हाम्रो पात्रो विज्ञापन
समाचार राजनीति

रेशम चौधरीलाई रिहा गराउने तयारीमा प्रचण्ड

रेशम चौधरीलाई रिहा गराउने तयारीमा प्रचण्ड

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सांसद रेशम चौधरी चाँडै जेलमुक्त हुने दाबी गरेका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघी महोत्सव तथा थारू संवत् २६४३ को अवसरमा आयोजित कार्यक्रममा  प्रचण्डले यस्तो दाबी गरेका हुन्। 

उनले थारू समुदायको हकहितका लागि लड्ने कम्युनिष्ट नेताहरुमा एकमात्र नेता आफू भएको बताए । झुटा अभियोगमा चौधरीलाई थुनामा राखिएको भन्दै थारूहरूले विरोध गरेको भन्दै उनले आफ्नै पहलमा चौधरी तत्काल जेलमुक्त हुने आश्वासनसमेत दिए ।

आफू प्रधानमन्त्री हुँदा चौधरीलाई दिल्लीमा गएर भेटेको र जेलमा पुगेरसमेत भेटेको भन्दै उनको रिहाइका लागि आफू लागिपरेको प्रचण्डको भनाइ छ ।

‘दिल्ली पुगेर र नेपालको जेलमा गएर पनि रेशम चौधरीलाई भेट्ने मै हुँ, ढुक्क हुनुहोस् उनी छुट्छन्,’ प्रचण्डले भने । प्रचण्डले धेरै थारूहरूलाई झुटा मुद्दा लगाएर राज्यका तर्फबाट थुनामा राखिएको भन्दै सबैलाई एकएक गर्दै रिहा गर्दै जाने आश्वासनसमेत दिए ।

थारू अगुवा लक्ष्मण थारूले कार्यक्रममै रेशम चौधरी जेलमुक्त नभए १५ माघबाट देशव्यापी आन्दोलन गर्ने बताएपछि प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

थारूले आगामी ७ माघमा उच्च अदालत दिपायलमा चौधरीको ज्यानमुद्दामा सुनुवाइ तय भएको र सो सुनुवाइपछि चौधरी नछुटे आन्दोलन गर्ने मञ्चबाटै चेतावनी दिएपछि प्रचण्डले आक्रोशपूर्ण भाषण गरेका छन् ।