मनोरञ्जन

हाजिरजवाफी हास्यव्यंग्यका जादू

हाजिरजवाफी हास्यव्यंग्यका जादू

‘हमजाएगा’ पूर्वी नेपाल र खासगरी दार्जिलिङ, कालिम्पोङ, सिक्किम, आसाम र मणिपुरसम्मका नेपाली युवाहरुले औधी रुचाउने पात्र हुन । हास्यप्रधान ‘जोक’ र पिस (कथाका टुक्राहरु) का लागि अत्यन्तै लोकप्रिय हमजाएगाका कतिपय रचनालाई कतिपय युवाले मुखाग्र पार्ने गरेका छन् । फुर्सदको समयमा हमजाएगालाई जोडेर जोक सुन्ने, सुनाउने यताका युवाहरुको परम्परा जस्तै बसेको छ । 

आखिर हमजाएगा को हुन ? उनका रमाइला जोक्स कण्ठ गरेर हौसिने युवाहरु समेत उनको वास्तविक परिचयबाट ओझेलमा छन् । त्यसैले उनका बारे मनगढन्ते अडकल र प्रचारबाजी हुने गरेको छ । अहिले त उनी स्वर्गीय भएको झण्डै तीन दशक पुगेको छ । ६ वर्षको अवधिमा हास्यव्यंग्य कलामा उनले देखाएको अभूतपूर्व प्रदर्शनले उनी चिरपरिचित हुन पुगे । 

सन् १९२१ मा दार्जिलिङको चुङथुङ चियावारीको एउटा गाउँमा जन्मेका हमजाएगाको वास्तविक नाम दलबहादुर गुरुङ हो । यद्यपि उनको पुख्र्यौली थलो भने पाँचथरको माकलुवा भएको बताइन्छ । उनका बाजे धौजबीर गुरुङ, पिता मनबहादुर परिवार लिएर प्रवासिएका थिए । त्यसबेला तीक कक्षा पढेका हमजाएगाको पहिलो पाठशाला घर नै थियो । कुकुरको मुन्टो कुकुरमुन्टे क, खरायो जस्तो मुख भएको खरायो ख, गाईको  जस्तो खुर भएको गाईखुरे ग, साँपढाडे ड, टाङटिङे ट, निग्रोमुन्टे न यसरी गुरुले पढाउँदा औंला भाँचेर अभिनय गर्दै पढ्न शुरु गरेका थिए ।

तर घरको आर्थिक अवस्थाका कारण उनले पढाईलाई निरन्तरता दिन पाएनन् । पढ्ने इच्छालाई निमोठ्न परेपछि विरक्तिएका उनी त्यसबेलाको मधेश अर्थात कलकत्तातिर लागे । सन् १९३६ तिरको त्यो समयमा रेलको यात्रा गर्दा ठूलो हण्डर खप्नुपर्यो । त्यही यात्राको क्रममा स्वामी प्रबुद्धानन्द नामक सन्तले हमजाएगालाई काकाको घर भवानीपुर पुर्याइदिए । यो समय उनी १५ वर्षका थिए । 

दोस्रो विश्वयुद्धको समय थियो । कलकत्ता मानिस भर्ती गर्ने गल्लावालहरुको बजार भएको थियो । उनी पनि भर्ती हुने सुरसारमा थिए । तर कम पढेका कारण अंग्रेजीमा जवाफ फर्काउन नसक्दा भर्ती हुन सकेनन । एकजना अंग्रेजको सहयोगले वालिगञ्ज इञ्जिनीयरिङ कलेजमा एक वर्ष पढे । त्यसपछि उनी युएस आर्मीमा भर्ना भए । त्यहीँ उनले गाडी चलाउन सिके । अंग्रेज अफिसरहरु टाढा दूरीमा जानुपर्दा सोध्थे– ‘हु वान्ट गो ?’ त्यसबेला उनी बडो फूर्तिसाथ भन्थे– ‘हमजाएगा ।’ त्यसपछि त उनका लागि यो शब्द नै थेगो बन्यो । 

सन् १९४८ मा २७ वर्षको उमेरमा उनी दार्जिलिङ फर्के । वैकल्पिक रोजगारी थिएन । क्लब साइडको मोटर स्ट्याण्डमा ट्याक्सी चलाउन थाले । राम्ररी बाटो नबनिसकेको त्यो समयमा टाईगर हिल पुग्न अति कठिन थियो । त्यहाँ पुग्न चाहने अंग्रेज दम्पतिलाई पुर्याउन कुनै ड्राइभर तयार भएनन् । उनी नयाँ थिए, त्यसैले अन्जानमै भनिदिए– हमजाएगा । उनका साथीहरुले सोचेका थिए– अब यो जिउँदो फर्किदैन । तर उनी ओपेल कार लिएर टाईगर टपको सुरक्षित यात्रा गरे । भनिन्छ, टाईगर हिलको टुप्पोमा गाडी पुर्याउने पहिलो व्यक्ति उनै थिए । 

तुमलिङमा पनि पहिलो पल्ट उनैले गाडी पुर्याएका थिए । सन् १९५३ तिर यात्रु लिएर त्यसतर्फ जाँदै थिए । डरलाग्दो बाटोबाट डराएर सबै यात्रु झरेर घोडा चढ्थे । तर उनी गाडी लिएरै अघि बढ्थे । सामान्य ठाउँ आएपछि यात्रु फेरि गाडी चढ्थे । त्यहाँ पुगेर सकुशल फर्किएपछि उनको प्रशंसा हुन्थ्यो । जहाँ जान पनि ‘हमजाएगा’ भनेर तत्पर हुने यही स्वभावले सधैंको हमजाएगा बनायो । जिउँदो जाँगर र हँसाउने कलाले उनको प्रसिद्ध दिन दुईगुना, रात चारगुनाका दरले बढ्दै गयो । 

सन् १९८४ देखि रंगमञ्चमा हास्यव्यंग्य प्रस्तुत गर्न थालेका उनी समाजका विसंगत पक्षमाथि रमाइललो पाराले कटाक्ष गर्थे । उनको हास्यव्यंग्यका संकलन बाहेक कुनै रचना प्रकाशित भएनन । यद्यपि उनको योगदान हास्यव्यंग्यकारको भन्दा कम छैन । उनको परिचय उनकै शब्दमा ।

आज र मैले एक पेग रम खाएँ पानी मन तातो छ
सेतो छ कपाल चाउरे गाला, नाक मेरो रातो छ
यो मैलो कोट छ, फाटेको नोट छ, कसैले लिँदैन
अब त मलाई सबैले चिने उधारो दिँदैन ।

सात छोरा र तीन छोरीका पिता हमजाएगा उर्फ दलबहादुर गुरुङको अत्यधिक मदिरा पिउने कुलत थियो । आफ्नो त्यो कुलतलाई व्यंग्यात्मक शैलीमा उनैले वर्णन गरेका छन् । त्यही कुलतका कारण कमाएको सम्पत्ति बचाउन नसकेर उनले सधैं दरिद्र जीवन बाँच्नुपर्यो । आफू पीडामा छटपटाए पनि अरुलाई मनोरञ्जन दिन कहिल्यै कञ्जुस्याइँ गरेनन । उदाहरका लागि उनले भन्ने गरेको एउटा जोक यहाँ प्रस्तुत छ ।

एकजना वकिलले नयाँ कार्यालय खोलेछ । कार्यालय खोलेको भोलिपल्टै एकजना नयाँ मानिस आएछ । ग्राहक होला भन्ठानेर हतार हतार फोनको रिसिभर उठाउँदै वकिलले भनेछ– ‘अँ बलवीर, चन्द्रसरलाई भनिदिनु, दुइवटै मुद्दा हामीले जित्यौं ।’ त्यसपछि नवआगन्तुकतर्फ फर्किएर वकिलले सोधेछ– ‘म हजुरको के सेवा गरौं ?’
आगन्तुकले हिच्किचाउँदै भनेछ– ‘म तपाईंको टेलिफोन जडान गर्न आएको प्राविधिक हुँ ।’ यो सुनेर वकिल ट्वाँ परेछ । 

 

दार्जिलिङ हमजाएगा कालिम्पोङ