विचार

श्राद्ध गर्न प्रायोजक खोजौं

श्राद्ध गर्न प्रायोजक खोजौं

दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन ।  घुम्दै गर्दा भाइले दाजुको खुट्टा कुल्चिन पुगेछ । दुखेको आवेगमा दाजुले भाइलाई एक थप्पड लगाएछ ।  केही नभनी भाइले नदीको किनारको बालुवामा लेख्यो– ‘मैले अनजानमा  खुट्टा कुल्चिदा दाजुले मलाई एक थप्पड हिर्काउनु भयो ।’भोलिपल्ट दुवै नुहाउन नदीतट पुगेछन् । नुहाउने क्रममा भाइलाई नदीले बगायो । हत्तपत्त दाजु पौडी खेलेर भाइलाई बचायो । केहीबेर पछि भाइ सामान्य अवस्थामा आयो । उसले गम्भीर हुँदै नजिकै रहेको ढुंगामा लेख्यो– ‘धन्य, मेरो दाजुले मलाई कालको मुखबाट बचाउनु भयो ।’  

दाजुलाई भाइको व्यवहार अनौठो लागिरहेको थियो । उसले भाइसंग सोध्यो– ‘हिजो मैले तिमीलाई थप्पड हान्दा बालुवामा लेखेका थियौ । तर आज मैले पानीबाट उद्धार गरेको चाहिँ किन ढुंगामा लेखेको ?’ दाजुको प्रश्न सुनेपछि भाइ भन्न थाल्यो– ‘आमाले भन्नु भएको जिन्दगीमा भएका नराम्रा कुरा बालुवामा लेख्नु पर्छ । जसले गर्दा ती घट्ना छिट्टै बिर्सियोस् । अनि राम्रा कुराहरुलाई ढुंगामा लेख्नु पर्छ, ताकी ती सधैं कालजयी भएर रहिरहुन ।’
भाइको कुरा सुनेर मुस्कुराउँदै दाजुले सोच्यो– ‘कति बुद्धिमानी भएछ मेरो फुच्चे भाइ ।’

६० वर्षअघि राजा महेन्द्रले अमेरिका भ्रमण गर्दा राष्ट्रपति आइजनहावरसंग दुईवटा सहयोग मागेका थिए । पहिलो आफ्नो पिताजीको नाममा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको स्तरोन्नतिमा अमेरिकी सहायता र अर्को अमेरिकी लेखापरीक्षण विज्ञ । वीपी कोइराला नेतृत्वको सरकार ‘कू’ गर्ने मानसिकतामा रहेका महेन्द्रले आर्थिक रुपमा सरकारलाई बद्नाम प्रमाणित गर्न अमेरिकी विज्ञ मागेका थिए । त्यतिमात्र हैन, रुसी शासन ख्रुश्चेभले संयुक्त राष्ट्रसंघमा तीनवटा महासचिव हुनुपर्छ भन्ने प्रस्ताव राख्दा वीपी कोइरालाले ठाडै अस्वीकार गरेका थिए । वीपीसंग रिसाएका ख्रुश्चेभले भनेका थिए– ‘यतिबेला तिम्रो राजासंग भएको सुमधुर भेट सम्झिरहेको छु ।’ मृतसागरमा राजा महेन्द्र र ख्रुश्चेभबीच भएको भेटमा खु्रश्चेभले राजालाई डुंगा उपहार दिएका थिए । 

६ दशक राजनीतिक यात्रापछि पनि हामी ढुंगामा लेख्नुपर्ने घट्ना बालुवामा र बालुवामा लेख्ने विषय ढुंगामा कुँद्ने होडमा छौं । त्यो समयमा आफ्नालाई सेक्न अमेरिकी सरकारसंग अडिटर माग्ने नेपालको राजनीतिक मनोविज्ञान अहिले अमेरिकी सरकारले घोषणा गरेको सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा आइपुग्दा पनि समभाव देखिन्छ । पहिला आफ्नैलाई दोषी प्रमाणित गर्न अडिटर माग्यौं, अहिले मिलिजुली खान तिम्रो अडिटिङ चाहिँदैन भन्दैछौं । भरोसा त आफ्नो इमानको हुनुपर्छ , हिसावको होइन । देश अरुले बनाइदेला भन्ने रोगको उपचार नहुनु नै सवैभन्दा ठूलो समस्या हो । बाउको श्राद्ध गर्न पनि प्रायोजक खोज्ने संस्कृति अन्त्य नभएसम्म समृद्धि मीठो चुट्किला बनेर इतिहासको पाहुना हुनेछ । पाइलट जतिसुकै सक्षम भएपनि जहाज पुरानो छ भने गन्तव्य निश्चित हुँदैन । अझ केपी र पीकेको मित्रता त्यो हात्तीको जस्तो भएको छ झगडा गरेपनि बाली नास, मिलेर सुतेपनि बालीकै दोहोलो ।  

भारतले नाकाबन्दी गरेपछि नेपालीले फेसबुके राजनीति छोडेर पाखुरी बजार्न थालेको भए तपसिलका गलफत्तीमा फस्न जरुरी नै हुने थिएन । त्यो बेला  राष्ट्रिय झण्डाले लपेटिएका फोटाहरु सामाजिक सञ्जालमा पोतेका युवाहरुले लाटोले बाउ घुक्र्याएजस्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि खनिनुमा आफ्नो वीरता देखे । आफ्नो देशका नेताहरुलाई सरापे । बरु १ लिटर तेल पाउन चारदिनको निद्रा मारे तर निर्भरताको अध्याय थाल्ने जाँगर कतै देखिएन । अघिल्लो वर्ष झण्डै १० करोड रुपियाँको कोदो नेपाल भित्रियो । त्यही कोदोबाट बनाइएको जाँड धोकेर उल्टो भारत, अमेरिका, चीनलाई सराप्नेहरुको संख्या बढ्दै जाँदा आफ्नो कर्तव्यको समीक्षा गर्नेहरु घट्दै गए । 

चैतमा हलोका सियोमा मकै छरेर भारत पसेको एउटा ठिटो ५ महिनापछि मकैको बोट हेरेर आश्चर्यचकित हुँदै ‘ए लम्बा लम्बा पतेवाला पेड क्या हे’ भनेर आश्चर्य मान्ने पाखण्डी तोरीलाउरेहरु उल्टै यहाँको राजनीतिमा राजहाँस बने । फलस्वरुप सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली ठहर्दै आएका छन् । देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर छन् । कालो कोट लगाउने वकिलहरु वकालतमा भन्दा जग्गा बेचबिखनको धन्दामा जमेका छन् । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाह दिन धेरै विक्छ । सम्पत्तिका नाममा जसको एउटा  चिउरा मिल पनि छैन, उनीहरु निजीक्षेत्रका नेता बनेका छन् ।

राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरु मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भएका छन् । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकेर स्वघोषित बुद्धिजीवी भएर शहर पसेका छन् । एकातिर सामाजिक संरचनाका अवयवहरु यसरी विश्रृंखलित भएका छन भने अर्कातिर सिंहदरबार यस्तो ७८ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकलाल शेरहरु फर्किंदा रुझेको विरालो बन्दै निस्किएका छन् । प्रकारान्तरले त्रिलोकदर्शी झैं व्याख्या गरिने प्रधानमन्त्री केपी ओलीको अग्निपरीक्षा  मध्यान्तरमा पुगेको छ । दलका प्रधानमन्त्री त धेरै भएका छन् । तर सम्झिइने प्रधानमन्त्री बन्न सजिलो छैन् । नेताले कर्मचारीलाई गाली गलेर उम्किनु भनेको गाँजा खाएर गफ लाउनुजस्तै हो । 

निजामती सेवाको अभिभावकत्व ग्रहणसंगै जवाफदेही बनाउन सकियो भने सरकारको सफलता त्यहाँबाट शुरु हुन्छ । भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर सावित भइसकेको छ । यो फर्मूला विश्व दुई शक्ति राष्ट्रमा विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर विकाउनेहरुको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो । 

नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्छ । अहिले मात्र हैन, उहिल्यै देखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्ने विदेशी पथिकले पनि खेल्ने गरेको तथ्य भेटिन्छ । जसको परिणाम गल्ती र कमजोरीको पत्रा यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासंग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए ।  

कमजोरीलाई सच्याउने हैन, तासको किट्टी खेलका कप्टी खेलाडीजस्तो एक्का ट्रायल फोडेर अन्त्यमा एक्काजुट देखाएर अरुलाई विगार्ने अभ्यासमा पुरै राजनीति अभ्यस्त भयो । हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्नेहरु थुप्रै छन् । यसैको परिणाम  चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाईटबाट बिजुली बत्ती बाल्नेहरु समेत देखा परे । यिनीहरुलाई के थाहा ? घोडाको सुन्दर तस्वीर बनाउनु र तबेलामा घोडा पाल्नु आकास पातालको अन्तर छ । 

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ । कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन् । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ–  ‘सरकारले आफ्ना देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन् । स्वदेशी कुकुरहरु नै काम लाग्छन् ।’ 

पूरा विश्व ढुकुर मार्ने बन्दुकमा भर परिरहेका बेला मेसिन गन बनाउने गेहेन्द्रशम्शेरको उत्साहले निरन्तरता पाएको भए, चीनको इच्छाशक्ति जापानसम्म पुर्याएर युद्धविराम गराइदिएकोमा टंकप्रसाद आचार्यलाई नोबेल शान्ति पुरस्कार र लक्ष्मीप्रसाद देवकोटालाई नोबेल साहित्य पुरस्कार प्रदान गरिसकिएको हुने थियो । ती सुखद दिनको प्रारम्भ भइदिएको भए आज नेपाली शिष्ट, सभ्य, सुसंस्कृत नेपालका समृद्ध नागरिक बन्ने थिए । राज्य भनेको एउटा त्यस्तो अकाट्य शक्ति हो, जसले अहिले मात्र हैन, २० वर्षपछि जन्मिनेहरुको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ । 

नेताहरु थुन्ने पनि अरु नै, छुटाउने पनि अरु नै । कुर्सीमा आसिन गराउने पनि अरु, खँदार्ने पनि अरु नै । शायद मर्दहरु नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेताहरु महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए । 

पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाई नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ । आशा छ– तपाईंको तर्पmबाट मानवीय कर्म हुनेछ ।’ 

यता पद्मशम्शेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरुको माग सम्बोधन गर्नकै लागि नेहरुसंग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरुले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए । नेहरुले भनेका थिए– ‘तपाईंहरु के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि आफ्ना चारजना प्रतिनिधिहरु पठाएँ ।

जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरुले त तपाईंहरुले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए । तपाईंहरुले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरुले महाराजलाई एकान्तमै भेटेका थिए ।’ महाराजको भनाइ छ– ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तिमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ । 

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरुबाट ढाड्स प्राप्त जंगबहादुरले पहिले आपूmलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्याए । भाइहरुको विवाह राजा खलकसंग मात्र गराएनन, आफूलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति बलशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्दै गयो । 

मानिसहरु भन्छन–नेपालमा सुन महँगो छ । तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ । माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या लेखो लाएर साध्य छैन् । नागरिकका लागि राज्यले आधारभूत रुपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीका भरपर्दो साधन भएका छन् । नगरपालिकाले  आफैंंले आफैंलाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ ।

युरोपियन युनियन भएर एउटै मुद्रा एउटै कानुन चलाउने देशहरु नेपालमा संघीयता र धर्मको खेतीपाती चलाइरहेका छन् । उनीहरु एकाकार हुनु समयको माग हो भने पूर्वीय सभ्यताको जननी मानिने भारत वर्षको पुनर्पुष्टि गर्नु पनि हाम्रो दायित्व हो । वाल्मीकि, चाणक्य, बेदव्यास, कालिदासजस्ता कालजयी सम्पदा बोकेका हामी सभ्यताको नाममा प्लुटोतिर किन लहस्सिनु पर्यो र ? संसार एकाकार भएर अघि बढेका बेला घरखेत किन बाँड्नु पर्यो ? त्यसैले पानीलाई जमिन भनेर किलो ठोकाउनेहरुको बिगबिगीबाट मुलुकलाई बचाउनु अहिलेको कर्तव्य हो । कसलाई थाहा छैन– किलो जमिनमा ठोकिन्छ, पानीमा हैन् ।

राजा महेन्द्र अमेरिका वीपी कोइराला