समाचार अर्थ

चैतदेखि मोबाइल र विदेशबाट आउने कल सस्तो

चैतदेखि मोबाइल र विदेशबाट आउने कल सस्तो

सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्।

एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको 'अन्तरआबद्धता निर्देशिका- २०७६' चैत २० गतेदेखि लागु हुनेछ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, "त्यसपछि एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा गरिने कलको मूल्य घट्नेछ।"

दूरसञ्चार क्षेत्रको प्राविधिक भाषामा एउटा कम्पनीको सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा हुने कल स्थापित गराउने कार्यलाई अन्तरआबद्धता भनिन्छ। त्यसमा लाग्ने शुल्कलाई अन्तरआबद्धता शुल्क भनिन्छ।

इन्टरनेटको प्रयोग बढेसँगै पीएसटीएन भनिने ल्यान्डलाईन फोन वा मोबाइलबाट हुने कलमै कमी आउन थालेपछि कतिपय देशले यस्तो शुल्क नै हटाएको जानकारहरू बताउँछन्।

नेपालमा भने मोबाइल कलको मूल्य क्रमश: कम गर्ने सरकारी नीति अनुसार यस्तो शुल्क कम हुने गरी निर्देशिका ल्याइएको अधिकारीहरू बताउँछन्।