विचार

न भागियो, न जागियो

न भागियो, न जागियो

‘ओहो सुवर्णशम्शेर कत्रो धनी मानिस कलकत्तामा तपाईंले देख्नु नै भएको छैन् ।  भान्छाघर जहाँ चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरु । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र उहाँको पुस्तकालय पनि भव्य थियो । चट्ट गएर पुस्तकालयमा बस्यो, नोकरचाकर त्यहीँ नै आइरहन्थे । जे माग्यो त्यो ल्याइदिन्थे । अब त्यस्तो जीवन त विताउनै सक्दिन् । यति हुँदाहुँदै पनि सुवर्णशम्शेरजीको पीडा पनि मलाई थाहा छ । जसलाई तपाईं महान सुखी भन्ठान्नुहुन्छ, त्यो महान दुखी हुन्छ । सुवर्णजीको दुख हामीलाई थाहा छ । हामीलाई जति थाहा छ, त्यो भन्दा सयौं गुणा बढी उहाँलाई नै थाहा छ । उहाँको माहिला छोरा जसमाथि उहाँको सारा भर र विश्वास केन्द्रित थियो । तर, त्यही छोराको अल्पायुमै मृत्यु भयो ।’

आफ्नो स्मरणमा सुवर्णशम्शेरलाई यसरी अटाउने नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई स्वयं आफू कहाँ छन् , पत्तो छैन् । निष्काम, कर्मयोगका यी दिव्यपुरुष आखिर जीवनको उत्तराद्र्धमा न हाँसको चाल, न बकुल्लाको चालजस्तै परिचयविहीन बनाइए । सम्झाउनी विर्साउनीका रुपमा उनका नाममा रहेको आश्रम एउटा आस्थापुञ्ज धाम हुनुपर्नेमा एउटा क्लबको हैसियत पनि लिन सकेको छैन् ।  दुखका बेला पुरै कांग्रेस पार्टीलाई नै काँध हाल्ने सुवर्णशम्शेरको फोटोमा कांग्रेसजन फूल, अविर त धस्काउँछन् तर रुचिसाथ नाम लिँदैनन् । बीपी पत्नी सुशीला नाचेर कमाएको पैसाले चना किनेर कार्यकर्ता पाल्थिन् । भीमबहादुर तामाङ फूलमा पानी हाल्थे । गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले घरको खोले फाँडो जुटाउन पत्रिका बेच्ने कामसम्म पनि गरे ।

रेलमा भेटेर ल्याएको एउटा लावारिस केटोलाई बीपीले पढाई, बढाई भारतीय साहित्यको ज्वजल्यवान सितारा बनाए । जुन व्यक्ति फणिश्वरनाथ रेणुका नाममा भारतमा अजर अम्मर छ । रेणुले बीपी कोइरालाका अधिकांश पुस्तक हिन्दीमा अनुवाद गरेका छन् । तारिणीप्रसादका दौंतरी जसलाई बीपीले आफ्नै भाइको दर्जा दिएका थिए । रेणुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि ठूलो योगदान पुर्याएका थिए ।  शिव कंगाल वीपीको घरमा पाहुना भएर जाँदा चिया ल्याउन अर्हाउने खुमबहादुर भ्रष्टाचारको मुद्दामा पुलिस गेष्टहाउसको पाहुना हुँदै कांग्रेसजनले रुचाइएका नेतामा अनुवाद भएर पनि देवताका प्यारा भइसकेका छन् । उनको आतिथ्यमा चिया पिउने शिव कंगाल महाकंगाल भएर भीखको जिन्दगी बाँचिरहेका छन् । बीपीको सपनामा टेकेर आफ्नो सपना साकार बनाउनेहरु कांग्रेसभित्र समाजवादका व्याख्याता भएका छन् । उनीहरु हाक्काहाक्की भन्ने गर्छन– ‘मेरो जीत नै बीपीले कल्पना गरेको समाजवादको अन्तिम प्यारामिटर हो ।’ चुनावका बेला यो दृश्य झन् भद्दा रुपमा प्रकट हुने गर्छ । 

भोग विलास र सुख सुविधामा हैन, नेताको उचाई इमान्दारी र निष्ठामा चहकिलो बन्दै जान्छ । त्याग नेतालाई खार्ने अचुक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका छन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्शन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन् ।

दुखको छायाँले कस्को जीवन रुझेको छैन र ? युगपुरुष कहलिएका महात्मा गान्धी आफ्नो बाल्यकालको जीवनगाथा यसरी प्रकट गर्छन्– ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन् । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन् । मलाई लाग्यो– मैले यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिठ्ठी दिँदा मेरा हात कामेका थिए । उहाँले चिठ्ठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुझें । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रो संग तयार गर्न सक्थें ।’

म्याक्सिम गोर्की आफू भात खान नपाएर मरे तर उनले आफ्नो ख्याती आमा कृतिमार्फत संसारका हरेकको जीब्रोमा स्थापित गराए । लोभ अपराधको जननी हो । यदि अम्लेठ खानेले अण्डाको माया गर्यो भने के हुन्छ ? सम्पतिसंगको साइनो र राजनीतिक ब्रतबीचको अन्तर पनि यही नै हो ।  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातीमा थुप्रै ठेली तयार भएका छन् । यदि देवकोटा नामको जमिन नेपाली साहित्यमा स्थापित नहुँदो हो त सानै भुइँचालोले धेरै क्षति गथ्र्यो होला । तर सिद्धहस्त देवकोटाले मैनजस्तै आफू जलेर भएपनि शब्दको उज्यालो छरे । जीवनको उत्तराद्र्धमा कहालिलाग्दो जीवन भोगेका उनी आखिर श्रीकृष्ण रहेछ एकको निष्कर्षमा मात्र पुगेनन् कि बाँच्नुको पीडा सहन गर्न नसकेर मृत्युको भीख माग्थे । उनले त्यो तीतोलाई यसरी पोखेका छन्– ‘मैले आफूलाई शान्ति दिन सकिन । म उठ्न सके आफैं आत्महत्या गर्ने थिएँ । अनि मेरा बालबच्चालाई पनि.....। म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न । अरुले मलाई बुद्धिजीवी भनेतापनि म आफ्नो निम्ति मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्दछु तर अन्धकारले मलाई बोलाइरहन्छ । म त्यो असह्य वेदना खप्न सक्दिन । पोटासियम साइनाइट दिए म उसलाई जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले म अपराध मेटन चाहन्छु ।’

रिचार्ड निक्सन अमेरिकी इतिहासमै नैतिक पतन र भ्रष्ट व्यक्ति भनेर चिनिन्छन् । उनले विवाहित छोरीहरुलाई घर किन्न राज्यकोषबाट एक करोड डलर खर्च गरेका थिए । यसैगरी ज्वाइँको घर सुरक्षाका लागि ३६ लाख डलर राज्यकोषबाट खर्चिएका थिए ।  २७ वटा जेट विमानमा दुई सय परिवार सदस्यलाई लिएर उनी सयरमा निस्कन्थे । तर त्यही देशका अर्का राष्ट्रपति जोन अफ केनेडी थुक लगाएर चिठ्ठी पठाउँथे । निक्सनभन्दा अघिल्ला राष्ट्रपति लिन्डन बी जोहनसनको परिवार कहिल्यै हवाई सेवा उपयोग गर्दैनथ्यो । उनीहरु निजी या व्यावसायिक उडान गर्थे । गीतामा भनिएको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसंग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन ।’

कोलम्बस जहाजी डाकू थिए । मार्कोपोलोको पुस्तक पढेर उनलाई पृथ्वी गोलो छ भन्ने विश्वास भयो । उनले सोचे– भारत पश्चिम तर्फबाट चाँडै पुगिन्छ । त्यसबेला युरोपियनहरु पृथ्वीमा एक तिहाई भाग पानी र दुई तिहाई भाग भूगोल छ भन्ठान्थे । उनीहरुलाई प्रशान्त महासागर र अमेरिकी महाद्वीप छ भन्ने थाहा थिएन । यद्यपि भारतको खजाना युरोप लानु नै एकमात्र उद्देश्य थियो । यसैका लागि सन् १४९२ मा उनी निस्किए । ३६ दिनको जहाजी यात्रापछि उनीहरुसंग गएका जहाजीले चिच्याए– धरती धरती । ३ जहाज नाविक, एक वर्षका लागि खाना, विनिमयका लागि थुप्रै साधन, जल सेनापतिको पदवी र पत्ता लागेको ठाउँको उपनरेश । तर उनीहरुको गलत गणनाका कारण भारत नपुगी क्यारेवियन द्विप पुगे । जसलाई हाल वेष्ट इण्डिज भनिन्छ ।

जो कसैको कुरा सुन्दैन त्यो पनि असफल । जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन । तर त्यो वर्ग भडखारोमा परेर अहिले मासुभात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । ज्ञानीहरुको बुझाइमा आफूसंग जे छैन, त्यो विर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाउँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रुपमा समर्पित हुने मान्छे आफ्नै आँखा अगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ ।

जबसम्म पाप पाक्दैन तबसम्म मिठो हुन्छ । तर फल लाग्न थालेपछि भने पीडा दिन्छ । राजा जनकको प्रवृतिपथ धनको बीचमा रहुन, पलायनवादी संस्कृतिको जन्म नदेउ । जंगलमा भागेर केही बन्ने वाला छैन । व्यक्तिको आचरण वा लोकापवादबाट लागेको दुख होस सारा कुराको निवारण भाग्नेबाट नभई जाग्नेबाट हुन्छ । असन्तुलित तरिकाले प्रयोग गरिएका अवैज्ञानिक क्रियाकलापहरुलाई बुद्धले तोड्न चाहेका एक राजाको छोरा बुद्धमा परिणत भयो । अन्यथा त्यो मानव राजकुमार हुन्थ्यो ।

यहुदी समाजमा मानवीय इच्छाहरुलाई दबाउने जस्ता क्रियाकलापहरु नभएका भए जिसस क्राइष्टको जन्म हुने थिएन । यहुदीले खडा गरेको सामाजिक बन्धनलाई तोड्नका लागि एक साधारण कार्पेन्टर भएर जिन्दगी गुजार्न क्रियाशील युवक जिसस् बन्नु परेको थियो । स्वतन्त्र अवस्थाको कुनै आकार प्रकार हुदैन । आकार प्रकार नभई प्रणाली बन्दैन । प्रणाली नभई मानव समाज चल्दैन ।  किनकी प्रणाली नभई नीति नियम बन्दैनन् । त्यसैले त पागल स्वतन्त्र हुन्छ तर साधारण मानिस स्वतन्त्र हुँदैन ।

सुवर्णशम्शेर कृष्णप्रसाद भट्टराई म्याक्सिम गोर्की