नैतिकताको कति जमिन बाँकी रहन्छ, त्यो समयले बताउला । चीनमा एउटा उखान छ– ‘एउटा मात्र कुकुर कसैमाथि भुक्छ, बाँकी भुकेको आवाज सुनेर भुक्छन् ।’ नेताहरुको भुकाइ पनि त्यही हो । उनीहरुले बुझ्न जरुरी छ– ‘सफलताको सूत्र भाषणमा  नभएर रासनमा हुन्छ ।’  

अधर्मी मान्छे पुजारी हुँदैमा धार्मिक हुने होइन । बरु धार्मिक मान्छे पुजारी भयो भने देवताको साख बढ्छ । भक्त बढ्न मन्दिर ठूलो नभई देवता विश्वासी हुनुपर्छ । मान्छेको अनुहारको आयु दुई दशक पनि बाँकी रहँदैन तर असल विचार हजारौं हजार वर्षसम्म अजर अमर रहिरहन्छ । विचार पनि आखिर सुनजस्तै न हो, न यसमा खिया लाग्छ, न कहिल्यै पुरानो हुन्छ । लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर तेस्रो अगाडिको अवस्था सम्झिएर । नेताको ताल त जोक्करको जस्तो छ भने तिनीहरुले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ? 

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोर हिउँदमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन । बाघले आहारामा मृग छोडेको छैन । विरालाको नजरमा मूसा नै अर्जुनदृष्टिमा परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्प छोडेको छैन ।

झरी असार साउनमै बर्सिने हो । ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो ।  यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बद्लियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका सात अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु । 

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनीयर पाइलट बनाउनमा सोख राख्यौं । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ । अर्थात बाटोले बुढ्याउँछ । पोहोरको बसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन । पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ । तर त्यसको लेखा छैन । 

समय वित्नका लागि मात्र वित्दैन । यो नयाँ कामको लागि उत्तोलक पनि हो । नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ । भित्री आँखाले गुण दोष । 

एकैछिन बखान गरौं सौन्दर्यको । यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘बेश्या’ दरिए । समयको उडान अर्कैतिर मोडिएको छ । अब मौसमले पोशाक नभएर पोशाकले मौसम बद्ल्छ । फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुनपुग्छ । परिवर्तन आत्मसात नगर्ने हो भने डाइनोसरको नियति सवैको भाग्यमा लेखिने निश्चित छ । 

भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशिर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् । भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरुको सनकमा सञ्चालित हुने गरेको छ । त्यहाँका राजनेताहरुको व्यक्तित्व उठाउने या रसातलमा पुर्‍याउने कुराको निधो उनीहरुको गतिविधिमा भर पर्छ ।

एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरुको व्यक्तित्व नै निरीह बनाएको विगत छ । एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मार्लिन मुनरोजस्ता विश्व प्रसिद्ध अप्सराहरुको वर्णन पाउनु हुनेछ । जसका अगाडि शासकहरु समेत नतमस्तक बनेका थिए । माक्र्स–एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए । सौन्दर्यलाई यसैको सामथ्र्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति पनि हो । अझ यो भन्दा पर गएर भन्दा सन्तुलन पनि हो । 

समयअनुकूल आफूलाई उभ्याउनु पर्छ । समयलाई सापेक्ष रुपमा स्वीकार्नु पर्छ ।  समयलाई मौसममा नभई मनमा भित्र्याउनु पर्छ । मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ । नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुनपुग्छ । मिलनको धड्कन र विरहको वेदना नै प्रेमको जमिन हो । यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ । यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला ? माधव घिमिरेका यी पंक्तिले त्यही सन्देश प्रवाह गरेका छन्–
 

बैंशको मीठो कण्ठले कसको दिल छुँदैन्
प्रीतिको फूल नफुल्ने मुलुक कुनै हुँदैन । 

 

कालिगढ प्राणवायु सत्य