समाचार

प्रधानमन्त्री ओली र मोदीले भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गर्ने

प्रधानमन्त्री ओली र मोदीले भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गर्ने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्रीद्वय ओली र मोदीले माघ ७ मा संयुक्त रूपमा आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओली सिंहदरबारको वार रुमबाट र मोदीले दिल्लीबाटै भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए।

उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय सहयोगमा ०७२ सालको भूकम्पले क्षतिग्रस्त गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।

यसअघि गत सेप्टेम्बर १० मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाकाे भारतीय प्रधानमन्त्री माेदीले दिल्लीबाटै तथा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै भिडियाे कन्फ्रेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका थिए ।