मुख्य समाचार

एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

काठमाडौंः आज बिहान मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । 

मकवानपुरको उत्तरी थाहा नगरपालिका–४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए ।

मृतक ८ जना बिहान अर्धचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा ल्याइएको थियो । 

कोठाभित्र झ्याल ढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले जानकारी दिए । 

दुईजना बस्नुपर्ने कोठामा ८ जना बसेको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने थाहा नगर होटल ब्यवसायी संघका अध्यक्ष शिवराम खत्रीले बताए । १५ जनाको समूहमा दामान पालुङ घुम्न आएको भारतीय नागरिकमध्ये एउटा कोठामा सातजना अर्कोमा ८ जनाले रात बिताएका थिए । 

एभरेष्ट पानोरमा रिसोर्ट भारतीय पर्यटक