विचार समाज

दैवीगुण भनेको के हो ?

दैवीगुण भनेको के हो ?

संसारमा कोही पनि जन्मदै सज्जन या दुर्जन हुँदैन । असल र खराव गुणहरुको संगत र संग्रहबाट नै मानिस महान र नीच बन्दछ । यिनै गुणहरु मध्ये सर्वहितकारी कल्याणकारी सद्गुणहरुलाई दैवी गुण भनिन्छ भने जति पनि सवैका लागि विनासकारी र अप्रिय दुर्गुणहरु छन, त्यसलाई आसुरी गुणको संज्ञा दिइन्छ । दैवी प्रकृति वा गुण सम्पन्न मानिस देवत्व प्राप्त गरी शाश्वत सुखको भागी बन्दछ । अरुको हित गरी आफ्नो जीवन समुन्नत तुल्याउन सक्षम हुन्छ । तर आसुरी गुणबाट विपत्ति र दुर्गति मात्र प्राप्त हुन्छ । यसैलाई पतनको कारण मानिन्छ । अत ः यहाँ कस्तो गुणलाई दैवी गुण वा सम्पत्तिका रुपमा चिनिन्छ भन्ने सम्बन्धी संक्षेपमा विस्तार गरिएको छ । हिन्दु धर्मको पवित्र ग्रन्थ गीतामा देहायका गुणहरुलाई गुणका रुपमा उल्लेख गरिएको छ । 
 

निर्भय

‘निर्भय’मा भगवानको निवास हुन्छ । निर्भयता निडरता हैन । निडरता त छलकपट चोरी आदिमा पनि हुन्छ । अलिकति पनि आशंका रहेसम्म त्यहाँ भय हुन्छ । भय नै पाप र पतनको कारण हो । भयको अस्तित्व श्रद्धा र प्रेममा रहँदैन । जहाँ श्रद्धा र प्रेम हुन्छ , त्यहाँ दुख– सुख, जन्म–मरण हुँदैन । समभाव कायम भई निर्भयता प्राप्त हुन्छ । 
 

ज्ञानप्राप्तिको निरन्तर प्रयास

धर्मदर्शनमा शास्त्रको यथार्थ बोधलाई ज्ञान भनिएको छ । जसले स्वधर्म र सत्कर्मप्रति प्रेरित गर्दछ, त्यही नै सच्चा ज्ञान हो । ज्ञानलाई योग भनिएको छ । योग त्यो शक्ति हो, जसबाट विना धार्मिक कार्य नै परमात्मा दर्शन हुन्छ । मोक्षका तीन साधनमध्ये ज्ञानयोग पनि एक हो । समस्त दुखको कारण अज्ञान हो भने ज्ञानबाट सवै दुखको निवारण हुन्छ । सद्चिन्तन, अध्ययन र मनन नै ज्ञान प्राप्तिको स्रोत हो । 
 

सत्व शुद्धि

हामीमा निहित शक्ति, बल, बुद्धि, आनन्द, ज्ञान, चेतना आदि आन्तरिक रुपमा नै रहेको हुन्छ । आन्तरिक ढंगबाट नै यिनको सुधार हुन्छ । यसको लागि आन्तरिक शुद्धताको आवश्यक पर्छ । यही तथ्य सदैव हृदयंगम गरी आफूभित्रका तत्वहरुको सुधार गर्नुपर्दछ । 
 

दान

दान भनेको दिनु हो । शास्त्रमा भनिएको छ– दानबाट कहिल्यै धन घट्दैन । बरु दरिद्र नास भएर जान्छ । तसर्थ मानिसको आफ्नो आयआर्जनको दशांश दानमा उपयोग गर्नुपर्दछ । दानहीन यज्ञ पनि अनर्थ हुन्छ । 
 

इन्द्रिय संयम

जसरी रथलाई निर्दिष्ट स्थानमा पुर्याउन घोडालाई नियन्त्रणमा ल्याउनु पर्छ, त्यसरी नै हामी निश्चित लक्ष्यमा पुग्न इन्द्रियहरुलाई बशमा राख्नु परमावश्यक छ । इन्द्रियहरुलाई आत्मअनुशासनमा राखी आत्मकल्याणको विरुद्ध जान नदिनु नै इन्द्रिय संयम हो । यसबाट मानसिक शान्ति भई आध्यात्मिक लक्ष्यमा पुग्न सकिन्छ । 
 

सत्य

सर्वहितकारी कुरा अविनाशी हुने भएकाले त्यही नै सत्य हो । सत्यभन्दा ठूलो धर्म अर्को छैन । सत्य नै आत्मकल्याणको नित्य आधार हो । आफ्नो र अरुको हित हुने कर्मलाई नैतिक नियमको पालना गरेर गर्नु नै सत्यमार्ग हिँड्नु हो । सत्यको सधैं जीत हुन्छ । 
 

नित्य स्वाध्याय

अध्ययन नै नगरी सही र गल्तीको निर्णय गर्न सकिदैन । सत्यबोधका लागि ज्ञान आवश्यक पर्दछ । ज्ञान प्राप्त गर्न सत्य र सात्विक विषयबस्तुको नियमित अध्ययन मनन गर्नुपर्छ । अध्ययनको आधारमा मानव स्वभाव र व्यक्तित्वको निर्माण हुन्छ । 
 

तप

शास्त्रअनुसार परमात्मा चिन्तनमा मन लगाएर शरीर लुकाउनु तप हो । देवता, ब्राह्मण, गुरु र विद्वानहरुको पूजा, पवित्रता, ब्रह्चर्य आदि शरीरले गरिने तपस्या खाँचो र प्रिय बचन बोल्नु बोलीले गरिने तपस्या भन्दछन् । 
 

अहिंसा

प्राणीको काटमार नगर्नु मात्र अहिंसा होइन । कसैले कसैलाई गाली नगर्नु , दुख नदिनु नै अहिंसा हो । जो यस भावनालाई बुझेर आफ्नो कर्तव्य कर्ममा लागिरहन्छ, उसले नै दैबीगुण संग्रह गर्न सक्दछ । उसले धर्मको मर्म बुझेको हुन्छ । 
 

क्रोध
क्रोध ठूलो पाप हो । पाप भन्नु नै दुख हो । क्रोधबाट दुष्टभाव प्रकट हुन्छ । जसले आफू स्वयं र अरुलाई दुख दिन्छ । दुष्प्रभाव र द्वेषबाट क्रोध शान्त हुँदैन् । प्रेमबाट क्रोध शान्त हुन्छ । दया, सेवा, क्षमा आदिबाट मात्र करुणामय जीवन प्राप्त हुन्छ ।
 

कर्मफलको त्याग

निष्काम र निस्वार्थ भावबाट गरिएको कर्मबाट ईश्वरको दर्शन प्राप्त हुन्छ । फलको आशा राख्नाले कर्म दुषित बन्दछ । कर्मफलको त्यागबाट व्यक्ति कार्यको सिद्धि र असिद्धि दुवै अवस्थामा समभाव कायम गरी सदैव कर्मशील र उत्साही बन्न सक्दछ । यसैलाई कर्मयोग पनि भनिन्छ ।
 

ध्यान

चित्तको एकाग्रयुक्त अवस्थालाई ध्यान भन्दछन् । मनमा उठ्ने संकल्प, विकल्परुपी लहरलाई रोक्नुको नाम एकाग्रता हो । भक्तहरु भगवानबाहेक मनलाई अन्त जान नदिनुलाई ध्यान मान्छन् । ध्यानबाट मन शान्त हुन्छ । जसबाट इच्छित उद्देश्य प्राप्त गर्न सकिन्छ । ध्यान साँझ वा विहान एकान्तमा बसेर गर्न सकिन्छ । 
 

कोमल र उदार भाव

हाम्रो सम्पर्कमा आउने जोसुकैलाई पनि महान सम्झेर व्यवहार गर्नुपर्छ । प्रत्येक व्यक्तिमा उच्च आत्मा आत्मा तत्व हुन्छ, त्यसलाई सबैले सम्मान गर्नुपर्छ । तसर्थ शंका र संकीर्ण विचारलाई त्यागी सबैप्रति कोमल, उच्च र उदारभाव राख्नुपर्छ । 
 

प्राणीप्रति दया

समस्त प्राणीमा ईश्वरको अंश हुन्छ भन्ने ठानेर सबैप्रति सहानुभूति राख्नुपर्छ । सकेसम्म उनीहरुको उपकार गर्नुपर्छ । यसैबाट दयाको भाव प्रकट हुन्छ । दयाद्वारा नै सबैको उन्नति र प्रगति गर्न सकिन्छ । 
 

लोभ–लालच नहुनु

लोभ अत्यन्तै हानिकारक दुर्गुण हो । लोभ भएपछि दुख बन्धनका लागि अर्को पाप गरिरहन पर्दैन । लोभीले जतिसुकै धनसम्पत्ति प्राप्त गरे पनि उसको तृष्णा कहिल्यै तृप्त हुँदैन । लोभ त्याग गरी प्राप्त भोगमा सन्तुष्ट बन्न सके सुख शान्ति प्राप्त हुन्छ । 
 

क्षमा

आफ्नो दोष र अज्ञानतालाई स्वीकारी सत्यतर्फ उन्मुख हुनु नै क्षमा हो । भूल गर्नु ठूलो कुरा होइन, तर भूल स्वीकार्नु महानता हो । नम्रता र क्षमाशील स्वभावलाई महानताको लक्षण मानिन्छ । कसैले कसैप्रति पनि शत्रुताको भाव राख्न हुँदैन । प्रतिशोधलाई क्षमाले जित्नुपर्छ । 
 

तेजस्वीपन

तेजस्वीपनबाट व्यक्ति कर्मवीर र पराक्रमी बन्दछ । कसैका प्रति योग्यता र क्षमताको मूल्यांकन उसको वाह्यरुप, आकारप्रकारबाट नभई तेज र गुणबाटै हुन्छ । यसबाट मानव मस्तिष्क सबल बन्दछ । 
 

धैर्य

धैर्यधारण गर्न जति कठिन हुन्छ, त्यसको फल उतिनै मीठो हुन्छ । धैर्यपूर्वक गरिएका सत्कर्मको परिणाम सुखदायी हुन्छ । जीवनमा आइपर्ने दुख र विपत्तिको क्षणमा पनि धैर्यधारण गरी एकाग्र बन्न सके त्यसबाट सहजै मुक्त हुन सकिन्छ । सहनशील र सरल स्वभावबाटै सद्ज्ञानको उदय हुन्छ । 
 

पवित्रता

मानव जीवनको वाह्य तथा आन्तरिक शुद्धिलाई नै पवित्रता भनिन्छ । त्यही नै धर्मले मानेको शुद्धता हो । हाम्रो शरीर र वातावरणको सरसफाई गर्न वाह्य शुद्धि हो भने मन, वचन, चित्त तथा अन्तरआत्माको शद्धिलाई आन्तरिक शुद्धि भनिन्छ । पवित्रतामा नै महान विचार र उत्कृष्ट कर्मको सृजना हुन्छ । 
 

इष्र्या त्याग्नु

इष्र्या भनेको अरुको उन्नतिमा डाह गर्नु वा अर्काको उन्नति देख्न नसक्नु हो । अरुको इष्र्या गर्नाले रोग र दुख सिवाय अर्को लाभ हुँदैन । जबसम्म यो दुर्गुण तथा दानव प्रवृत्तिको त्याग हुन सक्दैन, तबसम्म न उन्नति हुन्छ, न सुखको सास फेर्ने मौका नै मिल्छ । त्यसैले आफैंलाई हानी गर्ने इष्र्यालु स्वभाव त्याग्नु उचित छ । 
 

अहंकारी नहुनु

अहंकार नै पतनको कारण हो । धन, मान, पद, प्रतिष्ठा, पदार्थ आदि प्रति अहंकार गर्नु ठूलो भूल र मूर्खता हो । सधैं ईश्वरमा समर्पित भई आफ्नो स्थान र अवस्थाअनुसार निस्वार्थ कर्म गरेर अहंकार शून्य बन्न सकिन्छ । 
 

परनिन्दा नगर्नु 

अर्काको अवगुणको निन्दा गर्नु परोदोषको निन्दा हो । परदोष निन्दाबाट मानिस दोषयुक्त बन्छ । यस्तो व्यक्तिको मनोभाव सधैं अशान्त हुन्छ । अरुको दोष निन्दाबाट आफ्नै हानी हुन्छ । त्यसैले परदोषलाई महापापभित्र राखिएको छ । 
मनमा नियन्त्रण

मन अत्यन्त चञ्चल छ । नराम्रो संगत र बानीमा परेपछि मन राम्रा कामकुरामा लगाउँदा पनि नराम्रैमा कुद्छ । त्यसैले मनलाई सधैं  उत्तम कर्ममा लगाउनु पर्छ । मनमा नराम्रा विचारलाई आउन बन्देज लगाएर यसलाई वशमा राख्न सकिन्छ । मानसिक वेग नियन्त्रण विना सुख शान्ति सम्भव छैन । मन विग्रहका लागि निरन्तर अभ्यास र वैराग्य जरुरी छ । 
 

दान तप अहिंसा