खेल

आजदेखि यू–१९ एसिया कप, पहिलो दिनमा दुइटा खेल हुँदै

आजदेखि यू–१९ एसिया कप, पहिलो दिनमा दुइटा खेल हुँदै

काठमाडौं । एसीसी यू–९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेत तथा अर्को खेलमा अफगानिस्तान र पाकिस्तान खेल्दै छन् ।

नेपालले पहिलो खेल शुक्रबार आयोजक श्रीलंकाविरुद्ध खेल्ने छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । विनोद दासको प्रशिक्षणमा रहेको यू–१९ नेपाली टोलीको कप्तानमा रोहितकुमार पौडेल छन् ।

टोलीका अन्य खेलाडीहरुमा रीत गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सूर्य तामाङ, लोकेश बम र प्रतिस जिसी रहेका छन् ।

ब्याटिङ कन्सल्टेन्टमा अपुर्भ देसाई, ब्यवस्थापकमा राजु खड्का, फिजियोमा बिक्रम न्यौपाने र फिटनेस ट्रेनरमा सुवास पात्रो रहेका छन् ।

एसिया कप क्रिकेट