विदेश

इराकमा अमेरीकी सेनाको शिविरमा फेरि रकेट आक्रमण 

इराकमा अमेरीकी सेनाको शिविरमा फेरि रकेट आक्रमण 

एजेन्सी । इराकमा अमेरिकी सेनाको आधार शिविरमा फेरि रकेट आक्रमण भएको छ । अमेरिकी सेनाको शिविर रहेको बगदादको उत्तरी क्षेत्रस्थित हवाई बेस क्याम्पमा आक्रमण भएको अलजजिराले जनाएको छ ।

आक्रमणमा ४ जना इराकी सैनिक घाइते भएको बताइएको छ । बलाद एयरबेसमा रहेका अमेरिकी सेनाले आक्रमण हुनुअघि नै सो स्थान छाडिसकेको बुझिएको छ । रकेटबाट एयरबेसको प्रवेशद्वार र क्याम्पमा आक्रमण भएको जनाइएको छ । घाइते भएका सैनिक उक्त एयरबेसको प्रवेशद्वारामा ड्युटीमा थिए ।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। केही दिन अघिमात्रै इरानले इराकमा रहेको अमेरिकी आधार शिविरमा आक्रमण गरेको थियो । आक्रमणमा ८० जना अमेरिकी मारिएको इरानी मिडियाले दाबी गरेका थिए।

तर अमेरिकाले भने मानवीय क्षति नभएको बताएको थियो । अमेरिकी हवाई आक्रमणमा इरानी मेजर जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि इरानले बदला स्वरुप उक्त आक्रमण गरेको थियो ।