विचार

समृद्धिको लागि कृषि सहकारी अभियान

समृद्धिको लागि कृषि सहकारी अभियान

-भोला खतिवडा
 
काठमाण्डाैँ । नेपाल सरकारले सार्वजनिक, निजि र सहकारी सहितको तिनखम्बे अर्थनीति आत्मसात गरेको छ । नेपालमा सहकारी विभिन्न किसिमका रहेका छन् । ती मध्ये एक कृषि सहकारी हो ।  सहकारीको संख्या धेरै तर गुणस्तरीय सेवामा कमी भैरहेको महशुस भैरहेको छ ।

त्यसैले सहकारीको संख्या कम तर सेवा गुणस्तरिय भन्ने अभियान कृषी सहकारीमा पनि चलिरहेको छ । नेपाल सरकारले आत्मसात गरेको “समृद्ध नेपाल सुखी नेपाली” भन्ने अवधारणालाई व्यवहारिक कार्यान्वयन गर्ने एक प्रमुख साधान  कृषि हो ।

यसलाई प्रवद्र्धन गर्ने काममा कृषि सहकारीहरु क्रियाशिल भैरहेका छन् । यस्ता उत्पादनमा आधारित सहकारी सञ्चालनका अवसर र विभिन्न चुनौतीहरु समेत देखापरिरहेका छन् ।

नेपाल सरकारले सहकारीको संख्या कम गर्ने अभियान अन्तरगत सहकारीहरु एकिकरण भैरहेका छन् । दोलखामा २ वटा कृषिसँग सम्वन्धित सहकारी संस्थाहरु एकिकरण भएका छन् । दोलखाको सदरमुकाममा रहेका चोथांग पशुपालन सहकारी र स्वआर्जन साना किसान सहकारी संस्था लिमिटेड एकिकृत गरी कारोवार थालनी गरेका छन् । लामो चरण पार गर्दै लामो इतिहास र पृष्ठभुमि वोकेको सहकारीहरु एकै भए ।   

२०६१ सालमा पँधेरोखोलादेखि वडारे सम्मको सिचाई कुलो मर्मतको सिलसिलामा जन्मेको समूहले मिश्रीत कृषक समूह नाम धारण ग-यो । १८ जनावाट सुरु भएको सानो समूहले २०६३ साल देखि प्रति व्यक्ति रु ३० वचत गरी आपसमा परिचालनको अवधारण सुरु गरेको थियो ।  

वचत अनी कृषि कार्यमा परिचालन भैरहेको थियो । यसलाई थप विस्तारको महशुस गरी २०६७ सालमा चोथांग पशुपालन कृषि सहकारी संस्थाको रुपमा विधिवत दर्ता भयो । अहिले यो सहकारीमा करिब ३ हजार सदस्यहरु रहेका छन् । करिव ९ करोड पुँजी रहेको छ ।

त्यसै गरी भीमेश्वर वडा नं. ६ कैं रामकोटमा रहेको सिम्पानी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको सामुहिक पहलवाट २०६२ माघ १० गतेका दिन सिम्पानी कृषि सहकारी संस्था स्थापना हुन पुग्यो । विस्तारै कार्य उद्देश्य र कार्यक्षेत्र समेत विस्तार गर्ने क्रममा २०६७ सालमा स्वआर्जन साना किसान सहकारी संस्था स्थापना भएको थियो ।

सहकारी एकिकरण गर्ने वेला सम्ममा १ हजार भन्दा वढि सदस्यहरु रहेका छन् । यस सहकारीमा ५ करोड पुँजी परिचालन भैरहेको छ । यी दुवै सहकारीका केही समान विशेषताहरु थिए । त्यही भएर दुवै संस्था प्रतिनिधित्व हुने गरी एक कार्यदल वनाई लामो गृह कार्य पश्चात २०७६ साल भाद्र ७ गते संयूक्त साधारण सभा गरी वैधानिक रुपमा एक भएको घोषणा गरेका छन् ।

सामान्यतय दुई संस्था एकिकरण गर्दा दुवै संस्थाको नाम जोडजाड गरी नाम राख्ने चलन धेरै छ । तर यी दुवै संस्था आफनो नामको अक्षरसँग कुनै तालमेल नैं नभएको तर विशेषता मिलेको नाम जुराए । भीमेश्वर नगरप्रमुख भरत वहादुर के.सी.को प्रमुख आतिथ्यता (रोहवर) मा पौरखी कृषी सहकारी संस्था नामाकरण सहित २ सहकारी एक भएको घोषणा गरे ।

यी दुई सहकारी एक हुनुमा यीनीहरुमा केही साझा विशेषताहरुले उत्प्रेरित गरेको थियो । यी दुवै संस्थाका नेतृत्वहरु सामुदायिक अभियानमा क्रियाशिल भएका अनी एकै वडाका वासिन्दा पनि ।  दुवै संस्था कृषीमा आधारित नैं थिए । एक पशुपालन अर्को साना किसान दुवै परिपुरक थिए । शेयर सदस्यहरु केही दुवै तिर रहेका थिए ।

साविक चोथांग पशुपाल सहकारी संस्थाका व्यवस्थापक हाल एकिकरण पछि पौरखी कृषि सहकारीका समेत व्यवस्थापकको भुमिका निर्वाह गरिरहेका सुरेशराज खतिवडाका अनुसार कृषीमा आधारित वित्तीय लगायतका सेवालाई थप गुणस्तरीय वनाउन, कृषी व्यवसायलाई व्यवसायिक वनाउन र कृषि सहकारीलाई सानो तथा कमजोर आँखाले हेर्ने गरिन्छ सोलाई चुनौती दिन दुई सहकारीहरु एकिकरण भएका हुन् ।

एकिकरणका लागि दुवै सहकारीका शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरुले लामै कसरत गर्नु परेको थियो । यो सिकाई र अहिलेको अवस्थावाट सहकारी क्षेत्रमा पौरखी कृषि सहकारीले विशिष्ट पहिचान दिन सक्ने कुरामा व्यवस्थापक खतिवडा विश्वस्त रहेका छन् । 

२०७६ भाद्र ७ गते शनिवारका दिन घेवापानीमा एक समारोह आयोजना गरी जनप्रतिनिधि, जिल्ला स्तरिय सहकारी अभियान्ता तथा सरोकारवालाहरुको सहभागीतामा दुवै सहकारीले अलग अलग साधारण सभा गरे । अनी संयूक्त सभा समेत गरे ।

संयुक्त सभाको उद्घाटन भीमेश्वर नगपालिकाका प्रमुख भरतवहादुर के.सी.ले गर्नु भएको थियो । यस समारोहमा उत्कृष्ट वचतकर्ता, असल ऋणी, उत्कृष्ट विधार्थी, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत गरिएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख के.सी.ले समृद्धिको साधान नैं कृषी भएको हुनाले नगरपालिकाले चासोपूर्वक काम गरिरहेको र यस कार्यमा निरन्तर सहकार्य गर्ने वचन दिनु भएको थियो ।

सभा चोथांग पशुपालन सहकारीको अध्यक्ष प्रेमसिंह लामावाट भएको थियो । संयूक्त साधारण सभावाट २७ वुँदे नीति तथा कार्यक्रम पारित गरेको छ । जस अनुसार स्थानीय वासिन्दा अर्थात सदस्यहरुको समृद्धिका लागि पहल गर्ने अठोट गरेको छ ।

कृषि मार्फत समृद्धिमा टेवा पु-याउन विभिन्न कार्यक्रमहरुको घोषणा गरिएको छ । यी कार्यक्रम र संस्थाको लक्ष्य उद्देश्य प्राप्तिका लागि अगुवाई गर्न हरिहर प्रसाद न्यौपानेको अध्यक्षतामा एक सञ्चालक समिति गठन भएको छ ।

उपाध्यक्षमा प्रदिप थापा, सचिव गोकर्ण वस्नेत, सहसचिव विष्णु प्रसाद खतिवडा, कोषाध्यक्ष गोकुल न्यौपाने, सदस्यहरु सिता के.सी., नविना लामा, निमा लामा, ठुलोकान्छो लामा, स्वस्थानी खतिवडा र सुरथ वहादुर थापा रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा हरिशरण न्यौपाने संयोजक र सदस्यहरुमा अप्सरा थापा र सुधिर घिसिंङलाई चयन गरिएको छ ।

पौरखी कृषी सहकारीका संभावना धेरै रहेका छन् । करिव ४००० शेयर सदस्य रहेका छन् । करिव १४ करोड पुँजी भएको छ । यो सदस्य संख्या र पुँजी कम होइन । सदस्यहरुको कृषी सम्वन्धी आवश्यकतामा आधारित भैं सहयोग तथा लगानी गर्न सकेमा समृद्धिमा राम्रै योगदान हुन सक्छ । अधिकांश कृषकहरु नैं भएको हुनाले उनीहरुलाई आवश्यक पर्ने विउ विजन, प्राविधिक सहयोग, आर्थिक जोहोमा पौरखी कृषी सहकारीले सहयोग गर्न सक्नु पर्दछ ।

कृषकको उत्पादनले उचित वजार नपाइरहेको सन्दर्भमा कृषी उपज खरिद वा वजार प्रवद्र्धन भुमिका खेल्न सक्नु पर्दछ । आवश्यक परेमा पौरखी कृषी बजार प्रवद्र्धन गर्नु पर्दछ । केही कृषी उपजमा उत्पादनमा आधारित अनुदान र सुरुमा लगानीका लागि सहज ऋण प्रवन्ध गर्नु राम्रो हुन्छ ।

कृषकलाई सुरु लगानीमा सहज रुपमा ऋण प्रवाह गर्ने, कृषि उत्पादन भए पश्चात निश्चीत अनुदान दिने व्यवस्था गर्नु पर्दछ । सुरु लगानीमा अनुदान दिँदा धेरै दुरुपयोग भएको देखेका छौं । त्यसैले नतिजामूलक लगानीमा केन्द्रीत गर्नु सान्दर्भिक हुन्छ ।

यस खालको अभ्यास हामिसँग छैन । विश्वस्नीयतमा शंका हुन सक्छ । त्यसैले केही मूख्य प्रजातीका लागि उत्पादित वालिमा अनुदान दिने गरी परिक्षण गर्न सकिन्छ । उदाहरणका लागि कुनै किसानले गोलभेंडा लगाउँछ भने लगाउने वेलामा अनुदान नदिने (आवश्यक परेमा सहलिय ऋण दिने) तर बजारमा विक्रि गर्दाको परिमाणको आधारमा अनुदानको व्यवस्था गर्न सकिन्छ ।

संभव भए सम्म चरिकोटमा एक कृषी वजारको स्थापना गरी कृषकको उत्पादनको उचित मूल्य र उपभोक्तालाई गुणस्तरिय सेवा प्रवाह गर्न कोशिस गर्नु पर्दछ ।  यसका लागि स्थानीय सरकारसँगको प्रत्यक्ष सहकार्यको पहल गर्नु पर्दछ । अन्य निकायहरुसँग सहकार्यमा दायारा फराकिलो बनाउन सक्नु पर्दछ ।

यो सहकारीले नीति निर्माण तहमा समेत भूमिका खेल्न आवश्यक छ । सहकारी ऐन २०७४ को दफा १४१ अनुसार वित्तिय कारोवार गर्ने सहकारीहरुलाई कर छुटको व्यवस्था गरेको छ । तर वचत तथा ऋणलाई मात्र यस्तो व्यवस्था लागु हुने भनी अन्य सहकारीलाई २० प्रतिशत नैं कर लिंइदै आएको छ । सहकारी भन्नासाथ वित्तिय कारोवार हुन्छ नैं ।

ऐनमा लेखिएको भाषालाई फरक तरिकाले परिभाषित गरी कृषी सहकारीलाई कर छुट नपाउनु विडम्वना नैं हो । यसका लागि आफ्नो विषयगत संघको प्रभावकारीतालाई भूमिका खेल्न सक्नु पर्दछ । संघको अभियानमा कर छुट सम्वन्धी व्यवस्थालाई सवै सहकारीमा लागु गर्न पहल गर्नु आवश्यक छ ।

त्यसै गरी नेपाल कृषीमुलक देश भएकोले कृषीसँग सम्वन्धीत कार्यका लागि अनुदानको व्यवस्था भैरहेको देखिन्छ । त्यसको नियमन प्रभावकारी रुपमा हुन सकिरहेको छैन ।

यसमा समेत यो सहकारीले नमुनाको रुपमा काम गर्ने अवसर देखिन्छ । यसका लागि कृषि सहकारीलाई अभियानका रुपमा विकास गर्न जरुरी छ ।