विचार

पञ्चायती बोतलमा गणतान्त्रिक रक्सी

पञ्चायती बोतलमा गणतान्त्रिक रक्सी

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ ।

कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् ।

युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् ।

कालिदास : म पाहुना हुँ ।

युवती : संसारमा पाहुना दुई मात्र छन । पहिलो धन, दोस्रो यौवन । यिनीहरु आउन, जान समय लाग्दैन ।

कालिदास : म सहनशील हुँ । अब त पानी दिनुस् ।

युवती : झूट । सहनशील पनि दुई नै छन् । पहिलो पृथ्वी, दोस्रो वृक्ष । पृथ्वीले पापी धर्मात्मा दुवै बोक्छिन, वृक्षले ढुंगा हान्नेलाई पनि फल दिन्छ ।

कालिदास : म हठी हुँ, अब त भो ।

युवती : फेरि ठग्नु भो । हठी त नङ र कपाल हुन, जो जति काटे पनि पलाउन छोड्दैनन् ।

कालिदास : म मूर्ख हुँ ।

युवती : मूर्ख असम्भव । सवैभन्दा ठूलो मुर्ख भनेको शासक हो । जसले आफ्नो अयोग्यताको बाबजुद् योग्यहरुमाथि शासन गर्छ । अर्का मूर्ख उनीहरुका वरपरका भजन मण्डली हुन । जसले शासक खुशी बनाउन झूठलाई पनि सत्यको जामा लगाएर सही सावित गर्न खोज्छन् ।

युवती : उठ्नुस महाशय । संवादबाट कायल कालिदास मुन्टो उठाएर यसो हेर्छन त साक्षात सरस्वती देवीको अवतार ।

सरस्वती : शिक्षाबाट अहंकार नभएर ज्ञान हासिल गर्नुपर्छ । शिक्षाको बलबाट प्राप्त मान र प्रतिष्ठालाई नै उपलब्धि मानेर तिमीले घमण्ड गर्‍यौ । यसकारण तिम्रो तेस्रो नेत्र खोल्न म उपस्थित भएकी हुँ ।

 २००७ साल यता नेपालमा ६८ वटा सरकार बने । १३ सयले मन्त्रीको जागिर खाए । आफ्नो दलका नेता कार्यकर्ताले जागिर खाएका बेला देशको कायाकल्प भएको आत्मरतिमा ती दलका नन्दी, भृंगी, चण्डमुण्ड उफ्रिए पनि यो देशको राजनीतिले जनताको भावना कहिल्यै स्पर्श गरेन । कुर्सीमा पुग्नेहरु बेतुकका कालिदास प्रमाणित भए ।  भारत र चीनमा पानी पर्दा यहाँ छाता ओढ्नेहरु देशका मार्गदर्शक भए । लोकतन्त्रको व्याख्या सामाजिक सन्तुलनमा नभएर नेताहरुको ओठे जवाफमा अनुवाद हुँदै आयो ।

दूरदर्शी नेता भनिएका बीपी कोइराला समेत इन्दिरा गान्धीको निरंकुश चेपुवामा परेपछि राष्ट्रियताको सवालमा राजासंग घाँटी जोडिएको भन्दै स्वदेश फर्किए । जबकी २०१७ सालमा कू हुनुअघि नै राजासंग मिल्दा कांग्रेसको भलो हुन्छ भन्ने मत राख्दै आएका सुवर्णशम्शेरको आवाजलाई कहिल्यै महत्व दिइएन । फलस्वरुप आफू अनुकूलको व्याख्या अपव्याख्याका कारण नेपालको राजनीति छाते च्याउभन्दा माथि उठ्न सकेन । नेपाललाई देशभन्दा स्वार्थको बजार बनाउन नेताहरुको सतप्रतिशत योगदान रह्यो । राजनीति गर्नेहरु जनताले नबुझ्ने राजनीतिक एजेण्डा लिएर मौसमजस्तै आउने र  जाने गरे ।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई एक हितैषीले पत्रिका छापिएको देखाउँदै भनेहेर्नु अन्य मानिस तपाईंको कति आलोचना गर्छन । तपाईं किन प्रतिवाद गर्नुहुन्न    लिंकनले सटीक जवाफ दिए– ‘वादप्रतिवादको चक्करमा परिहने हो भने देशको सेवा कहिले गर्नु  यदि मेरो कर्मले जनताको भलो भयो भने आलोचकको मुख आफैं बन्द हुन्छ, तर यदि म जनताको सुविधाप्रति बेखबर भएँ भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।

हो, फल नलागेको रुखमा कसले झट्टी हान्छ र ? तर आफूलाई आलोचनाभन्दा माथि राख्न खोज्नु भनेको ओरालो यात्राको प्रारम्भ हो भनेर बुझे हुन्छ । हिजोसम्म आफू चढेको हाँगा आफैं ठुन्क्याउन अघि सर्ने कालिदासहरु मन्त्री, प्रधानमन्त्री भएलगत्तै चाणक्य भएको भ्रममा उचालिन थाले । जमिन विनाको फूर्ति आखिर कुर्सी खोसिएको भोलिपल्ट मुसिको भवःमा परिणत भए । नरेन्द्र मोदी, सी जिनपिङको अर्ती उपदेशमा जडभरत भएका नेताहरुलाई आफ्नो सक्कली अनुहारमा आउन समेत कठिनाइ भएको छ ।

कसले पत्याउँछ यिनीहरु क्रान्तिवीर हुन भनेर । सर्वशक्तिमान भएर राजनीतिमा उदाएका प्रचण्ड एउटा फौजीको सिपाही निकाल्न नसक्दा आफैं पाखा लागे । पशुपतिको पुजारी फेर्दा भोग्नुपरेको प्रत्याक्रमणको चोटले क्रान्तिवीरहरुको मुखुण्डो उत्रिसकेको छ । एउटा सिपाही, हवल्दार फेर्न नसक्नेहरुले राजा फाल्यौं भनेर दिएको गफ र छेपाराको कथामा समान तौल छ ।

नेताहरुको यही तोरीलाहुरे प्रवृत्तिले देशको शरीर त चलेको छ तर शिरामा रगत छैन् । परनिर्भरताको नदीमा अर्थतन्त्र पौडी खेलिरहेको छ । आफ्नो मध्येको एउटालाई पोस्न देशको कानुन फेरिन्छ । शत्रुलाई सिध्याउन कानुन भुत्ते बनाइन्छ । बालुवाटारका प्रधानमन्त्री सर्वशक्तिवान बन्दा सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय जोक्कर बन्छ । अरु मन्त्रीले नरुचाएका, फाजिल, उब्रेका प्रशासक प्रधानमन्त्री कार्यालयमा डम्पिङ गरिन्छ । प्रधानमन्त्रीको बार्गेनिङ पावर बढाउन अप्राकृतिक निकाय प्रधानमन्त्री कार्यालय मातहत ल्याइन्छ । किन ल्याइयो ? सोध्नेहरुको पखेटा काटिन्छ । सरकारले भोटबाट प्राप्त प्राविधिक हैसियत त प्राप्त गर्यो । तर सामाजिक स्वीकृति टाढिँदै गयो । 

मुखियाहरुले आर्थिक समृद्धिको प्यारोडी गाइरहँदा राजश्व प्रक्षेपणको लक्ष्यबाट सरकारलाई ८० अर्बको धक्का लागेको समाचार आइरहेको छ । दुई दशकअघि नै ८ प्रतिशत आर्थिक विकासको अंक टेकेको देश दुई दशकपछि  धिपधिपमा छ । कार्यक्रम हैन खल्तीपिच्छे सपिङ लिस्ट बोक्ने नेता  भएपछि यो भन्दा परको परिणाम कल्पनासम्म गर्न सकिन्न । देश यस्तो असामान्य परिस्थितिमा गुज्रिंदा पनि हाम्रा गतिविधिहरु सामान्य छन् ।

दैनिक जनताको गोजीबाट खोसिएको करोडौं रुपियाँ भ्रष्टाचारीको पोल्टामा पुग्दा कसैलाई कर्तव्यको आगोले पोल्दैन । बरु राज्य संयन्त्र संगठित अपराधको चंगुलमा फसेको छ । भाषणमा क्रान्तिका स्वर अलापे पनि नेचर, कल्चर र सिग्नेचर फेर्ने हिम्मत कमैमा हुन्छ । नेपाल नै कायापलट गर्ने संकल्प बोकेका नेताहरु अन्ततः पञ्चायतको बोतलमा गणतन्त्रको रक्सी भर्नमा आनन्द लिइरहेका छन् ।

अरुप्रति कठोर वाण प्रहार गर्न खप्पीस हामी आफ्नै समाजमा रहेका भाइबन्धुका कठोर मौनताप्रति आँखा चिम्लन्छौं । जसरी फलामलाई आफूभित्रकै खियाले सिध्याउँछ, त्यसरी नेपाली समाज आफैंभित्रको भाइरसबाट थङ्थिलो बन्दैछ । संसार बदल्ने त कति जन्मिए कति तर आफूलाई बदल्ने साहस कसैले गर्न सकेनन् ।  गफको विकल्प काम कहिल्यै भएन । हुँदाहुँदा चिया पसल, भट्टीदेखि खाडीका भेडी गोठमा काम गर्ने नेपालीहरु समेत आफ्नो खाएर अरुमाथिको आक्रमणमा रमाइरहेका छन् । व्यक्तिपिच्छेका फेसबुक बुलेटिन आफ्ना अयोग्यता झल्काउने माध्यम बनेका छन् ।

भनिन्छ, अल्छीहरु आधा जिन्दगी के गर्ने भन्ने सोचाइमा बर्बाद गर्छन । र बाँकी जीवन गर्न नसकिएका कामको कारण खोज्दै विताउँछन रे ! त्यसैले असल कामको आरम्भ भएन भने अन्ततः पुगिने खराब कामको गन्तव्यमा नै हो ।  मानिस केही पाउनकै लागि स्तुति गर्छन । तर निन्दा भने निन्दाकै लागि गर्छन । मान्छे अर्काको राम्रो होइन नराम्रो भन्न र सुन्नमा रस लिन्छ । निन्दा रसिलो हुन्छ भने प्रशंसा निरस । अर्काको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ ।

राष्ट्रिय स्वाधीनताका नाममा चार हात उफ्रिने तर अलिकति गुलियो चाट्न पाउने वित्तिक्कै लत्रिने देशप्रेमको उखरमाउलोले धेरैलाई उकुसमुकुस पारेको छ । यही उकुसमुकुसमा सरकारका मन्त्रीहरु बेलगाम जे मुखमा आयो त्यही बोल्दै हिँडिरहेका छन् । सरकारी संयन्त्रले १०५ को एकलव्य रुटिनबाट तलमाथि जानुपर्ने दरकार सम्झिएको छैन् ।  सरकारभित्र थुप्रै सरकार छन् । सरकार बाहिर सरकारलाई होच्याउन गर्जन गर्नेहरुको ठूलो समूह छ । आमा नचाहिने, मामा नभई नहुने अनौठो संघीयताको अभ्यास भइरहेको छ । यी सवै मिलाउने भरलाग्दो राजनीतिक इन्जिनियर सतहमा देखिएको छैन् । 

खरानीबाट आगोको झिल्को उधिनेर उन्नति गरेका चीन, जापान, कोरिया, भियतनाम, पोल्याण्डजस्ता मुलुक चहर्‍याएको घाउमा कसरी मल्हम लगाउन सफल भए भन्ने आत्मज्ञानप्रतिको आकर्षण अहिलेको यक्ष विषय हो । मान्छेलाई आदिबासी, जनजाति, मधेशी, दलित, क्षेत्री बाहुनमा विभाजित गर्ने पण्डितहरु अभावबाट मुर्छितहरुको अवस्थासंग बेखबर छन् । प्रारब्धको यो झड्काले राजनीतिक दाउपेचभित्रको अपराधलाई चिराधरा पारेको छ । नेपाल र नेपालीको भाग्य विधाता आफूलाई ठान्ने भ्रम पालेको राजनीतिक नेतृत्व यी सवै दृश्यबाट सिताङ्ग बनेको छ । मुलुकमा साम्यवाद ल्याउन क्रान्तिका नाममा हजारौं मानिस मार्दा पनि एउटा रौं नझरेको बरु आफैं खुइलिँदै गएका नेताहरु बढ्दो  गरिबीले विशुद्ध साम्यवाद ल्याइदिएको देखेर तीन चित परेका छन् ।  विदुर नीति भन्छ

यद्धात्रा निजभालपट्टलिखितं स्तोकं महद्वा धनं

तत्प्राप्नोति मरुस्थलेकपि नितरां मेरौ ततो नाधिकम्

तद्धीरो भव वित्तवत्सु कृपणां वृत्तिं वृथा मा कृथाः

कूपे पश्य पयोनिधावपि घटो गुल्हाति तुल्यं जलम् ।

अर्थात भाग्यले निधारमा धेर थोर जे जति धन पाउँछ भनी कोरिदिएको छ, त्यति धन मरुभूमिमा गएपनि मनुष्यले अवश्य पाउँछ । त्योभन्दा बढी सुमेरु पर्वतमा गएपनि पाउँदैन । तसर्थ धैर्य गर, धनीहरु कहाँ गएर दयाको भीख नमाग । हेर, इनार र समुद्र जहाँ थापेपनि गाग्रीमा भरिने पानी उत्ति नै हो ।

अबको घडी निर्माणको घडी हो । टुटेको मन जोड्ने संकल्प एकमात्र एकलव्य बाटो हो । राजनीतिक झण्डा बोकेर नेपाली मन बिथोल्ने विरुद्धको खबरदारी सवैको समान कर्तव्य हो । देश विकास विदेशी अनुदानले भएको उदाहरण संसारमा कतै छैन । आफ्नै श्रम, सीप र जाँगरबाट मात्र त्यो सम्भव छ । 

अब्राहम लिंकन कालिदास विदुर नीति