भिडियो कभर स्टोरी अन्तरवार्ता

मुलुक बहुआयामिक द्वन्द्वमा फस्ने खतरा (भिडियोसहित) 

मुलुक बहुआयामिक द्वन्द्वमा फस्ने खतरा (भिडियोसहित) 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सहमतिसंगै भाइचारा सम्बन्ध स्थापित भएपछि नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु समेत गम्भीर भएका छन् । नेकपाले स्कूल विभाग गठन लगत्तै चीनप्रति देखाएको झुकावले भारत, अमेरिका र पश्चिमा शक्तिहरुको ध्यान खिचेको छ । 

बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोर विश्वास भन्छन्, ‘नेकपा चीनको कठपुतली हो भन्ने पहिले देखि नै थाहा थियो, तर अहिले आएर नाङ्गोरुपमै प्रस्तुत भयो । यसले मुलुकलाई दीर्घकालिनरुपमा असर गर्छ । नेकपा पार्टी र यो सरकार चीनतर्फ ढल्केको भारत, अमेरिका र पश्चिमा शक्तिहरुलाई मन परेको छैन । अब मुलुकमा बहुआयामिक द्वन्द्व सुरु हुन्छ ।’

अध्यक्ष विश्वासका अनुसार अब मुलुकमा विप्लव समूहका गतिविधि झन आक्रामक रुपमा अघि बढ्नेछन् । हिन्दुवादीहरु पनि त्यसरी नै अघि आएका छन् । विखण्डनवादी र जातीय नारा लिएका शक्तिहरु पनि सल्बलाउने छन् । भ्रष्टाचार, महँगी लगायत विभिन्न बहानामा सडक तताउनेहरुको संख्या बढ्दै जाने छ । अन्ततः मुलुकमा अराजकता सृजना गर्ने माहोल उत्पन्न हुनेछ । बहुआयामिक द्वन्द्व भनेकै यही हो । 

चिनियाँ कम्युनिष्ट पार्टीको नीति भनेको एक दलीय शासन व्यवस्था हो । सी जिनपिङवाद भनेको लोकतन्त्रको पक्षधर होइन । यसमा मौलिक अधिकार, मानवअधिकारका विषय पर्दैनन् । नेकपाले सी जिनपिङ पथ लिन खोजेपनि सफल हुँदैन । सी पथ नेपालको संविधान विपरित छ । त्यो सम्भव छैन । आफैंले जारी गरेको संविधानका प्रावधान विरुद्ध नेकपा जान खोज्छ भने त्यो समाप्तीको बाटो हो । नेपाली जनताले कुनै पनि किसिमको अधिनायकवाद स्वीकार गर्ने छैनन् । 

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको यो सहमतिपछि नेपालमा ‘फ्रि तिब्बत मुभमेन्ट’ बढ्ने विश्वासको विश्लेषण छ । केही समयअघि चिनियाँ दुतावासअघि प्रदर्शन हुनु सांकेतिक मात्र हो । अब यस्तो कुरामा भारत, अमेरिका र पश्चिमा शक्तिहरु झन् लाग्छन् । 

नेपालमा अंक गणितको खेलबाट सरकार फुटाउन सम्भव छैन । नेकपामा तत्काल सहजरुपमा विग्रह ल्याउन पनि कठिन छ । नेकपाको महाधिवेशन आएपछि त्यो बेला सैद्धान्तिक तथा सांगठनिक समस्या चुलिने छ । विदेशीको खेल पनि तीब्र हुनेछ । नेकपा महाधिवेशनकै बेला फुट्ने छ । यसमा बालचरित्र भएका पुष्पकमल दाहाल प्रचण्डलाई अहिले देखि नै प्रयोग गर्ने प्रयास भइरहेको छ । 

जहाँसम्म सरकारको कुरा छ, यसका लागि जनताबाट विद्रोह गराइने छ । कांग्रेस, राप्रपा लगायतका दलहरु सडकमा आउनेछन् । कोही भ्रष्टाचार विरोधीका रुपमा, कोही नागरिक समाजका नाममा, कोही अधिकारकर्मीका रुपमा सडमा उत्रिनेछन् । सरकारलाई निस्कृय बनाएर ढाल्ने प्रयास हुनेछ । त्यहीबेला मुलुक मध्यावधि निर्वाचनमा जाने प्रबल सम्भावना छ । 

नेपाली राजनीतिमा अब प्रचण्डका कारण आरोहअवरोह सृजना हुनेछ । प्रचण्ड आफै अवसरवादी र अस्थिर चरित्रका मान्छे हुन् । उनको कुनैपनि देशसंग स्थायी सम्बन्ध छैन । अहिले चीनसंग निकट हुन खोजेका छन्, तर चीनले भाउ दिएको छैन । चीनको निकट भनेको पूर्व एमालेहरु नै हुन् । प्रचण्डलाई चीनसंगै भारत, अमेरिका र पश्चिमाहरुले आ–आफनो मौका परुन्जेल प्रयोग गर्ने गर्दछन् । 

‘अबको खतरा भनेको बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी हुनसक्छ । यो सरकार र नेकपाविरुद्ध भट्टराई र यादव उपयोग हुने लगभग निश्चित छ । सी जिनपिङको नेपाल भ्रमणका क्रममा यी दुई नेताले के कस्तो भूमिका निर्वाह गर्छन् त्यसले यिनीहरुको सहयात्राको पनि भविष्य निर्धारण गर्नेछ ।’ विश्वासको विश्लेषण छ ।