विचार

खपतका लागि बेइमानी बोली

खपतका लागि बेइमानी बोली

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपलब्धि भनेको टोली नेताले एकै मिनेट अमेरिकी राष्ट्रपति र उनकी पत्नी प्रथम महिलासंग कुम जोडेर फोटो सेसन गर्ने मात्रै हो । बाँकी यताका आफ्ना दलका भातमाराहरुसंग केही दिन गल्लीमा कुद्ने र नेपालको कुहिएको राजनीतिका एकाध घण्टा भाषण बाहेक अरु कामै छैन । अहिले प्रदीप ज्ञवालीको तालुमा आलु फल्यो– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अनुकूल नभइदिँदा । यिनले मौका पाए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीसंग फोटो खिच्न ।

अब यो तस्वीर जीवनभर नेपाली माटामा कम्युनिजमको खेती गर्दाको कुर्बानी बापतको ठूलो उपलब्धि संसारको शक्तिशाली मुलुक अमेरिकाको शक्तिशाली राष्ट्रपतिसंगै बसेर तस्वीर लिन पाइयो । र शायद यिनले घरको आफू सुत्ने ओछ्यान माथि रहेको संसारबाट लोप भइसकेको तर नेपालमा फापिरहेको फ्यूजन कम्युनिजमको पितामह माक्र्स, लेलिन र माओको तस्वीरसंगै रहनेछ ट्रम्पसंग नारिएको उनको तस्वीर ।

त्यही महासभामा बोल्दै ट्रम्पले यिनै कम्युनिष्टहरुको उछित्तो काढे । कम्युनिजममा राज्य कसरी कंगाल हुन्छ र कम्युनिष्टका नेताहरु कसरी धनी र भ्रष्टाचारी हुन्छन भन्ने राम्रै प्रबचन दिए ट्रम्पले । आफ्नै विचारधाराका महान शत्रु, साम्राज्यवादी, पूँजीवादी अमेरिकाका राष्ट्रपति ट्रम्पसंग बसेर तस्वीर खिच्दा यिनले आफूले संसार जितेको र जीवनभरको महान उपलब्धिको रुपमा आफूलाई अघि सारे । यी दुई जीब्रे कमरेडहरुको दहन छ नेपाल अहिले ।
अर्को यिनै प्रदीपका दाई मन्त्री उपप्रधानमन्त्री उपेन्द्र यादवको अत्तोपत्तो छैन । मनि माइन्डेड मन्त्री यादव छोरा र मन्त्रालयको सचिव बोकेर कतै घुम्दैछन यतै । अमेरिका स्वास्थ्य मन्त्रालय शून्य बनाइदिए यिनले ।

कतै एक दुई दिन भनेपनि घन्टा हिर्काएर डलर सोहोर्न त लागेनन यादव ? किनभने नेपालका यी यादब, ज्ञवाली लगायत थुप्रै मन्त्री एवं सांसदहरु अमेरिकामा कुचो र झाडू लगाउने क्षमताका पनि छैनन । यिनको दक्षता र क्षमता भनेको अमेरिकामा सरसफाइ गर्ने मात्र हो ।  भाँडा माझ्ने र चर्पी सफा गर्ने माथि औकात नै छैन । अनि कहाँबाट संयुक्त राष्ट्रसंघ महासभामा गतिलो उपस्थिति र भूमिका निभाउन त ? गिठ्ठा भ्याकुर रोपेर कताबाट सख्खरखन्ड उब्जियोस त ?

उपेन्द्र यादव आफ्नो हुर्केको सन्तान काखी च्यापेर अमेरिकाको गल्ली गल्लीमा मनमोजी भई घुम्नमा मस्त छन । यसरि अमेरिकाको टोलटोल दालभात चाहारेर हिँड्ने राज्यका यस्ता दलालहरुलाई नेपाली जनताले तिरेको पैसा कर जोडेर यिनी जति दिन विदेश र अमेरिका बस्दछन, हरेक दिनको भत्ता डलरमा बुझ्दछन । राज्यले यिनलाई डलरमा  दैनिक भत्ता बुझाउनु पर्दछ । अनि यिनका काम चाहीँ हरियो, कालो गिजा देखाउँदै अमेरिकाको गल्ली चाहार्ने ।

दशैं, तिहारजस्ता महत्वपूर्ण चाडहरु प्रवेश गरिसकेका छन । वातावरणीय स्वास्थ्य र स्वस्थ समाजका लागि राज्यको लगाव र सक्रियता आवश्यकता महशूस भइरहँदा यिनलाइ मुलुकको चिन्ता, जनताको स्वास्थ्य र जनस्वास्थ्यको महत्व र चासोले छँुदैन । जुनियर मन्त्रीको टाँगमुनि छिरेर अमेरिका छोरा र केही सहयोगीलाई छिराउन मन्त्री यादव यहाँ आइपुगेका छन् ।  मुलुकमा यति बिघ्न समस्यामा फसिरहेका बेला यिनी एटलान्टामा आयोजना गरिएको खुचुरे र भुराभुरीहरुको कार्यक्रममा ५ दिन बिताए घुमेरै । यस्तासंग अंगालो मारेर फोटो खिचेर फेसबुकमा ठोक्नेहरुले आफ्नो हाइट बढेको आत्मरतिमा फेसबुक भरि टाँस्न भ्याए । यिनले ठाने यिनका पहँुच र बायोडाटा बढ्यो ।

मुलुकको समस्यालाइ नजरान्दाज गरी अमेरिकाको गल्ली गल्लीमा मन्त्रीको मूल्य, मान्यता र पदीय आचरण त्यागेर घुमि हिँड्ने दलालहरुको बाहुल्यता  र जगजगीले नेपालको समुन्नति हँुदैन । छोरोलाइ यतै छोडेर नेपाल फर्किन सक्दछन यिनी । नेपालमा यिनका भविष्य देखेनन भने यिनी पनि यतै बस्न सक्छन् । सत्ता र पद भेटेसम्म मधेशले न्याय पाउने, यिनले सत्ता र शक्ति नभेटे मधेशले न्याय पाएन भन्ने यी दलालहरुले मधेश र मधेशी जनताको नाममा बार्गेनिङ्ग गरी राजनीति टिकाउँदै आएका छन् । मधेश र मधेशी जनता सधैं यिनको मोज गर्ने मेसो ।

नेपाली कांग्रसभित्रको फटाहा नम्बर एक भनेर चिनिने डा. मिनेन्द्र रिजालले प्रवासमा बस्ने प्रबासी नेपालि विदेशीहरुलाइ राजनैतिक अधिकार सहितको नागरिकता दिनु पर्दछ भनेर भनेछन् र अमेरिका भ्रमणमा छँदा उनी अहिले सत्ता बाहिर छन् । यो उनको निजि विचार होला तर यो नक्कली कुरा हो उनको । पढेका मानिससंग यति सानो ज्ञान होला जस्तो लाग्दैन । तर पाटी, दल, राजनीति, मुलुक र समाज यिनै जस्ता नक्कली कुरा गरी तात्कालिन लाभ लिन खोज्ने वर्गहरुले भरिभराउ छ भनेपछि कहाँबाट सुध्रियोस दल, राजनीति, मुलुक र समाज ?

विदेशी नागरिक भइसकेको मानिसले कसरी नेपालि नागरिकता राजनैतिक अधिकार सहितको हैसियत पाउन सक्दछ ? यो अमेरिकन संविधान र कानुन विपरित हुनेछ । म अमेरिकी नागरिक भइसकेको मानिस । एकछिन मानौं अमेरिकन कानुनलाइ एकातिर पन्छाएर मैले नेपालको राजनैतिक अधिकार सहितको नागरिकता प्राप्त गरें । सासद उठें । सांसदमा उठ्न र संसदमा मनोनित हुन पैसा खर्च गर्न मलाइ आपत्ति भएन । २०, ३० करोड रुपैयाँ खर्च गरेर भने पनि म सांसद बने ।

अर्को १० करोड नेताको पोल्टामा हालिदिएर मन्त्री पनि बनें । ५० करोड खर्च गरेर उस्तै परे प्रधानमन्त्री पनि पड्काएँ ।
म जत्तिकै अमेरिका वा अन्य मुलुकका नागरिक नेपाली दाजुभाइ दिदिबहिनीहरुले पनि त्यस्तै गर्नुभयो । उहाँहरु पनि सांसद, मन्त्री बन्नु भयो । भारतीय त धेरै नेपाली भइसकेका छन् । नेपाली भएको केही वर्षमै उनीहरु त मन्त्री, सांसद बनि नै सके ।  त्यसमा अमेरिकी पनि थपिए भने नेपालको सार्बभौमिकता र राष्ट्रियता कता पुग्दछ। ?

आफ्नो नागरिक नेपालको सांसद र मन्त्री भयो भने अमेरिका वा अन्य मुलुकले उसलाई कार्वाही गर्ने भए । यस्तो भने भोलि नेपाल स्वत  विक्री भयो कि भएन ? राजनीति स्वार्थका लागि यस्ता कच्चा कुरा गरेर हिँड्न मिल्छ माननीय रिजालजी ? किनभने यिनको कालो धन लगानी छ अमेरिकन पेट्रोल स्टेशनहरुमा । केही दलालहरुले यिनकै रकम ल्याएर यता स्टेशन सन्चालन गरिरहेका छन ।

संयुक्त राष्ट्रसंघ राष्ट्रपति ट्रम्प डा. मिनेन्द्र रिजाल