खेल

यू-१८ प्रशिक्षक श्रेष्ठले गरे राजीनामा दिने घोषणा

यू-१८ प्रशिक्षक श्रेष्ठले गरे राजीनामा दिने घोषणा

नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू-१८ च्याम्पियनसिपमा खराब प्रदर्शनसँगै पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

अघिल्ला दुवै संस्करणमा च्याम्पियन भएको नेपाली युवा टिम हलचोकमा भइरहेको साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो। भुटान र माल्दिभ्सले मंगलबार गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै सबभन्दा खराब नतिजा बेहोरेको हो ।

श्रेष्ठले आफूले अपेक्षित नतिजा दिन नसकेपछि नैतिकताका आधारमा पदत्याग गरेको बताए । ‘मैले अपेक्षित नतिजा दिन सकिन त्यसैले पद छाड्दैछु । भुटानविरुद्ध निकै नै अप्रत्याशित नतिजा आएपछि हाम्रो यात्रा टुंगिन पुगेको छ । हामीले भुटानको स्तरलाई कमजोर आँक्दा हार बेहोर्नु पर्यो । अब नैतिकताको आधारमा पनि मैले यस पदमा रहनु ठिक ठानिन,’ उनले भने । श्रेष्ठले औपचारिक रुपमा भने एन्फामा राजीनामा बुझाउन बाँकी रहेको बताए ।