अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

ओली र प्रचण्ड संघीयता समाप्त पार्ने  खेलमा (भिडियोसहित ) 

ओली र प्रचण्ड संघीयता समाप्त पार्ने  खेलमा (भिडियोसहित ) 

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर उपचारमा जानुपूर्व सर्वदलिय बैठक गरी संविधान जारी गर्ने शक्तिहरु एकजुट हुन आह्वान गरेको हप्ता दिन नबित्दै राष्ट्रिय जनता पार्टी (राजपा) ले उनीमाथि गम्भीर आरोप लगाएको छ । 

नेपाल आजसंगको विशेष साक्षात्कारमा राजपा महासचिव मनिषकुमारले प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियोजितरुपमा संघीयता समाप्त पार्ने दाउमा लागेको आरोप लगाए । उनले भने, ‘ विगतमा पनि ओली र प्रचण्डको भूमीका संघीयता विरोधी थियो । अहिले बिस्तारै संघीयतालाई असफल पार्ने गतिविधिमा उनीहरु सक्रिय हुँदैछन् । ओली र प्रचण्ड मात्र होइन, समग्र नेकपा पार्टी नै संघीयता समाप्त पार्न लागिरहेको छ । ’

नेता सुमनका अनुसार अहिलेको सरकार कुनैपनि हिसाबले जनमुखी छैन । भ्रष्टाचारले सीमा नाघेको छ । नेकपाकै ठूलाठूला नेताहरुको नाम भ्रष्ट्राचारमा मुछिदासमेत सरकार मौन छ । महङ्गी उस्तै छ । राज्यका प्रत्येक निकाय कार्यकर्ता भर्ती केन्द्र बनेका छन् । प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गरी तानाशाही चरित्र देखाएका छन् । राजपाले संविधान संशोधनसहित राखेका विभिन्न मागहरु वेवास्ता गरिएको छ । 

कात्तिकपछि आन्दोलन

यसकारण, अब सडक आन्दोलनको विकल्प छैन । कात्तिकमा पार्टीको महाधिवेशन सकिएपछि यो सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी सृजना हुनेछ ।  आन्दोलन हिंसात्मक होला, मानविय क्षति होला भनेर यो बेथिती टुलुटुलु हेरेर बसिदैन, सबै प्रजातान्त्रिक शक्ति एकजुट भएर आन्दोलनमा होमिनेछन् । 

राजपाले सुरु गर्ने यो आन्दोलनमा  कांग्रेस, राप्रपा लगायतका शक्ति पनि थपिनेछन् । विधिपूर्वक नचल्ने सरकारलाई सडकबाटै तह लगाउने प्रयास हुनेछ । सरकार जति निरंकुश शैलीमा अघि बढ्न खोज्यो, त्यति नै ठूलो धक्का दिइनेछ । 

भ्रष्टाचारमा मिलेमतो

तर, प्रतिपक्षी नेपाली कांग्रेसको भूमिकाप्रति भने महासचिव सुमन असन्तुष्ट छन् । उनी भन्छन्, ‘ कांग्रेसको भूमिका सन्देहात्मक छ । कांग्रेस नेतृत्व र नेकपा नेतृत्वबीच मिलिभगत  । यीनीहरु मिलेरै भ्रष्टाचार गर्छन् । होइन भने कांग्रेस किन बोल्दैन ? प्रतिपक्षी दलको अनुपस्थितिमा संवैधानिक परिषद्ले निर्णय गर्दा पनि कांग्रेस किन बोल्दैन ? कांग्रेस र सरकारको साँठगाँठ छ भनेर किन नभन्ने ?’

महासचिव सुमनका अनुसार मुलुकको राज्य प्रणालीमा सधैं खस आर्य र ब«ाम्हणहरुको एकछत्र राज भयो । अब यो परिवर्तन गर्नुपर्छ । फरक जात र समुदायको मानिसलाई प्रधानमन्त्री बनाएर अब परीक्षण गर्नुपर्छ । मुलुकको मुहार फेर्न यो तरिका उपयोगी हुनसक्छ । यो तरिका अन्य निकायमा पनि लागु गर्नुपर्छ । 

एकता हल्ला मात्र 

राजपा र समाजवादी, नेपालबीचको एकता प्रक्रियामा कुनै प्रगति भएको छैन । पहिलो चरणमा पत्रको आदानप्रदान र राजपाले वार्ता समिति बनाउनु बाहेक एकता प्रक्रियाले कुनै ठोस लिएको छैन । 

नेता सुमनका अनुसार केही सैद्धान्तिक विषय स्पष्ट नभएसम्म एकता हुँदैन । जस्तै :

क ) राजपाले सरकारसंग नाता तोडेको छ, समाजवादी सरकारमै छ । 
ख ) राजपा मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ, समाजवादी पूर्ण समानुपातिक । 
ग) राजपा संसदबाट निर्वाचित राष्ट्रपतिको पक्षमा, समाजवादी प्रत्यक्ष निर्वाचितको पक्षमा । 

कम्तिमा यी सैद्धान्तिक विषय नमिलेसम्म पार्टी एकता हुँदैन । अझ, स्थानीयदेखि केन्द्रसम्म नेताहरुको व्यवस्थापन र जिम्मेवारीको विषयमा पनि सहमति हुनुपर्छ । 

समाजवादी मात्र नभइ अन्य बिभिन्न पार्टी र समूहसंग पनि एकता प्रक्रिया चलिरहेको छ । आफूलाई प्राप्त जिम्मेवारी अनुसार नेताहरु काममा खटिएका छन् । 

महाधिवेशन सर्न सक्छ

राजपाको महाधिवेशन कात्तिक २७, २८ र २९ गतेका लागि तोकिएको भएपनि यो सर्न सक्ने संकेत नेता सुमनले गरेका छन् । देशभर तल्ल तहका कमिटीको अधिवेशन बाँकी नै रहेको र अशोज महिना चाडवाडले भरिएकाले त्यसको अशर महाधिवेशनमा पर्न सक्ने उनी बताउँछन् । 

उनी भन्छन्, ‘ सकभर हामी तोकिएको मितिमै महाधिवेशन गर्न चाहन्छौं, केही परिस्थिति खडा भए, महाधिवेशन सर्न सक्छ, त्यो स्वभाविक कुरा हो । ’