हाम्रो पात्रो विज्ञापन
भिडियो Breaking News कभर स्टोरी

ओली र प्रचण्डको द्वन्द्वले संसद् बन्धक ( भिडियोसहित)

ओली र प्रचण्डको द्वन्द्वले संसद् बन्धक ( भिडियोसहित)

सभामुख चयन हुन नसक्दा प्रतिनिधिसभा बैठक लगातार सूचना टाँस गरी स्थगित हुन थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ । एउटा पार्टीको आन्तरिक द्वन्द्वका कारण जनताका आवाज मुखरित हुने थलो संसद् प्रभावित नगर्न कांग्रेस आग्रह गरेको छ । 

कांग्रेस केन्द्रीय सदस्य एवम सांसद् डा. डीला संग्रौला भन्छिन्, ‘ यो नितान्त नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिचको झगडा हो । आफू अनुकुल सभामुख बनाउन उनीहरुले संसद्को धज्जी उडाएका छन् । यो संसदीय मूल्य मान्यता र संसदीय सर्वोच्चतामाथि कुठाराघात हो । हामीले प्रधानमन्त्रीसहित सो पार्टीका नेताहरुको ध्यानाकर्षण गराइसकेका छौं । नेकपामा कारण कानुन निर्माण र जनताका समस्या उजागर हुनेक्रम ठप्प भएको छ । ’

डा. संग्रौलाका अनुसार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु उपयुक्त हुन्छ । एक किसिमले भन्ने हो भने शिवमायामाथि ठूलो राजनीतिक हिंसा भएको छ ।  महिला भएका कारण पनि उनीमाथि अन्याय गरेको देखिन्छ । यसले नेकपाभित्र गुटगत प्रभाव कस्तो छ भन्ने पनि देखाएको छ । अझ स्पष्टरुपमा भन्ने हो भने दुई पार्टी अझै एक हुन सकेका छैनन् । 

कतिपयले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने वा नगर्ने विवादका कारण सभामुख चयनमा विवाद भएको भन्ने गरेका छन्, त्यो सत्य होइन । यसमा कुनै अन्तर्राष्ट्रिय शक्ति केन्द्रको द्वन्द्व छैन । 
एमसीसी नेपालको विकास र समृद्धिमा केन्द्रीत छ । यसमा दायाँबायाँ बहस नगरी सिधै पारित गर्नु नेपालको हीतमा छ । जुनसुकै सभामुख भएपनि संसद्ले यसलाई पारित गर्न ढिलाइ गर्नु हुँदैन ।

जहाँसम्म सरकारको कुरा छ, यसको नियत नै खराब भन्ने देखिन्छ । एकपछि अर्को गर्दै विवादास्पद विधेयक ल्याउनु सरकारको खरात सोचको प्रमाण हो । सूचना प्रविधि विधयकको नियत नै ठिक छैन । अझ बहुमतबाट संसदीय समितिबाट पारित हुनु विडम्बना हो । 

नेकपाका सांसदहरु स्वतन्त्र छैनन् । उनीहरुको मुखमा विर्को लागेको छ । पार्टीले जे निर्देशन गर्यो, त्यो मान्न उनीहरु बाध्य छन् । यो निरंकुश चरित्र हो । नागरिक अधिकार कुण्ठित गरी शासकको अधिकार लाद्न खोजे त्यसले विद्रोह ल्याउने छ ।