विचार

भतभती मुटु पोल्ने समाचार

भतभती मुटु पोल्ने समाचार

छोराको उपचार गर्न नाइट बस चढेर काठमाडौं आउँदै गरेकी एक वृद्धा, असहाय र गरिब आमाले रौतहटदेखि काठमाडौंसम्मको लामो बाटो छिचोल्न सकिनन् । काखमैं छोरा अस्तायो ! वरपर न आफन्त छन्, न गोजीमा पैसा छ, न भविष्यको आशा छ !

३५ वर्षकै उमेरमा दुबै मिर्गौला फेल भएर सिकिस्त बिरामी भएका रूपलाल शाह रौतहटबाट काठमाडौं उपचारका निम्ति आउँदै रहेछन् ।
प्लेन चढ्ने आर्थिक अवस्था धेरै नेपालीको छैन । एम्बुलेन्स पनि बसभन्दा धेरै महँगो हुँदो रहेछ । उनको परिवारले नाइट बस समात्यो । एम्बुलेन्स नै भएको भए पनि त्यो बाटो छिचोलिने रहेनछ । एक दुई किलोमिटर टाढ़ा पुगिन्थ्यो होला ! दर्जनौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेका छन् । उनको मृत्यु काठमाडौं पस्ने ट्राफिकको कहाली लाग्दो जामका कारण भयो भएन, यकीन छैन तर रौतहटमैं उपचारको व्यवस्था हुँदो हो या केही सय किलोमिटरको त्यो यात्रा ३-४ घण्टामा पूरा हुँदो हो त उनको ज्यान जोगिने थियो ।

भन्न त देशमा तीन वटा सरकार छन् । गन्नै नसकिने सांसद र मन्त्री छन् । त्यतैबाट मधेशकै नाममा राजनीति गरेका उपेन्द्र यादव स्वास्थ्यमन्त्री छन् । तर आम नागरिकलाई भने डाइलाइसिसकै निम्ति काठमाडौं आउनुपर्ने अवस्था छ । हुनेखानेलाई सिंगापुरदेखि जापान र अमेरिका घरदैलो जस्तो छ । ती समाचार बन्छन् । तिनको उपचार गर्ने विदेशीहरूले समेत देशको ढुकुटीबाट तक्मा र पुरस्कार पाउँछन् । तर करोडौ नागरिक छन्, जसले हस्पिटलसम्म पुग्न नभ्याएर ज्यान गुमाइरहेछन् ।

मेडिकल कलेज काठमाडौंमा मात्रै किन भनेर बिचरा बुढो र अशक्त ज्यान लिएर गोविन्द केसी एक्लै लड़े ! हामी शासकको धोती समाएर उल्टै केसीलाई कहिल्यै उठ्न नसक्ने गरी लड़ाउन सफल भयौं । स्वास्थ्यसेवामा हक त कर्णालीमा बस्ने गरिबले पनि पाउनुपर्छ भनेर बिचरा ती हरेक सरकारसँग लड़े । मृत्युसँग लड़े । रूपलालहरूका निम्ति लड़े । तर हामीले उनलाई पागल बनायौं । हाम्रा महान् शासकविरुद्ध लड्नेलाई देखाइदियौं । आज ती माफिया हाकाहाकी शिक्षामन्त्री फालिदिन्छौं भन्दै छन् । अरूलाई खाने बाघले आखिर हामीलाई किन छोड्थ्यो र ? जसले आफ्नो तलब पनि गरिबको उपचारमा खर्चेको छ, त्यसैलाई दलाल भन्यौं । पाप त लाग्नेछ हामीलाई पनि ।

यो घटना एउटामात्र होइन । आजको मात्र होइन । देशमा उपचार हुन सक्ने रोगकै कारण सयौं रूपलालहरूले चुपचाप ज्यान गुमाइरहेछन् । जसलाई आज थुकेर आफूलाई महान् भन्दै छौं, त्यही शासक या राजाको पालामा बनेको काठमाडौं जोड्ने नाका आज पनि त्यत्रै र त्यस्तै छ । बरु पिचहरू भत्किएका होलान् । त्यसलाई एक हात चौड़ा बनाउँदै एकपल्ट थुक्दै गरेको भए पो ! २५ वर्षमा २५ इन्च पनि थप्न सकेनौं ।

हाम्रा प्राथमिकता भने बेग्लै छन् । पशुपतिमा राष्ट्रगान बज्नुपर्छ कि पर्दैन ? ज्ञानेन्द्रलाई नागार्जुनमा राख्नु पर्छ कि पर्दैन ? गुठी जति नाशेर संस्कृतिलाई मास्नु पर्छ कि पर्दैन ? भिआईपीको सुविधा थप्नुपर्छ कि पर्दैन ? ज्ञानेन्द्र शाहीलाई जिल्लामा रोक्नु पर्छ कि पर्दैन ? पानीजहाजको टिकट काट्ने मिति तोक्नु पर्छ कि पर्दैन ? मिडियालाई बाँध्नु पर्छ कि पर्दैन ? बेलायत ठीक कि भेनेजुएला ठीक ? पक्ष होस् या विपक्ष, हाम्रा बहसका मुद्दा यिनै हुन् । अलि पहिला अलि बेग्लै हुँदो हो । कति प्रदेश बनाउने, कहाँको काटेर कसलाई थप्ने ? प्रदेश प्रमुख को बन्ने ? कांग्रेस र माओवादीले कति राजदूत बाँडेर लिने आदि आदि । तर हाम्रो बहसमा रूपलालहरू कहिल्यै अटाएनन्, शायद अटाउने पनि छैनन् ।
पशुपतिनाथले रूपलालको आत्मालाई शान्ति देउन् !

रूपलाल मिर्गौला फेल