समाचार विचार

ख्रुश्चेभले वीपीलाई भने– ‘तपाईंका प्रतिनिधि पश्चिमा शक्तिका एजेन्ट हुन् ।’

ख्रुश्चेभले वीपीलाई भने– ‘तपाईंका प्रतिनिधि पश्चिमा शक्तिका एजेन्ट हुन् ।’

यहाँ म सोभियत संघका मन्त्रिपरिषद्का अध्यक्ष निकिता एस. ख्रुश्चेभसित मैले भेट्दाको कुरा बयान गर्दछु । त्यस मेटमा नेपालका प्रधानमन्त्री बीपी कोइराला पनि उपस्थित हुनुहुन्थ्यो । त्यो भेटघाट संयुक्त राष्ट्रसंघ महासभाको २२ अक्टोबर १९६० का दिन बसेको अधिवेशनमा जुत्ता र भाँचिएको ग्याभेल (बैठकमा शान्ति कायम गर्न वा प्रस्ताव पारित भएको जानकारी दिन टेबुलमा हिर्काउने काठको हथौडा) को कुख्यात काण्ड हुनुभन्दा केही दिनअघि मात्रै भएको थियो । ‘जुत्ता काण्ड’ पछि चाहिँ नेपाली प्रतिनिधिमण्डलको सदस्य र संयुक्त राष्ट्रमा स्थायी प्रतिनिधिमण्डलको सदस्य र संयुक्त राष्ट्रमा स्थायी प्रतिनिधिको हैसियतमा ख्रुश्चेभसित मेरो भनावैरी नै भएको थियो । 

ख्रुश्चेभको केटाकेटी व्यवहार 

महाधिवेशनको त्यस अधिवेशनलाई ‘संयुक्त राष्ट्रको इतिहासमा सबैभन्दा बेथितिपूर्ण र भाषण बीचैमा टुङ्गिएको अधिवेशन’ अधिवेशन भनिन्छ । त्यस अधिवेशनमा ख्रुश्चेभलाई संयुक्त राष्ट्रको भोट जित्न २५ दिन लाग्यो र त्यस निम्ति उनले त्यतिक्कै नौटङ्की पनि देखाउनुपर्यो । उनले स्पेनिस प्रतिनिधिको नाकमुनि औंला नचाउनेदेखि लिएर आफ्नो जुत्ता फुकालेर टेबुलमा ठटाउनेसम्मका अनेक काम गरे । उनी विश्व समुदायलाई आफ्ना टिकाटिप्पणी सुनाउन पाउने कुनै पनि मौका चुकाउँदैनथे । 

उनी झगडालु बच्चा अथवा सनक चढेको व्यक्तिले जस्तो चिच्याइ चिच्याइ अरुलाई गाली गर्थे । दश सदस्यीय निशस्त्रीकरण समितिलाई उनी ‘इमान्दार मानिसले सासै फेर्न नसक्ने दुर्गन्धित घोडा तबेला’ भन्थे । सुरक्षा परिषद्लाई उनले ‘थुकदानी’को संज्ञा दिएका थिए ।  यस्तै किसिमका नामहरु उनले विभिन्न व्यक्तिहरुलाई दिएका थिए । सिङघमान री लाई ‘कोरियाली जनताको घाँटी अँठ्याउने व्यक्ति’ भन्थे । चीनलाई ‘यहाँबाट तुरुन्तै लगेर नर्कमा मिल्काउनु पर्ने लास’ भनेर भन्ने गर्थे ।

फिलिपिन्सका प्रतिनिधि लोरेन्जो सुमुलोङगलाई उनले ‘फाल्तु चाटुकार’ नाम दिएका थिए भने उनका लागि ड्याग ह्यामरशोल्ड ‘महामूर्ख’ र राष्ट्रपति आइसनहावर ‘ढँटुवा’ थिए । खु्रश्चेभको भनाइमा ‘संयुक्त राष्ट्र र संयुक्त राज्य एउटै थिए । संयुक्त राष्ट्र भनेको सयुक्त राज्यको गृहमन्त्रालयको शाखा थियो ।’

जुत्ता ठटाएको काण्ड हुनुअघि श्री ख्रश्चेभलाई केही सन्तोष मिलेको हुनुपर्छ । किनभने सोभियत सङ्घले उठाएको एउटा मुद्दाले संयुक्त राष्ट्रमा निकै समर्थन जुटाउँदै गएको थियो । र त्यो पारित हुने छाँट थियो । त्यो थियो– संसारभरि जहाँसुकैका उपनिवेशहरुले तत्कालै मुक्ति पाउनुपर्छ भन्ने प्रस्ताव । त्यस प्रस्तावको समर्थनमा मञ्चमा गई बोल्ने अफ्रिकी र एशियाली प्रतिनिधिहरुमा उछिनपाछिन चलेको थियो । फिलिपिन्सका प्रतिनिधि सुमुलोङले भने त्यस प्रस्तावलाई अलि फराकिलो पारेर ‘पूर्वी युरोपका जनताको स्वाधीनताको अविछिन्न अधिकारलाई पनि छलफलमा समेटनु पर्छ’ भन्ने सुझाव दिए ।

त्यसले गर्दा कम्युनिष्ट प्रतिनिधिमा हल्लीखल्ली मच्चियो । रुमानियाँका उपविदेशमन्त्री एडुआर्ड मेगिनसेस्कु त्यस सुझावप्रति आपत्ति जनाउन उठेका थिए । त्यसैबेला ख्रुश्चेभले चाहिँ आफ्नो जुत्ता फुकालेर हातमा हल्लाउँदै त्यसलाई आफ्नै मुलुकको प्रतिनिधिमण्डल बसेको अघिल्तिर टेबुलमा बजारे । त्यसपछि मेगिनसेस्कुले जनाएको आपत्तिबाट चित्त नबुझेझैं ख्रुश्चेभ सुमोलुङ बसेको ठाउँनिर गए र उनलाई तथानाम गाली गरे । पछि अमेरिकी प्रतिनिधि फ्रान्सेस ओ. विलकोक्सले पनि कम्युनिष्ट मुलुकहरुको स्वाधिनताको त्यही कुरा फेरि उठाउँदा रुमानियाका मेगिनसेस्कु पहिले आफूले मनग्गे होहल्ला मच्चाउन सकिन जस्तो लागेर होला दौडेर भाषण गर्ने मञ्चमा गए अनि त्यहाँको टेबुल ठटाउन थाले ।

उनले महासभाका अध्यक्ष फ्रेडेरिक बोलान्डलाई उपनिवेशवादीहरुको तरफदारी गरेको आरोप लगाए । अध्यक्ष बोलान्डले टेबुलमा घरिघरी मुङ्ग्रो ठोकेर उनलाई आफ्नो ठाउँमा गएर बस्न आदेश दिँदा पनि उनले त्यसलाई टेरेनन् । जोडले ठोक्दा ठोक्दा आखिर त्यो मुङ्ग्रो नै चिरिएर टुक्रियो । बोलान्डले उपस्थित प्रतिनिधिहरुलाई रुखो स्वरमा भने, ‘जुन हंगामा भर्खर तपाईंहरुले देख्नुभयो, त्यसका कारण मेरो विचारमा यो अधिवेशन स्थगित गरिनु राम्रो हुनेछ ।’

खु्रश्चेभसितको भनावैरी

माथि उल्लेख गरिएको घटना हुनुभन्दा यस्तै हप्ता दश दिन जति अघि नेपालका प्रधानमन्त्री वीपी कोइरालाको उपस्थितिमा श्री ख्रुश्चेभसित मेरो ठाडठाडै सवालजवाफ भएको थियो । त्यसबेला पार्क एभेन्युस्थित सोभियत सङ्घको स्थायी कार्यालयमा ख्रुश्चेभसितको शिष्टाचार भेटका लागि जानुभएका नेपालका प्रधानमन्त्रीको साथमा म पनि गएको थिएँ ।

त्यस भेटपछि खु्रश्चेभका सहायकले कङ्गो प्रकरणमा महासचिव ड्याग ह्यामरशोल्डको भूमिकालाई मैले नेपालको प्रतिनिधि र संयुक्त राष्ट्रमा अफ्रोएशियाली समूहको अध्यक्षको हैसियतले गरेको पूर्ण समर्थनबारे उनलाई पूरै जानकारी गराएका रहेछन् भन्ने मलाई लाग्यो । प्रधानमन्त्री कोइरालासितको भलाकुसारीपछि  श्री ख्रुश्चेभले मतिर लक्ष्य गरेर एकपछि अर्को प्रश्न गर्न थाले :

१. महासचिवको ठाउँमा पश्चिमी समुदाय, पूर्वी युरोप र तेस्रो विश्वको एकएक जना प्रतिनिधि रहने गरी बनाइएको तीन सदस्यी सचिवालयले  संयुक्त राष्ट्र चलाउने मेरो प्रस्तावप्रति तपाईंको विचार के छ ?

२. कङ्गो सम्बन्धी विषयमा ड्याग ह्यामरशोल्डको भूमिका तपाईंलाई कस्तो लाग्छ ?

३. उपनिवेशवादलाई समाप्त पार्ने बारेको मेरो प्रस्तावउपर तपाईंको राय के छ ?

प्रधानमन्त्रीको अनुमति लिएर मैले अध्यक्ष खु्रश्चेभका प्रश्नहरुको उत्तर दिएँ । उनको पहिलो प्रश्नको उत्तरमा मैले तीन जनाको समितिले संयुक्त राष्ट्र चलाउने प्रस्ताव व्यावहारिक नभएको र संयुक्त राष्ट्र जस्तो विश्व संस्था प्रमुखमा त्रिमूर्तिको सट्टा एकैजना व्यक्ति हुँदा नै यो राम्रोसित चल्न सक्छ भनें । यसमा मैले के पनि थपें भने महासचिवको कार्यालयको स्वरुपलाई संयुक्त राष्ट्रको बडापत्रमा संशोधन नगरी बदल्न सकिन्न र सोभियत सङ्घले बडापत्र संशोधन गर्ने कुरालाई सदैव विरोध गर्दै आएको छ । 

मैले त्यसो भन्दा ख्रुश्चेभले राम्रो उद्देश्यका लागि बडापत्रमा पनि संशोधन गर्न सकिन्छ भनी टिप्पणी गरे । कङ्गो संकट सम्बन्धमा ड्याग ह्यामरशोल्डको भूमिका बारे उनको अर्को प्रश्नको जवाफमा मैले अरु कुनै व्यक्तिले पनि महासचिव ड्यास ह्यामरशोल्ड जति राम्रो काम गर्न सक्ने थिएनन, गल्ती सुरक्षा परिषद्द्वारा पारित अस्पष्ट प्रस्तावको थियो, जसले गर्दा सम्बन्धित पक्षधरहरुमा असमझदारी पैदा भएको थियो भनें । 

मेरो यस जवाफले उनी झनक्क झन्किए र मेरो निजी प्रतिष्ठा र इमान्दारीमा धक्का पार्ने कुरा प्रधानमन्त्रीसित गरे । उनले भने ‘तपाईंको प्रतिनिधि यहाँ लामो समय बसेकाले उनी अमेरिकी, ब्रिटिस र फ्रेन्चजस्ता लुटेरा सरकारको प्रभावमा परेका छन् । यिनी ड्याग ह्यामरशोल्डको समर्थन गर्दछन् , जसले आफूलाई पश्चिमी शक्तिको एजेन्टका रुपमा नङ्ग्याइसकेका छन् ।’

मैले त्यसको तुरुन्त प्रतिवाद गर्दै केही ठट्यौलो पारामा भनिहालें– ‘अध्यक्षज्यूले मेरो प्रधानमन्त्रीसामु यस्तो कुरा गरिदिँदा मेरो जागिर जान सक्छ ।’ तर खु्रश्चेभले कठोर अनुहार पारेर मैले उनको तेस्रो प्रश्नको पनि उत्तर दिनैपर्छ भनेर ढिपी गरे ।

मेरो पालो पनि ठाडै भनिदिएँ– ‘महामहिमज्यू , कुनै व्यक्तिले पनि निजी रुपमा प्रस्ताव प्रस्तुत गर्ने प्रचलन छैन, चाहे त्यस्तो व्यक्ति जतिसुकै उच्च ओहोदा धारण गर्ने किन नहोस् । सबै खाले उपनिवेशवादलाई समाप्त गर्ने प्रस्ताव सुरुमा सोभियत मन्त्रिपरिषद् अध्यक्ष ख्रुश्चेभका नाममा प्रस्तुत गरिएको थियो । त्यस्तो गर्नु संयुक्त राष्ट्रको नियम विपरीत थियो । कुनै पनि प्रस्ताव व्यक्तिका नाममा नभई राष्ट्रका नाममा प्रस्तुत गर्नुपर्ने नियम थियो । तसर्थ सबभन्दा पहिले त तपाईंको प्रस्ताव जुन किसिमले आएको छ, त्यसबारे नै हाम्रो प्रतिनिधिमण्डललाई चित्त बुझेको छैन् । तैपनि त्यस प्रस्तावको मूलभूत कुरालाई बेग्लै शब्दावली राखेर प्रस्तुत गरिएमा हामी त्यसको समर्थन गर्न तयार छौं र महामहिमलाई म के कुरा अवगत गराउन चाहन्छु भने यसै विषयमा अफ्रो एशियाली समूहका हामी केहीले एउटा मस्यौदा तयार गरिराखेका छौं र छिटै महासभा समक्ष प्रस्तुत गर्नेछौं ।’

प्रधानमन्त्री कोइरालाद्वारा मेरो अडानको समर्थन

प्रधानमन्त्री कोइरालाले हामी दुई बीचको कुराकानी बडो ध्यानपूर्वक सुनिरहनु भएको थियो । उहाँले आफ्नो मौनता तोड्दै बडो स्पष्ट ढङ्गबाट ख्रुश्चेभलाई भन्नुभयो– ‘महासभा बैठकहरुमा श्री शाहले जे जति कामकुरा गरेका छन् ती सबै उनले मेरो सरकारको आदेश पालन गर्ने सिलसिलामा गरेका हुन् ।’ श्री कोइरालाको वचनले मलाई ठूलो आड मिल्यो र म ढुक्क भएँ । निजी र सार्वजनिक तवरमा श्री ख्रुश्चेभसितको मेरो भेटघाटको अनुभव जस्तोसुकै भएपनि सोभियत राजनीतिको उदारवादी शक्ति र विश्व शान्तिमा अविस्मरणीय योगदान गर्ने व्यक्तिका रुपमा उनीप्रति मेरो सदैव उच्च सम्मान भाव रहेको थियो । 

ख्रुश्चेभबाट जुत्ता ठटाउने काम हुँदा मैले चर्को विरोध गरेको थिएँ । मैले सभामा भएको होहल्ला र अशोभनीय क्रियाकलापप्रति आफ्नो देशको चिन्ता व्यक्त गर्दै ख्रुश्चेभको व्यवहार संसदीय शिष्टता अनुकूल नभएको भनी आलोचना गरेको थिएँ । अन्त्यमा मैले अफ्रिका र एशियाका देशहरु कसैको ‘मै हुँ’ भन्ने खालका क्रियाकलापबाट तर्सिदैनन र यस्ता खालका व्यवहारबाट उनीहरु आफ्नो विवेक र भर्खरै प्राप्त स्वाधीनताको अपमान भएको ठान्दछन् । 

खु्रश्चेभद्वारा क्षमायाचना

ख्रुश्चेभले संयुक्त राष्ट्र महासभाको मञ्चबाट अन्तिम पटक यसरी बोलेका थिए, जो सुन्दा उनको क्षमायाचना जस्तो लाग्दथ्यो, ‘बेलाबखत मैले पालो मिचेर बोलें । त्यसका लागि म माफी चाहन्छु । फिलिपिन्सका प्रतिनिधिको अपमान गरें । उनले पनि मेरो अपमान गरे । उनी अनुभवी संसद सदस्य हुन भने म नयाँ हुँ । नेपालले पनि संसदीय मर्यादाबारे केही शिक्षा दियो । प्रसङ्गवश, के नेपालमा संसद छ र ? त्यसबारे जान्न घर फर्केपछि मैले भूगोलको किताव पल्टाउनु पर्ला । तर यो कुरा यहाँ सान्दर्भिक छैन् । अलविदा ।’

ख्रुश्चेभले संयुक्त राष्ट्र महासभाको मञ्चबाट बोलेका माथिका कुराहरुबाट आफ्ना देशवासीहरुको भाग्य निर्धारण गर्ने शक्ति भएका रुसी नेतामा पनि आफ्ना खरा भनाइले मैले केही प्रभाव पार्न सकेछु जस्तो मलाई लाग्यो ।

(कुटनीतिज्ञ तथा मानवअधिकारवादी हृषिकेश शाहको ‘प्रारब्ध र पुरुषार्थ’ पुस्तकबाट साभार)

ख्रुश्चेभ वीपी