विदेश

विमान उडनासाथ टायर पड्किएपछि........

विमान उडनासाथ टायर पड्किएपछि........

एजेन्सी ।  ७६ जना यात्रु सवार एक विमानको आकाशमैँ टायर पड्किएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा एउटा विमानको उडान भर्नासाथ टायर पड्किएको थियो । क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार ब्रिसबेनबाट उडान भरेको थियो ।

उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो । टायर पड्किँदा विमानमा ठूलो आवाज आएपछि यात्रु डराएका थिए । तर पाइलटले टायर पड्किएको जानकारी दिँदै यात्रुलाई नआत्तिन आग्रह गरेका थिए ।

विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो । अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा ओरालिएको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ ।