राजनीति

मन्त्रिमण्डल हेरफेर र विस्तारको कुरा मलाई नसोध्नु न प्लिज : प्रचण्ड

मन्त्रिमण्डल हेरफेर र विस्तारको कुरा मलाई नसोध्नु न प्लिज : प्रचण्ड

विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर र विस्तार गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीसँग रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेर र विस्तारको कुरा मलाई नसोध्नु न प्लिज भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई आवश्यक पर्दा  गर्नुहुनेछ, भने ।

उनले संविधान र राज्यप्रणालीको विषयमा कुनै खतरा नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले परिवर्तन उल्ट्याउने गतिविधिका कारण राज्य प्रणाली खतरामा नरहेको बताएका हुन् । ‘केही अराजक गतिविधि देखिएका हुन्, त्यसलाई प्रतिवाद गर्न सबै राजनीतिक दलहरु एकतावद्ध हुन तयार छौं’, अध्यक्ष प्रचण्डले भने - ‘अस्ती भर्खरै आयोजित सर्वदलीय बैठकमा अराजक गतिविधिप्रति सचेत रहने विषयमा छलफल भएको छ ।’

उनले संविधान र राज्य प्रणालीलाई दोष देखाएर अराजक गतिविधि गर्नेहरुलाई राजनीतिक र साँस्कृतिक बहसबाट परास्त गरिने बताए । सरकार र सबै राजनीतिक दलहरु सचेत रहँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उनले बताए । सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर बन्दै गएको बताउँदै अध्यक्ष प्रचण्डले विकास र सुशासन कायम हुनेमा विश्वास व्यक्त गरे ।

पार्टी भित्रै सरकारको कामको समीक्षा भईरहेको बताउँदै अध्यक्ष प्रचण्डले सरकारले काम नै नगरेको भन्ने विषय प्रचारबाजी मात्रै स्पष्ट पारे । ‘गतवर्ष केही मौलिक हकसँग सम्बन्धित कानुनहरु बनेका छन्, विकासका योजनाहरुले तिव्रता पाएका छन्’ अध्यक्ष प्रचण्डले भने 'तेलको पाइपलाइन शुभारम्भ गरिनु यो सानोतिनो विषय मात्रै हैन ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’