समाचार विदेश

ट्रम्प महाभियोग: अमेरिकी सांसदले हेरे ट्रम्पविरुद्ध गरिएको उजुरी

ट्रम्प महाभियोग: अमेरिकी सांसदले हेरे ट्रम्पविरुद्ध गरिएको उजुरी

अमेरिकी संसद्का सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन माग उठ्नेगरी परेको उजुरी पहिलो पटक हेरेका छन्। गुप्तचर विभागसँग सम्बद्ध एक गोप्य सूचनादाताले ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग गरेको विवादास्पद फोनवार्ताबारे उजुरी गरेका थिए।

डेमोक्र्याट तथा रिपब्लिकन सांसदले त्यो उजुरी विचलित पार्ने खालको भएको बताएका छन्। सो विषयमा अमेरिकी गुप्तचर विभागका कार्यवाहक निर्देशकले बयान दिन लागेको बेला यो नयाँ घटनाक्रम विकसित भएको हो।

गुप्तचरीसम्बन्धी विषय हेर्ने संसदीय समितिमा बिहीवार जोजेफ मग्वाएरले भन्ने कुरालाई ध्यानपूर्वक सुनिनेछ। उक्त उजुरी अझै गोप्य राखिएको छ। अमेरिकी सिनेटका वरिष्ठतम सदस्य चक शुमरले त्यसलाई सार्वजनिक गर्न माग गरेका छन्।

बुधवार राति एउटा प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले महाभियोगको प्रक्रियालाई "जाली" र "नियतवश लखेट्न खोजेको" भनेका छन्। जुलाई २५ मा गरिएको फोनवार्ताको लिखित प्रतिलिपिमा राष्ट्रपति ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई जो बाइडनका छोरा संलग्न भएको दाबी गरिएको एउटा विषयमा भ्रष्टाचारको मुद्दा चलाउन आग्रह गरेका बेहोरा देखिन्छ।

डेमोक्र्याटिक पार्टीका नेता जो बाइडन आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने अपेक्षा गरिएको छ।

ट्रम्पविरुद्ध गरिएको उजुरी बुधवार कङ्ग्रेसलाई हस्तान्तरण गरिएको थियो। न्यूयोर्क टाइम्सका अनुसार उजुरी ट्रम्प-‍जेलेन्स्की फोनवार्ताबारे मात्र नभई ह्वाइट हाउसका कर्मचारीले कसरी रेकर्ड गरे भन्नेबारे पनि छ।