Breaking News राजनीति

चिनियाँ गतिविधि बढेपछि प्रचण्डले भने– भारतलाई माईनस गरेर जान हुँदैन

चिनियाँ गतिविधि बढेपछि प्रचण्डले भने– भारतलाई माईनस गरेर जान हुँदैन

काठमाडौं, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ गतिविधि बढेपछि भारतलाई माईनस गरेर जान नहुने जिकिर गरेका छन्। ‘प्रचण्ड’ भारतसँग सुमधुर सम्बन्ध कायम गरेर जानुपर्ने पक्षमा रहेका छन् भने प्रधानमन्त्री केपी ओली चीनतिर धेरै लगाव देखाइरहेका छन्। 

पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता बढेको बेला अध्यक्ष दाहालले भारतलाई माईनस गरेर जान नहुने कुरा पार्टीका आफूनिकट नेताहरुलाई बताउन स्वीकार गरेका छन् ।

चिनियाँ विदशेमन्त्रीको भ्रमणलगत्तै काठमाडौंमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधाराबारे बहस भएपछि नेपालको राजनीतिमा नयाँ तरंग देखिएको छ। 
 काठमाडौंमा कुटनीतिक–सरगमी अस्वभाविक रुपमा तातेको छ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतसँग सम्बन्ध विस्तार गर्ने तयारीमा लागेका छन् ।

स्रोतकाअनुसार अध्यक्ष दाहालले पछिल्लो समय चिनियाँ गतिविधि अस्वभाविक रुपमा बढेको भनेर आफूनिकट नेताहरुसँग चिन्ता व्यक्त गर्न थालेका छन् । उनले ती नेताहरुसँग भनेका छन्,‘भारतलाई चिढ्याएर नेपालको हित हुँदैन् । झन् विकास र समृद्धिमा त भारतको साथ अनिवार्य छ । भारतसँगको सम्बन्ध कायम राखेर जानुपर्छ ।’ उनले नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित र आपसी हितमा सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त वर्तमान सरकार र नेकपा एकदलीय शासन प्रणालीतर्फ उन्मुख हुन कोशिस गरिरहेको आरोप लगाएको छ । सि विचारधारा सापट लिनुपर्ने अवस्थामा नेकपा पुगेको भन्दै कांग्रेस नेताहरुले पछिल्लो समय खरो टिप्पणी गरिरहेका छन् ।

प्रशिक्षणका क्रममा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सहमति भएको थियो । उक्त सहमति हस्ताक्षर कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव कुमार नेपाल उपस्थित् भएको विषयमा पनि चौतर्फी टिकाटिप्पणी भएको छ । देश–देशबीचको सहमतिजसरी प्रधानमन्त्री उभिनु गम्भिर भएको कांग्रेस नेता अर्जुननरसिंह केसीको आरोप छ । उनले त चीनले नेपालमा सि विचारधाराको दक्षिण एशियामै पहिलो प्रयोगशालाको रुपमा नेपाललाई प्रयोग गरेको आरोप लगाएका थिए ।

यी यावत विषयहरु सार्वजनिक रुपमै बहस र विवादको विषय भनेपछि नेपालस्थित् अमेरिकी राजदुत र चिनियाँ राजदुतले पनि राजनीतिक सक्रियता बढाएका छन् ।