विचार

सेतो छाला, खराव चाला

सेतो छाला, खराव चाला

सम्राट अलेक्जेण्डर विश्व विजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो । उनले आफ्नो बैद्यसंग भने– ‘शायद, मेरो अन्त्यकाल आयो तर म मर्न चाहन्न । त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन सकूँ ।’ बैद्यले कुनै झर्नाको नाम लिएर त्यो झर्नाको पानी पिउन सल्लाह दियो । अलेक्जेण्डर तुरुन्तै त्यो झर्नातर्फ लागे । झर्नामा पुगेर पानी पिउन झुकेका मात्र के थिए, त्यहीबेला एउटा बृद्धले पानी पिउनबाट रोक्दै भन्यो– ‘आजभन्दा तीन हजार वर्षअघि मैले पनि तिमीले जस्तै धेरै देशमाथि आफ्नो आधिपत्य जमाएको थिएँ । अनि अन्त्यमा बाँच्ने भोक जाग्दा यसै झर्नाको पानी पिएर मृत्युविजयी समेत भएँ । तर समय वित्दै जाँदा म बुढो र कमजोर भएपछि मैले जितेका देशहरु मेरा विरुद्ध लागे । परिणामस्वरुप म जंगल र गुफाहरुमा लुकेर ज्यान बचाउन बाध्य भएँ । आज मेरो यस्तो दुर्दशा भएको छ, मैले जुन देश जितें, त्यो देशका जनता मलाई क्रूर आक्रमणकारी ठानेर थुक्छन् ।’ यति भन्दै सुस्केरा हानेर बुढाले थप्यो– ‘यदि अब पनि तिमी यो पानी पिएर अमरत्व प्राप्तिको मोह राख्छौ भने पिऊ, अघाउन्जेल पिऊ ।’अलेक्जेण्डर यस्तो अमरत्व आफूलाई स्वीकार्य नभएको भन्दै बृद्धलाई धन्यवाद दिएर फर्किए । 

संविधान दिवशमा प्रधानमन्त्री केपी ओलीले आफ्नो उपचारमा संलग्न देशी विदेशी चिकित्सकलाई पदक दिलाउनु भएको छ । उहाँलाई लाग्दो हो– ‘आफू कुर्सीमा छँदा गरिने सम्पूर्ण कर्म संविधानका धाराबाट निसृत हुन्छन् । शक्तिमा हुँदा आँखाबाट झरेका आँसु फेरि आँखैमा लगेर भर्ने अनौठो प्लम्बरको काम पनि गर्न सकिन्छ ।’ तर त्यसो होइन । मुलुक समृद्धमा लैजान हजुरबा, छोरा र नाति तीनपुस्ताको हित हेरेर काम गरिदिए पूर्ण हुन्छ । समाजवाद, साम्यवाद, माओवाद सबै छोडेर प्रत्येक नेपालीको चुलोमा दानापानीको सरल अर्थशास्त्र घुसाइदिए हुन्छ । किताव पढेर कण्ठ गरेर पुस्तौं पुस्तालाई थाङ्नामा सुताउने यो पहिलो पुस्ता होइन् । दुनियाँ हेरेर पनि केही सिक्नुपर्छ ।

नरेन्द्र मोदी, सी जिनपिङ, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन नेपाली नेतासंग कुम जोडेर सेल्फी हान्न मात्र जन्मिएका होइनन् । तिनीहरुको हरेक चाल देश हितमा छ । विश्वको ‘प्राणवायु’ बन्ने होडमा उनीहरु प्रतिस्पर्धी छन् । यदि अरुलाई थर्काउन र फूईं लडाउनकै लागि प्रधानमन्त्री पदको उपयोग भयो भने अहिलेका ठूला मान्छे त परै जाओस् , तिनीहरुले कामको उच्च मूल्यांकन गरेर पदक भिरेकाहरुको भविष्य पनि अन्धकारमा जाकिन सक्छ । किनकी त्यो पदक नभएर ‘टिप्स’ हो । टिप्स दिनकै लागि सत्ताको उपयोग गर्ने हो भने दीर्घायुको कुनै अर्थ हुँदैन् । टिप्स दिनेहरुका लागि यो धरा सधैंको विर्ता पनि होइन । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन घण्टा मात्र सुत्छन् भन्ने थाहा पाएपछि  आफू    अल्छे भएको महसूस गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मोदीझैं  कमिज सुरुवालमा चिटिक्क परेर हिँड्ने रहर व्यक्त गर्छन् । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामा हिन्दुहरुका भगवान हनुमानको प्रतापप्रति अगाध आदरभाव मात्र राख्दैनन, बरु भन्छन– ‘पूर्वीयहरुको संस्कार र संस्कृतिबाट पश्चिमाहरुले सिक्नुपर्छ ।’ त्यही अमेरिकाले केही वर्षअघि मोदीलाई आतंककारी करार   गर्यो । राष्ट्रपति भएका बखत ओबामाले मोदीलाई घरमै भात खाने निम्तो दिए । नवरात्रिको ब्रत बसेका मोदीले यस अवधिमा पानी बाहेक केही नखाने भनेर भात अस्वीकार गरे । मोदीको कडा ब्रतबाट प्रभावित ओबामाले आफू पनि पानीको भरमा ब्रत बस्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । 

भारतका सुविख्यात वैज्ञानिक अब्दुल जे कालाम भारतको राष्ट्रपति भए । मुसलमान समुदायका उनको सितारमा रामधून बजाएर प्रातकालिन दैनिकी शुरु हुन्थ्यो । उनले सम्पतिका नाममा किताव, किताव अनि फेरि किताव मात्र जोडे । व्यक्तिगत नाममा आएका सम्पूर्ण उपहार राज्यलाई सुम्पिए । आफूले सुविधामा पाएका राष्ट्रपति भवनका दर्जनौं कोठाहरु ओगटेनन, बरु दुईवटा कोठामा सीमित गरी साद्गी जीवनको उत्कर्ष नमूना पेश गरे । संसारमा पद हैन, मान्छे इमान्दार हुने हो । चिनिया राष्ट्रपति सी जिनपिङले ‘व्यक्तिगत सम्पत्ति जोड्ने कम्युनिष्ट हुन सक्दैन’ भनेर नेपालका कम्युनिष्टहरुको धज्जी उडाइदिए । यति भनिसकेपछि उनको पथ हिँड्न नेपालका कम्युनिष्ट योग्य छैनन भन्ने प्रमाणित भइसक्यो । उनी संसारलाई आर्थिक विकासको चिनिया मालाले जोड्न चाहन्छन् । 

मन, ओठ वा मनमस्तिष्क के बाट मान्छेको विचार निसृत हुन्छ, उसको धरातल पनि त्यसैबाट निर्धारित हुन्छ । बोलीमा इमान्दारी र काँधमा जिम्मेवारी लिएको मानिसका लागि वर्तमान सर्वस्व हो । न उ अनिश्चित भविष्यको वायुपंखी घोडामा रमाउँछ, न विगतको विषाद सम्झिएर पश्चातापको पोखरीमा पौडी खेल्छ । बरु महाभारत पात्र अर्जुनजस्तै रुखको हाँगामा झुण्डयाइएको चराको आँखा मात्र देख्छ र लक्ष्यप्राप्तिमा अघि बढ्छ । यस्ता मानिसले एण्डरसनको जस्तो आयु थप्न भौंतारिनु पर्दैन । न त यस्ता मानिसले स्वर्गको ढोका खोल्न जीवनको अन्त्य नै पर्खिनुपर्छ । 

नेता कस्तो हुनुपर्छ ? त्यसको सपाट उत्तर संसारको कुनै पनि विधि तथा शास्त्रले दिन नसक्ला । तर व्यक्तित्वको निर्माण हुन उ भित्रको मानव धर्मको दीयो कहिल्यै निभ्नु हुन्न भन्नेमा दुइमत छैन् । संसारमा कसैले नयाँ गर्ने होइन् । नयाँ माटो आविष्कार गरेर खेती गर्ने होइन् । भगवान शिवलाई खुसी पारेर हिमालय पर्वतबाट हिमचट्टान फोरेर पानी झार्ने होइन् । हिन्दी फिल्मको हिरो  झैं असम्भव पुरुषार्थ देखाउने पनि होइन् । काम गर्नु भनेको इमान्दारीको संस्थागत विकास हो । राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु नै सुशासन हो । दुख कहिले पो थिएन ?

चोरी, हत्या, बलात्कार, दुराचार, पापाचारका घटना भर्खर शुरु भएका हुन् र ? होइन, सृष्टिको शुरुवातबाट नै मानिस यस्ता कुकर्मबाट प्रताडित छ । मानव प्रयास यस्ता कुकृत्य न्यून बनाउनेतर्फ  केन्द्रित हुनुपर्छ । गाई परापूर्व कालदेखिनै घाँस खान्थ्यो । बाघ अहिले आएर मांसहारी भएको होइन् । लामखुट्टे, उडुस, उपियाँलाई मान्छेले तालिम दिएर रगत चुसेर भाग्न सिकाएको होइन् । मान्छेले बाँदरलाई भन्ने त्यही चकचके स्वभावका कारण प्राकृतिक चक्र चलेको छ । जहाँ बाँदरले चाहिने भन्दा बढी तुलफूल झार्छ , त्यो खान मृग हाजिर हुन्छ । जहाँ मृग आफ्नो पेट भर्न आउँछ, तब उ पत्तै नपाई चितुवाको आहार भइसकेको हुन्छ । हात्ती स्वभावतः भीमकाय हुन्छ । उ हिँड्दा मात्रै लाखौं साना जीवनजन्तु मरिरहेका हुन्छन् । अब कमिला, पानीमुनिका माछा, गँड्यौला, फट्यांग्राको नास हुन्छ भनेर हात्तीले दैनिकी ठप्प  गर्यो भने के हुन्छ ? 

जीवनको रहस्य के हो ? यस्ता प्रश्नहरुको चाङ बोकेर मानिस सृष्टिदेखि अहिलेसम्म अविराम यात्रा गरिरहेको छ । तर हजारौं, लाखौं भूmठहरुको पहरा, पर्खाल नाघेर पनि उसले चित्तबुझ्दो सत्यमा सीमित हुन सकेको छैन् । स्वच्छ, सीधा र साँचो कसले बोल्ने ? आत्मैदेखि बोल्ने अभ्यासमा हामी कति पारंगत छौं ? आफ्नै हात छातीमा राखेर धर्म भाक्नुस् त– सत्विवेकको नाममा, नीति धर्मको नाममा, जीवन जीविकाको बाध्यतामा अनि राजनीतिको खालमा अन्तरआत्माको आवाजलाई कति धोका दिनुभयो ?

जान्नलाई मानिस रातदिन अध्ययन गर्छ । गाँठिएका सयौं गुजुल्टा फुकाउँछ । तर जति गुजुल्टा फुक्छन् अनि झन् कसिला गाँठाहरुको प्रवेश बढ्दै जान्छ । त्यही गुजुल्टोको फेद टुप्पो खोज्दाखोज्दै जीवनको काया फेरिन्छ । ९० वर्षको बाबु अंशमा किचलो परेपछि आफूले जन्माएको ७० वर्षको छोरालाई  धारेहात पारेर भन्छ– ‘तँलाई बल्ल चिने तँ त शकुनी र कुलद्रोही रहिछस् । यस्तो जानेको भए त गर्भमै निमोठिदिन्थे ।’ आफ्नै रगतको डल्लालाई ७० वर्षसम्म नचिन्ने बाबु कस्तो होला ? तर आश्चर्यको विषय होइन, पाषाण युगदेखि आधुनिक युग भनिएको यो समयसम्म आइपुग्दा पनि मान्छे चिन्ने नाममा मान्छे झुक्किदै आएको छ । 

धनी गरिब दुवैको समान कल्याण गर्छु भन्ने महात्मा गान्धी, अब्राहम लिंकनजस्ता पात्रहरुले आखिर गोलीको उपहारबाट जीवन लीला समाप्त गर्नुपर्यो । अम्लेठ पनि खाने अण्डाको पनि माया गर्ने निर्णय किमार्थ टिकाउ हुँदैन् । बरु कतिपय सत्य यस्ता हुन्छन, जो मूलाजस्तै आफ्नो डोब आफैं खन्ने सामथ्र्य राख्छन् । यस्ता प्राकृतिक सत्यलाई चलेकै सत्यमा सीमित राखिदिए कल्याण हुन्छ । सवैलाई सर्वमान्य र स्वीकार्य सिद्धान्त प्राकृत न्यायको सिद्धान्तले त निर्देश गर्न सकेको छैन भने त्यसतर्फ  मुन्टो उठाउनु पनि मूर्खता हो । मानिसको सभ्यतासंगै मान्यता फेरिन्छन् ।

पहिला पहिला जति बढी श्रीमती भित्र्याउन सक्यो, उ बढी खानदानी दरिन्थ्यो । अहिले त्यसो गर्नेहरु पुलिसको गेष्टहाउसमा पाहुना हुनुपर्छ । एक जमानामा चुरोट खानेहरु समाजका लब्ध प्रतिष्ठित ठहर्थे तर अहिले त्यही चुरोट सल्काउनेहरु चुरोट तानेको एक घण्टासम्म पनि सामाजिक भेलामा घुलमिल हुन हच्किन्छ । मुलुकी ऐनलाई पनि पुरेतले पढ्ने कर्मकाण्डी पुस्तकजस्तो जसो भन्यो त्यसै स्वाहा गर्नाले आज कानुनको अपव्याख्याका कारण कति निर्दोषहरुको जीवन बर्बाद भइरहेको छ ? यसतर्फ कसैको दृष्टि पुगेको छैन् । 

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैं नालायक देख्छ रे ! तर सत्य चाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भएपनि समय चाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि उ संग रहेको वस्तु भनेको फगतः अनुभव र अनुभूति मात्र हो । छोरो पाइलट र बाउ हली छ भने आफ्नो  शिरमाथि उडेको जहाज फाटेको टोपीको फेरले पसिना पुछेर हेर्दै बाउ फुसफुसाउँछ रे– ‘मोराले उडाउन त उडायो तर अलि जानेन् ।’

यो जान्ने नजान्नेको दृष्टिकोण नभएर अभिभावकत्वको प्रष्फुटन हो । कसैको अंकुशविना सफल कर्म सम्भव छैन् । मानिसका जीवनमा दुख सुख त सिक्काको गाई र त्रिशुल हो । थालको भात दुख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मिठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरुपी दुखको पसल खोलेर बस्छन् । सुख र दुखको प्रारब्ध दृष्टिकोणबाट शुरु हुन्छ । मृत्युका अगाडि आफू मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुखको खाडल खन्ने औजार हो । 

  
 

नरेन्द्र मोदी अलेक्जेण्डर