समाचार स्वास्थ्य

६१ जिल्लामा स्क्रब टाइफस, ६ सय ९५ संक्रमित

६१ जिल्लामा स्क्रब टाइफस, ६ सय ९५ संक्रमित

साउनयता स्क्रब टाइफस भएर अस्पताल पुग्ने बिरामीको संख्या ६ सय ९५ पुगेको छ । दुई महिनायता ६१ जिल्लामा स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेका अनुसार स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । सबैभन्दा बढी डडेल्धुरामा ६१ जनामा यसको संक्रमण देखिएको छ । सरकारी तथ्यांकअनुसार विगत चार वर्षमा स्क्रब टाइफसका कारण ३५ जनाको मृत्यु भइसकेको छ । यस वर्ष मात्रै तीनजनाको ज्यान गएको पाण्डेले जानकारी दिए । स्क्रब टाइफस लाग्ने मौसम भएकाले संक्रमितको संख्या बढ्दै जान सक्ने चिकित्सकहरूको भनाइ छ ।

कुन प्रदेशमा कति बिरामी ?
प्रदेश १    १८
प्रदेश २    २२    
प्रदेश ३    २०४
गण्डकी प्रदेश    ५१
प्रदेश ५    २३७
कर्णाली प्रदेश    ८
सुदूरपश्चिम प्रदेश    १५५

सूक्ष्म किराबाट सर्छ स्क्रब टाइफस 

स्क्रब टाइफस ‘रिकेटेसिया सुसुगामुसी’ नामक जीवाणुबाट संक्रमित किर्नाले सार्छ । यो किरा खासगरी खेतबारी, झाडीमा बस्ने मुसामा पाइन्छ । संक्रमित किराले टोकेपछि मानिसमा यो रोग सर्छ । किरा ०.२ मिलिमिटरदेखि ०.४ मिलिमिटर लामो हुन्छ । यसलाई सूक्ष्मदर्शक यन्त्रद्वारा मात्र देख्न सकिन्छ । किराले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ, तर संक्रमित मानिसबाट मानिसमा भने यो रोग सर्दैन । 

सरुवारोगविज्ञ डा. शेरबहादुर पुन स्क्रब टाइफस र टाइफाइडको लक्षण उस्तै हुने बताउँछन् । गलत निदान हुन सक्ने जोखिमका कारण समयमै रोगको सही पहिचान गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘समयमा उपचार गरे कुनै जटिलता आउँदैन,’ उनले भने, ‘तर, गलत औषधि प्रयोग हुन सक्छ । त्यसैले शंका लागेमा केन्द्रमा समन्वय गर्न म स्वास्थ्यकर्मीहरूलाई सुझाब दिन्छु ।’ कतिपय गाउँका स्वास्थ्यकर्मीले स्क्रब टाइफसलाई टाइफाइड भनी औषधि चलाउने गरेका छन् । 

स्क्रब टाइफसको उचित निदान नभए दीर्घकालीन रूपमा बिरामीको श्रवण क्षमता गुम्ने, न्यून रक्तचाप, मिर्गौला फेल, निमोनिया, ब्याक्टेरियल संक्रमण, छारेरोग, मासु कुहिनेलगायत समस्या देखिन्छ । चिकित्सकहरूले उपियाँ वा सुलसुलेजस्ता किराबाट पनि टाइफस हुन सक्ने बताएका छन् । स्क्रब टाइफस शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा समेत संक्रमण हुन थाल्ने उनीहरूको भनाइ छ ।

रोग कसरी थाहा पाउने ?
धेरै टाउको दुख्यो, सास फेर्न गाह्रो भयो, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आयो, जिउ दुख्यो, आँखा हल्का रातो भयो, पसिना बढी आयो, शरीरमा राता दाग देखा परे भने स्क्रब टाइफस भएको अनुमान गर्न सकिने सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनले बताए । खासगरी पहिले स्क्रब टाइफस देखिइसकेको स्थानका बासिन्दा बढी चनाखो हुनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

#scrab taifas