Breaking News राजनीति समाचार

राजतन्त्र अन्त्यको विषयमा नेता माधवकुमार नेपालले खुलाए यस्तो खुलासा!

राजतन्त्र अन्त्यको विषयमा नेता माधवकुमार नेपालले खुलाए यस्तो खुलासा!

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेताको रुपमा स्मरण गरेका छन् ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति मात्रै होइन, आर्थिक, सामाजिक, साङ्गठनिक र व्यावहारिक रुपमासमेत अधिकारीलाई प्रेरणादायी व्यक्तिको रुपमा स्मरण गरे।‘उहाँ स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा हुनुहुन्थ्यो’, भरतमोहनलाई स्मरण गर्दै उनले  भने।

‘भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक’ विषयक गोष्ठिमा बोल्दै नेता नेपालले अफ्ठ्यारो बेलामा निकास दिनसक्ने नेता भएको बताए। विसं २०४७ को संविधान निर्माणमा अधिकारीको योगदान अतुलनीय रहेको स्मरण गर्दै नेता नेपालले २०५१ सालमा तत्कालिन सरकारमा अर्थमन्त्रीका हिसाबले उहाँले ऐतिहासिक काम गर्नुभएको उल्लेख गरे ।

०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पु¥याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे। ‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनुभएन। सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो।’

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे।

०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको भन्दै उनले त्यो मस्यौदा लेख्ने काम अधिकारीले गरेको बताए।

‘कांग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे। वास्तबमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको जग थियो।’

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए।

वक्ताहरुले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताए।