मनोरञ्जन Breaking News विचार

प्रेमका लागि मृत्यु रोजेका यी जोडी

प्रेमका लागि मृत्यु रोजेका यी जोडी

लैला–मजनु

सानै उमेरदेखि लैला र केस एकअर्कालाई अत्यन्त चाहान्थे । उनीहरुलाई पढ्न मन लाग्दैनथ्यो । कापी र कितावका हरेक पानामा उनीहरु एकअर्काको नाम लेख्दथे । छिमेकका छोराछोरीको मुखमा केवल उनीहरुको प्रेमलीलाको चर्चा झुण्डिएको हुन्थ्यो । समाजको डरले लैलाका बुवाले लैलालाई घुमफिरमा बन्देज लगाएका थिए । उनलाई घरमै नजरबन्द गरिएको थियो । लैलालाई यसरी मानसिक यातना दिएको खबरले केस पनि विचलित भए । उनले पढ्ने किताव च्यातेर मिल्काए । खानपिन बन्द गरे । केसलाई विश्वास थियो कि उसको आवाज कुनै न कुनै दिन लैलाको कानमा पुग्नेछ । सुख सुविधामा हुर्केको केसको अवस्था भिखारीको जस्तो देखेपछि मानिसहरुले उसलाई ‘मजनु’ उपमा दिएर बोलाउन थाले । एकान दुइकान हुँदै केसबाट उनी मजनु भए । 
सयोगवश एक दिन केसको आवाज लैलाको कानमा गुन्जियो । उनी रुँदै बरण्डामा आइन । केसको नाम लिएर बर्बराउन थालिन । बजारमा झुम्मिएको भीड देखेर लैलाका पिताजी पनि क्रोधित भए । उनले आफ्ना सैनिकलाई आदेश दिँदै केसलाई बन्धक बनाउन भने । सरकारको आदेश मानेर सैनिकले उसलाई नियन्त्रणमा लिए । भक्कुमार कुटे । अब बाँच्दैन भन्ने भएपछि शहरभन्दा बाहिरको जंगलमा लगेर मिल्काइदिए । 

केसका पिता शाह अमिरले बडो मुस्किलसंग छोराको उपचार गरेर बचाए । उसको विवाह लैलासंग गरिदिने बाचा पनि गरे । मजनुका पिताले लैलाको पितालाई छोरी दिन आग्रह गरे । तर आफ्नी एक्ली छोरी केसजस्तो पागल केटालाई नदिने अडान लिए । लैलाका पिताले छोरीको विवाह कुनै धनी शाहजाँहसंग गर्ने तय गरेका थिए । विवश लैलालाई बाबुले खोजेको केटासंग विहे गर्न कर लाग्यो । तर सुहागरातको समयमा पतिलाई भनिन– ‘मैले मजनुलाई मन, मुटुबाटै पति मानिसकेकी छु ।’ सुहागरातकै समयमा यस्तो कुरा सुनेपछि शाहजाँह क्रोधित हुँदै उसलाई माइती पठाइदियो । 

माइती आउँदा आउँदै बाटोमा लैलाले मजनुको आवाज सुनिन । उनी छाती पिटीपिटी रुँदै भनिरहेका थिए– ‘लैला, तिमी कहाँ छौ ?’ यो सुनेर लैलाले पनि आफूलाई रोक्न सकिनन र रुँदै मजनु भएको ठाउँ पुगिन । लैलाले मजुनु देख्नासाथ दुई हात फैल्याइन । भोक र प्यासले गर्दा उनीहरु यतिसम्म गलेका थिए कि उनीहरुलाई खुशी पनि सहन भएन । एकले अर्कालाई आलिंगनमा बाँधेकै अवस्थामा उनीहरुले धती छोडे । यही प्रेम कहानीलाई अमर राख्न यही अवस्थामै उनीहरुलाई जमिनमा गाडिएको थियो । 

युसुफ र जुलेसा

कुनै कुनै पुरुषको व्यक्तित्व, स्वभाव तथा शारीरिक ढंग यस्तो आकर्षक हुन्छ कि स्त्री जाति आफ्नो मान मर्यादालाई पनि उल्लंघन गर्न पछि पर्दैनन् । यस्तै नै व्यक्तित्वका धनी थिए– युसुफ । उनका वरिपरि यति स्त्री झुम्मिन्थे कि गनेर साध्य लाग्दैनथ्यो । तर युसुफलाई यस्तो रागप्रति कुनै चासो थिएन । बरु जन्म दिने आमाबाबुको सेवामा तल्लिन रहन्थे । एउटा सभ्रान्त परिवारकी युवती त यति आकर्षित भइन कि मायाप्रीतिको सीमा तोड्ने किसिमका व्यवहार देखाउन थालिन । युुसुफले ती युवतीलाई धेरै सम्झाए । उनको भनाइ थियो– ‘यो माटोले बनेको शरीरप्रति तिमी किन बिचलित बन्छ्यौ ? यस्तो शरीरको मोहमा फसेर आफ्नो अनमोल जीवन किन दाउमा लगाउँछ्यौ ?’ 

तर, जुलेसाले हार मानिनन । उनले पनि राज्यको शक्ति सम्पन्न आफ्नो उमेरभन्दा बढीको प्रधानमन्त्रीसंग विवाह गरिन । प्रधानमन्त्री आफ्नी पत्नीको कुनै कुरा काट्दैनथे । तसर्थ जुलेसाले युसुफलाई आफ्नो विशिष्ट सेवकमा भर्ती गरिन । यसले गर्दा दिनरात युसुफलाई आफ्नै अगाडि रहिरहन बाध्य गराइन । जुलेसाले युसुफलाई आफ्नो प्रेमजालमा फसाउन वर्षौं मेहनत गरिन तर सफल भइनन् । यस्तो परिस्थितिमा युसुफ महल त्यागेर भागे । उनी आफ्नै बाबुआमा कहाँ गएर सेवारत हुन थाले । यसै समयमा प्रधानमन्त्रीको मृत्यु भयो ।

अब त जुलेखा सम्पूर्ण सम्पतिको मालिक भइन । उनले युुसुफका बुबालाई धनको लोभ देखाएर युसुफलाई आफूसंग विवाहका लागि मनाउन आग्रह गरिन । तर फकिर जीवनमा रमाउने युसुफको बुवालाई सम्पत्तिको कुनै चासो रहेन । युसुफको यादमा उनी दिनरात दुखी हुँदै गइन । उसको यादमा सधैं रोइरहँदा आँखा बढेको संक्रमणका कारण हेर्ने शक्ति गुम्यो । सधैं विरामी हुन थालिन । सम्पत्ति आफ्नो कब्जामा पारेर परिवारले उनलाई घरबाट निकालिदिए । 
अन्धी, विरामी र बेसहारा जुलेसाको दुर्दशा देखेर युुसुफका पितालाई दया लाग्यो ।

उसलाई आफ्नो घरमा लिएर गए । एउटा छुट्टै कोठामा बस्न दिए । भगवानको आराधना, पूजाअर्चना गर्नुपर्छ भनेर सिकाए । केही दिनपछि जुलेसाको दृष्टि फर्कियो । बुबाले युसुफलाई जुलेसाको समर्पणका बारेमा सम्झाए । पितामाता भक्त युसुफले बुबाको आज्ञा शिरोपर गर्दै जुलेसासंग विवाह गरे । इच्छा विपरित यस विवाहले युसुफलाई न खुशी बनायो, न दुखी नै । युसुफलाई पनि पत्नीको सम्बन्धमा कुनै रुचि थिएन । उनी आध्यात्मिक सम्बन्धका पुजारी थिए । तर केही समयपछि उनको मृत्यु भयो । प्राणभन्दा प्यारो प्रेमीको मृत्यु जुलेसाले सहन सकिनन् । उनले पनि प्राण त्यागिन । 

शिरि–फरहाद

अर्मिनियाकी राजकुमारी शिरिको तस्वीर देखेर फारसका राजा खुसरो उनीप्रति निक्कै मोहित भएका थिए । आफ्नो राजा राजकाजबाट विमुख भई केवल उसकै कल्पनामा हराउन लागेको देखेर सेवकले खुसरोको एउटा तस्वीर शिरिलाई पठाएर विवाह प्रस्ताव पनि राखे । शिरि विवाह गर्न राजी त भइन तर उनको सर्त राखिन । त्यो सर्त थियो– ‘राजाले आफ्नो जनताका लागि दूध उपलब्ध गराउनु पर्छ ।’ सर्त मञ्जुर गर्दै खुसरोले विवाह गरे । तर दुर्भाग्यवश फारसमा पानीको कमी हुन थाल्यो । जसका कारण दूध दिने पशुका लागि खानादानाको व्यवस्थापन गर्न कठिन हुन पुग्यो । राजाका सहायकले राजालाई एउटा उपाय सुझाए– ‘उसको बाल्यावस्थाको साथी ठूलो इञ्जिनीयर छ । उनको नाम फरहाद हो । उनले इराक र अन्य मुलुकमा पनि बाँध बनाइसकेका छन् । उनलाई हाम्रो देशमा आमन्त्रित गरियोस् ।’

यो सुनेर राजा खुसरोले फरहादलाई आफ्नो देशमा बोलाए । आफ्नी महारानीलाइृ यी सबै कुरा बताउन राजा खुरोले फरहादलाई शिरिको महलमा पठाए । तर उनीहरु भेट्नासाथ एकअर्कामा आकर्षित भए । फरहादले शिरिका लागि नहर बनाउने योजना शुरु गरे । एकदिनको कुरा हो, शिरि त्यही नहर बनाउने काम भइरहेको पहाडी ठाउँमा पुगिन । उनले फरहादले एउटा मूर्ति बनाइरहेको देखिन ।

दुवैबीच बढ्दै गएको प्रेम सम्बन्धका कारण शिरि राजा खुसारोप्रति उदासिंदै गएका थिए । फरहादले यो काम रोकिदिएपछि राजा खुसारोले फरहादलाई बोलाएर भने– ‘मलाई थाहा छ, फरहाद र शिरिबीच प्रेम प्रसंग चलिरहेको छ । तिमीहरु एकअर्कालाई मन पराउँछौ । तसर्थ म तिमीहरु बीच काँडा बन्ने छैन । तर तिमीले नहरको काम सकेपछि मात्र म शिरि तिम्रो हातमा सुम्पन्छु ।’

फरहाद शिरिलाई पाउन दिनरात नभनी काम गर्न थाले । आखिर सोचेभन्दा अघि नै नहर निर्माणको काम सकियो । तर फरहादलाई थाहा थिएन कि राजा खुसरोले उनलाई धोका दिनेछन् । फरहादलाई झूटो खबर दिने विचारले राजाले शिरिले आत्महत्या गरेको हल्ला चलाए । यस्तो सुनेपछि फरहादले बञ्चरोले आफ्नो टाउको काटेर आत्महत्या गरे । यो घटना कानमा पर्नासाथ शिरि पागल भइन । जहाँ फरहादको अन्त्य भएको थियो, त्यहीं पुगेर उनले पनि आफूलाई सिध्याइन । राजा खुसरोले गल्तीको प्रायश्चित गर्दै दुवैको शब एउटै खाल्डोमा राखेर अन्तिम विदाई गरे । 

लैला–मजनु युसुफ र जुलेसा शिरि–फरहाद