समाचार Breaking News

प्रहरी जवानबाट बलात्कृत किशोरीले किन फेरिन बयान, आमाले खोलिन् यस्तो रहस्य

प्रहरी जवानबाट बलात्कृत किशोरीले किन फेरिन बयान, आमाले खोलिन् यस्तो रहस्य

ओखलढुंगा—  प्रहरी जवानबाट बलात्कृत किशोरीले जिल्ला अदालतमा बयान फेरेपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई अनुसन्धान गर्न समस्या भएको छ। गत श्रावण २० गते मोलुङ गाउँपालिकाकी १८ वर्षिया एक किशोरी घाँस काट्न गएकाबेला दिउँसै साढे १२ बजेतिर बारीमै बलात्कृत भएकी थिइन्। पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँको प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान पक्राउ परे। 

सप्तरी घर भएका ३५ वर्षिय प्रहरी जवान प्रकाशकुमार यादवलाई पीडित परिवारको जाहेरीका आधारमा श्रावण २१ गते पक्राउ गरिउको थियो। उनीमाथि जबरजस्ती करणीको आरोपमा मुद्दा समेत दायर भयो। घाँस काट्न गएकी किशोरीलाई यादवले जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

उनै प्रहरी जवानले विभिन्न माध्यमबाट डर त्रास देखाइ बायन फेर्न लगाएको बलात्कृत किशोरीकी आमाले बताइन्।

जबरजस्ती करणीमा यादवविरुद्ध ओखलढुंगा जिल्ला अदालतमा मुद्धा दायर भयो। सरकारी वकिल कार्यालयमार्फत भदौ १० गते यादवविरुद्ध मुद्धा दायर भएको थियो। घटनाको अनुसन्धान भइहेको समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालत समक्ष बयान फेर्न बारम्बार दवाव दिए।

अन्त्यमा पाँच लाख ५० हजारमा कुरा मिल्यो। पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। घटनाले पुरै यूटर्न लियो। आफूलाई यादवले जवरजस्ती करणी गरेको भनि जाहेरी दिएकी युवतीले बयान फेरिन्।

प्रहरी अनुसन्धानको क्रममा आरोपितले बताल्कार गरेको जिकिर गर्दै आएकी किशोरीले अदालतमा बयान फेरिन्। सहमतिमै शारिरीक सम्बन्ध राखेको बयान दिइन्। आफैले फोन गरेर यादवलाई बोलाएको समेत अदालतमा बयान दिइन्। शारिरिक सम्पर्क भइरहेको समयमा बुवाले देखेपछि डरले जवरजस्ती करणीको आरोप लगाएको बताइन्।

पैसा लिएर पीडित युवतीलाई बयान फेराउनका लागि यादवका आफन्त, निजी वकिल र प्रहरीले दवाव दिएको युवतीकी आमाले बताइन्। ‘प्रहरी चौकीबाट पनि पटक पटक घरमै प्रहरी आएर मिल्न भने, वकिलले पनि त्यही भनेपछि साढे पाँच लाखमा कुरा मिल्यो।’ उनले भनिन् ‘प्रहरी र अदालतमा धाउँदा धाउँदा आफ्नै तीन लाख जति खर्च भएको थियो। धेरै दिएनन्, साढे पाँच लाख मात्र दिए।’ प्रहरी जवानको जागिर गए घरमा विजोक हुने भन्दै युवती र उनका आफन्तलाई पैसामा मिल्न पीडक पक्षका व्यक्तिहरुले दवाव दिएको पीडितका आफन्तले बताएका छन्। यादवले करणी गरिरहेका बेला युवतीका बुवाले देखेपछि घटना बाहिर आएको थियो।